चुरे दोहनको विरोधमा स्थानीयले बन्द गरे सिँचाइ नहर

Breaking News Hot News Mukya Samachar Special News Trending गण्डकी प्रदेश बिजनेस समाचार

चुरे क्षेत्र भएर बग्ने सिद्धि र मेची खोलामा हुँदै आएको अवैध उत्खननको विरोधमा इलामको रोङ गाउँपालिकाका स्थानीयले झापातर्फ जाने सिँचाइ नहर बन्द गरेका छन् । रोङ गाउँपालिकाले प्रतिबन्ध लगाएको क्षेत्रबाट झापाको मेचीनगरका ट्याक्टर व्यवसायीले ढुंगा, गिटी र बालुवा तस्करी गरेको भन्दै स्थानीयले आइतबारदेखि मेचीनगरतर्फ जाने नहर बन्द गरेका हुन् । रोङ–६ स्थित सिद्धि खोला र मेची खोलाबाट हुने दोहन रोक्न स्थानीयले संघर्ष समिति नै गठन गरेका छन् ।

चुरे दोहनको विरोधमा मेचीनगरमा सिँचाइका लागि लगिएको सिद्धि खोला सिँचाइ जल उपभोक्ता संस्थाको नहर बन्द गरिएको संघर्ष समितिका संयोजक निर्मल स्याङ्बोले बताए । ‘चुरेमा भइरहेको उत्खनन रोक्न मेचीनगरपालिकाका जनप्रतिनिधिलाई भेटेर पटक–पटक आग्रह गर्दा पनि बेवास्ता भयो,’ स्याङ्बोले भने, ‘अति भएपछि हामीले नहरमा जाने पानी रोकेका हौँ ।’ दैनिक दर्जनौँ ट्याक्टरमा झापातर्फ ढुंगा र बालुवाको तस्करी हुने गरेको उनले बताए । ‘ढुंगा, बालुवाको अवैध उत्खनन रोक्न खोज्दा ५०र६० जनाको समूहले हामीमाथि नै हातपात गर्ने गरेका छन्,’ स्याङ्बोले भने ।

नहर बन्द गर्दा किसानलाई समस्या


नहर बन्द हुँदा मेचीनगर १, २, ३ र ४ का कृषक समस्यामा परेका छन् । सरकारले ७० करोड बढी लगानी गरेर तीन वर्षअघि सिँचाइ नहर सञ्चालनमा ल्याएको थियो । यो आयोजनाबाट १७ सय हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ । मुहान संरक्षणका लागि रोङवासीको जागरुकता प्रशंसायोग्य भए पनि सिँचाइ नहर बन्द गर्दा किसानलाई समस्या हुने सिँचाइ उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले बताए । ‘सिँचाइ बन्द भएपछि प्रमुख जिल्ला अधिकारी उदय राना मगरलाई ज्ञापनपत्र बुझाएर नहर सञ्चालन गर्न माग गरेका छौँ,’ उनले भने ।

चुरे क्षेत्रको दोहन नरोकिए खानेपानी पनि रोक्ने चेतावनी


चुरे क्षेत्रमा भइरहेको दोहन नरोकिए खानेपानीको मुहान पनि बन्द गर्ने चेतावनी रोङवासीको छ । मेचीनगरको माथिल्लो भेग ९साबिक बाहुनडाँगी० का स्थानीयले रोङ ६ बाटै ल्याइएको खाने पानी उपयोग गर्दै आएका छन् । ‘हामीले संरक्षण गरेको वन, प्रकृति स्रोत र मुहानको प्रयोग उनीहरू नै गर्छन्,’ स्थानीय ल्वाङ तामाङले भने, ‘पहिलो चरणमा नहर बन्द गर्‍यौँ । चुरे दोहन नरोकिए खानेपानीको मुहान पनि बन्द गर्छौँ ।’ खोला दोहन रोक्न खोज्दा उल्टै धम्की दिने गरेका कारण बाध्य भएर नहर बन्द गर्नुपरेको उनले बताए ।

गाउँपालिकाद्वारा चुरे दोहनमा रोक


चुरे दोहनकै कारण बस्ती र प्राकृतिक स्रोत संकटमा परेको भन्दै रोङ गाउँपालिकाले मेची र सिद्धि खोला उत्खननमा रोक लगाएको छ । तर, मेचीनगरपट्टिको खोला भने नगरपालिकाले ठेक्का लगाएको छ । त्यही कारण मेचीनगरपट्टि उत्खनन गर्ने ट्याक्टर ढुंगा, गिट्टी लिन रोङतिर पनि जाने गरेका छन् । रोङको ६ नम्बर वडा कार्यालयले त्यस क्षेत्रमा उत्खनन गर्ने ट्याक्टरलाई १० हजार जरिवाना तोकेको छ । जरिवाना तोकिए पनि खोला उत्खनन भने नरोकिएको वडाध्यक्ष सुवास तामाङले बताए । ( चिरञ्जीवी घिमिरेले झापाबाट नयाँ पत्रिकामा लेख्नु भएको समाचार साभार गरिएको हो । )

Leave a Reply

Your email address will not be published.