अर्थोडक्स चियाको आन्तरिक बजार बिस्तारका लागि निःशुल्क चिया पिलाउने उद्यमीको अभियान

Breaking News Hot News Mukya Samachar Special News Trending कर्णाली प्रदेश पर्यटन प्रमोसन बिजनेस समाचार

पशुपतिनगर: अन्तराष्ट्रिय बजारमा अर्थोडक्स चियाको मुल्य न्युन भएपछि चिया उद्यमीहरु आन्तरिक बजार बिस्तारका लागि निःशुल्क चिया पिलाउने अभियान थालेका छन् । अर्थोडक्स चिया लाखौँ किलो उत्पादन हुने गरेपनि नेपाली बजारमा कम मात्रै खपत हुने गरेपछि बजार बिस्तारका लागि उद्यमीहरुले निःशुल्क चिया पिलाउने अभियान थालेका हुन् ।
अर्थोडक्स चिया उत्पादन गर्ने चिया उद्यमीहरुको संस्था सूर्योदय टि एशोसिएसनले देशभरका ठुला सहरमा हुने महोत्सवमा र मेलामा निःशुल्क अर्थोडक्स चिया खुवाइन थालिएको हो । अर्गानिक प्रमाणिकरणको अभावमा भारतीय बजारमा मात्रै खुम्चिएको नेपाली अर्थोडक्स चियाको मुल्य न्युन भएपछि आन्तरिक बजारमा खपत बढाउन यस्तो अभियान लागिएको छ । ‘आन्तरिक बजारमा चिया खपत बढाउन नेपालीमा चिया खाने बानिको विकास गर्नुपर्ने भएकाले निःशुल्क चिया खुवाउने अभियान थालिएको छ,–सूर्योदय टि एशोसिएसनका सचिव गोपाल कट्टेलले भने–‘अर्थोडक्स चिया स्वास्थ्यका लागि राम्रो भएपनि खाने बानी नभएकाले त्यसको बिकास गर्न पर्यटन वर्ष भरि निःशुल्क चिया खुवाउने निर्णय लिइएको हो ।’
चिया उद्योगीहरुले पुष १३ देखि १७ गतेसम्म आयोजना गरिएको प्रथम सूर्योदय महोत्सवमा दुई वटा स्टल लिएर पर्यटकलाई निःशुल्क चिया वितरण गरेका थिए । प्रथम सुर्योदय महोत्सवमा टि एशोसिएसनले ७ हजार ७ सय कप चिया पर्यटकहरुलाई वितरण गरेको थियो । नेपालमा सिटिसी चिया मात्रै खाने बानी भएकाले अर्थोडक्स चियाको पनि खाने बानि विकास गर्न निःशुल्क वितरण गरिएको हो । पर्यटन भ्रमण वर्षभरी आयोजना हुने महोत्सव, मेलामा अर्थोडक्स चियाको स्टल राख्ने र खानेपानीको विकासका लागि पर्यटकलाई पकाएरै खुवाउने एशोसिएसनको योजना छ ।

नेपालका जनुसकै स्थानमा महोत्सवको आयोजना भएपनि एशोसिएसनमा आवद्ध चिया उद्योगीहरुले अर्थोडक्स चिया प्रवद्र्धनका लागि चिया खुवाउने काम गर्नेछन् । सूर्योदय चिया एशोसिएसनमा इलामका ६२ वटा चिया उद्योगीहरु आवद्ध रहेका छन् । दुधमा पकाएर खाने सिटिसी चिया भन्दा अर्थोडक्स चिया स्वास्थ्यका लागि लाभदायक भएपनि खानेबानी नै भएकाले आन्तरिक बजारमा खपत कम हुने गरको छ । जसका कारण नेपाली चिया भारतीय बजारमा कौडीको भाउमा बिक्रि गर्न बाध्य हुनुपरेको उद्यमीको भनाइ छ ।

नेपाली बजारमा खपत नहुने र उत्पादन हुने अर्थोडक्स चियाको बजार भारतको कलकत्ता मात्रै रहकाले मुल्यपनि भारतीय व्यपारीकै हातमा हुने गरेको छ । ‘भारतीय बजारमा मात्रै भर पर्दा मुल्य राम्रो पाइएन, ‘आन्तरिक बजारको खपत बढेमा भारतीय व्यपारीसँग हामी ठगिनु पर्दैन भन्ने हो’ सचिव कट्टेलले भने–‘अर्थोडक्स चिया खाने विकास भएका हाम्रो उत्पादन पनि पक्कै बजारमा माग बढ्छ ।’
इलाममा सानाठूला गरी एक सय २० बढी चिया कारखाना रहेका छन् । आन्तरिक बजारमा चिया बिक्रि भएमा राम्रो मुल्य पाउने आशामा उद्योगी रहेका छन् । पछिल्लो समय नेपालका काठमाडौँ र पोखरामा अर्थोडक्स चिया खाने विकास भएपनि पर्याप्त मात्रमा नभएको उद्यमी बताउँछन् ।

Leave a Reply

Your email address will not be published.