अध्यागमन कार्यालय पशुपतिनगर काम बिहीन

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश संस्करण बिजनेस


प्रेम अधिकारी
पशुतिनगर(इलाम)

नेपाल भारत सिमा नाका इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगरमा अध्यागमन कार्यालय उद्घाटन गरिएको नौ महिना बितीसक्दा पनि सेवा प्रवाहको काम हुन सकेको छैन ।
पशुपतिनगरमा गत बैशाख १५ गते गृहमन्त्री रामबहादुर थापा वादलले कार्यालयको उद्घाटन गर्नु भए पछि संचालनमा ल्याईएको अध्यागमन कार्यालय अहिले काम बिहीन बनेको हो । नेपाल तर्फ अध्यागमन कार्यालय स्थापना भएको लामो समय बिती सक्दा पनि भारत तर्फ अध्यागमन कार्यालय अझै स्थापना नहुँदा नेपाल तर्फको अध्यागमन कार्यालय समेत काम बिहीन बनेको छ ।
उक्त क्षेत्रमा भारत तर्फ अध्यागमन कार्यालय स्थापना नहुँदा नेपालको अध्यागमन कार्यालयले सेवा दिन नसकेको त्यहा कार्यरत कर्मचारी बुद्धमाया थेगीमले जानकारी दिनु भयो । अध्यागमन कार्यालयमा छिटफुट रुपमा आएका तेस्रो देशका पर्यटकलाई अध्यागमन कार्यालय झापा काकडभिट्टा पठाउने गरिएको कर्मचारी थेगीमले बताउनु भयो । उहाले भन्नु भयो ‘ काम केहि हुँदैन बसी रहनु मात्र हो, काम नै नगरी बस्नै अप्ठयारो भसक्यो ।’ तेस्रो देशका पर्यटक उक्त कार्यालयमा महिनामा एक÷दुई जना मात्र आउने गरेका छन । आएका पर्यटकलाई समेत सेवा दिन नसके पछि कर्मचारी नै कार्यालयको काम प्रति सन्तुष्ट छैनन् ।
पशुपनिगर अध्यागमन कार्यालयको प्रशासनीक काम समेत सम्लाल्दै आउनु भएका झापाको काकडभिट्टा अध्यागमन कार्यालयका प्रमुख जनक कोइरालाले भारत तर्फ अध्यागमन कार्यालय स्थापना नभए सम्म नेपालको मात्र कार्यालयले केहि गर्न नसक्ने बताउनु भयो । उहाले सरकारले कुटनीतिक पहल गरेर भारत तर्फ कार्यालय स्थापनका लागि पहल गर्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘ अहिले पशुपतिनगरको अध्यागमनमा कर्मचारी पनि छैनन् काम पनि छैन । ’ जव जम्म भारत तर्फ कार्यालय स्थापना हुँदैन तव सम्म नेपालले मात्र केहि गर्न सक्दैन – कार्यालय प्रमुख कोईरालले बताउनु भयो ।
पशुपतिनगर अध्यागमन कार्यालयले प्रवेश भिसाको अनुमती लिएर आएका पर्यटकलाई आगमन अनुमति दिने, विदेशी पर्यटकलाई प्रस्थान अनुमति दिने र पर्यटकको विवरण अभिलेखीकरण गर्ने काम गर्न सक्छ । तर, भारत तर्फ कार्यालय स्थापना नभए पछि यी कुनै काम हुन सकेको छैन । उक्त कार्यालयले तेस्रो देशका पर्यटकलाई १५ दिन एक महिना र तीन महिना सम्मको प्रवेश भिसा जारी गर्ने अधिकार रहेको प्रमुख कोइरालाले जानकारी दिनु भयो । पूर्व सभासद तथा पशुपतिनगरकी समाजसेवी लिलादेवी श्रेष्ठले अध्यागमन कार्यालय स्थापना हुँदा सिमा क्षेत्रमा धेरै सहज हुने आश गरिए पनि कुनै उपलब्धी नभएको बताउनु भयो । उहाले भारत तर्फ अध्यागमन कार्यालय स्थापना गर्न सरकारले पहल गर्नु पर्ने बताउनु भयो । श्रेष्ठले अध्यागमन कार्यालयका कारण पुरानो सिमावर्ती पशुपतिनगर बजार सुनसान बन्दै गएको बताउनु भयो ।
इलाम सहित पूर्वी पहाडी जिल्लाका पर्यटकीय स्थल र भारतका पर्यटकीय स्थल जोड्ने पुलको रुपमा पशुपतिनगर अध्यागमन कार्यालय रहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनु भयो । उहाले बिदेशी पर्यटक आवात जावत गराउनका लागि भारत तर्फ अध्यागमन कार्यालयको आवश्यक्ता रहेको बताउनु भयो । उहाले भन्नु भयो ‘हामी स्थानीय सरकारले पहल गरीरहेका छौ , संघीय सरकारले पहल गरिदिनु पर्छ ।’
इलामका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीका अनसार दुई बर्ष अगाडी नै नेपाल– भारतका अधिकारीहरु बिचमा दुवै तर्फ अध्यागमन केन्द्र स्थापना गर्ने गरी सम्झौता भएको थियो । प्रजिअ कार्कीका अनुसार उक्त सम्झौता अनुसार नै नेपाल तर्फ अध्यागमन केन्द्र स्थापाना गरीए पनि भारतले सहमति अनुसार काम नगर्दा तेस्रो देशका पर्यटक समस्यामा परिरहेको बताउनु भयो ।
प्रदेश सांसद खिनु लङवा लिम्बुले भारतको केन्द्र सरकारले अध्यागमन कार्यालय स्थापना गर्ने निर्णय गरे पनि प्रान्तीय सरकारले अलमल गराई रहेको बताउनु भयो । उहाले प्रदेश सरकारले समेत भारत तर्फ अध्यागमन कार्यालय खोल्न पहल गरीरहेको जानकारी दिनु भयो ।
काम नभए पछि उक्त कार्यालयमा कर्मचारी पनि दुई जना मात्र छन् । कर्मचारी समायोजन पछि दुई जना कर्मचारीका भरमा काम बिहीन अवस्थामा रहेको अध्यागमन कार्यालयमा ८ जनाको कर्मचारीको दरबन्दी छ । तर , सहायक कम्युटर्स अपरेटर बुद्धमाया थेगिम र कार्यालय सहयोगी लक्ष्भी भटराईकै भरमा कार्यालय संचालन भैरहेको छ । कार्यालयको लेखा फाँट कोष तथा लेखा नियन्त्रण कार्यालय इलामले हेरी रहेको छ भने सम्पूर्ण प्रशासनीक काम काकडभिट्ट अध्यागमन कार्यालयका प्रमुख जनक कोईरालाले हेरी रहनु भएको छ । केहि समय अघि सम्म पर्यटकको भीड लाग्ने सिमावर्ती पशुपतिनगर बजार समेत अहिले प्राय शुनसान बन्ने गरेको छ । पशुपतिनगर शुनसान बनीरहदा काकडभिट्टा नाका भएर सन २०१९ मा २८ हजार ८ सय ३६ जना तेस्रो देशका पर्यटकले आवागमन गरेका छन् ।गोरखापत्र दैनिक

Leave a Reply

Your email address will not be published.