पहाडैपहाड पूर्व–पश्चिम

पहाडैपहाड पूर्व–पश्चिम

पाँचथर: बाग्लुङ र रुकुम पूर्वको सिमाना रहेको चुलीमा हिउँले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केही दिनदेखि अवरुद्ध थियो। हिउँ हटाउन केही पहल नभएका बेला तन्नेरीहरुको टोली मोटरसाइकल लिएर त्यहाँ पुग्यो र लोकमार्गको स्थानीय आयोजना कार्यालयमार्फत बाटो खुलाउन अनुरोध गयो। त्यो सम्भव भएन। एकपल्ट स्काभेट हिँडाइदिए पनि सजिलो हुने उनीहरुको आशय थियो। त्यो पनि सम्भव नभएपछि युवाले हिउँले पुरिएको करिब १० किलोमिटर सडकमा मोटरसाइकल धकेलेर लुकुम भन्ने ठाउँनजिक पु(याए। यति मेहनत नगरेको भए पहाडैपहाड पूर्व–पश्चिम गर्ने लक्ष्य अधुरो हुन्थ्यो। मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथरबाट मोटरसाइकलमा हिँडेका ती युवा सत्रौं दिनमा सुदूरपश्चिम बैतडीको झुलाघाट पुगे।

मध्यपहाडी लोकमार्गको निर्माणसँगै पहाडैपहाड पूर्व–पश्चिम यात्रा गर्न सम्भव बन्दैछ। कतै कालोपत्रे, कतै ग्राभेल त कतै कच्ची सडकको प्रयोग गरेर पहाडैपहाड पूर्व–पश्चिम यात्रा सम्भव हुँदै गएको हो। यो लोकमार्गले सहरलाई भन्दा पनि गाउँलाई बढी जोडेको छ। दुर्गम गाउँहरु सडक मार्गमा जोडिएका छन्। बाँकी काम चाँडै सम्पन्न हुने हो भने मध्यपहाडी क्षेत्रका बासिन्दाले थप सुविधा पाउने देखिन्छ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको लोकमार्गको सम्पूर्ण काम आर्थिक वर्ष २०७९र८० सम्ममा सम्पन्न गर्ने सरकारी लक्ष्य छ। लक्ष्य हासिल गर्न काम तीव्र पार्न आवश्यक छ। कालोपत्रेको ठेक्का नलागेको क्षेत्रमा ठेक्का लगाउने, भएका ठेक्का समयमा सम्पन्न गर्नुका साथै पुल निर्माण, विवाद समाधान गर्नु आवश्यक देखिन्छ।

मध्यपहाडी लोकमार्गको निर्माणसँगै पहाडैपहाड पूर्व–पश्चिम यात्रा गर्न सम्भव बन्दैछ भने विभिन्न जिल्लाबाट राजधानी काठमाडौंसम्मको सडक दूरी पनि छोटिएको छ।
‘पूर्वमा पाँचथरको चिवाभन्ज्याङदेखि पश्चिमको बैतडीको झुलाघाट जोड्नेगरी १ हजार ८ सय ७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्ग रहेको छ। अन्य आयोजनाअन्तर्गत निर्माण भएको ४ सय ६२ किलोमिटर सडक र पुलहरु चौडा पार्नेबाहेकका काम २०७९र८० मा सक्ने लक्ष्य छ’, मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालय काठमाडौंका आयोजना निर्देशक दीपक केसीले भने, ‘२६ जिल्लाका २ सय १५ बस्ती जोड्दै करिब १ करोड जनतालाई प्रत्यक्ष लाभ पु(याउने गरी राजमार्गको काम अघि बढाइएको छ। यो लोकमार्गले मध्यपहाडी क्षेत्रका बासिन्दालाई सहज सडक सुविधा, आर्थिक, सामाजिक स्तरमा परिवर्तन ल्याउने र बसाइँ सराइ रोक्ने अपेक्षा राखिएको छ।’

सडक सुविधा पुगेसँगै ग्रामीण बजारहरुको स्थापना, सडक सञ्जालको बढोत्तरी, विभिन्न घरेलु उद्यमको विकास भएको देख्न सकिन्छ। पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, रामेछाप, सिन्धुली, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछामजस्ता जिल्लामा बढी सुविधा भएको देखिन्छ।

आव २०६४र६५ मा सुरु भएको लोकमार्गअन्तर्गत नयाँ ८ सय ७९ किलोमिटर नयाँ ट्र्याक खोलेको आयोजना निर्देशनालयले जानकारी दिएको छ। ‘आयोजनाको ४२ प्रतिशत भौतिक प्रगति भएको छ। अन्य आयोजनाबाट निर्माण भएका ४ सय ६२ किलोमिटर सडकको स्तरोन्नति पनि अगाडि बढाउन खोजिएको छ’, केसी भन्छन्, ‘८४ अर्ब ३३ करोड मध्ये ४१ अर्ब बजेट खर्च भइसकेको छ।’

अन्य आयोजनाअन्तर्गतको सडकबाहेक ३ सय ७९ किलोमिटर कालोपत्रे गरिएको छ। ७३ वटा पुल बनेका छन्। लोकमार्गअन्तर्गत पाँचथर–तेह्रथुम–धनकुटा–भोजपुर खण्ड ३ सय ८६ किलोमिटर, खोटाङ–ओखलढुंगा–उदयपुर–सिन्धुली–रामेछाप–काभ्रेपलान्चोक–सिन्धुपाल्चोक खण्ड ३ सय ३५ किलोमिटर लामा छन्। नुवाकोट–धादिङ–गोरखा– लम्जुङ खण्ड २ सय ६०किमि, कास्की–पर्वत–बाग्लुङ खण्ड २ सय ४५ किमि रुकुम पूर्व–रुकुम पश्चिम–जाजरकोट–दैलेख–अछाम खण्ड ४ सय १० किलोमिटर लामा छ। डोटी–डडेलधुरा–बैतडी खण्ड २ सय ४३ किलोमिटर लामो छ। यो लोकमार्गले पूर्व–पश्चिम दुवैतर्फ भारतलाई जोड्नेछ। प्रारम्भ विन्दुको रुपमा रहेको पाँचथरको याङवरक गाउँपालिकाको चिवाभन्ज्याङमा भारतको सिक्किम जोडिन्छ। पश्चिममा बैतडीको झुलाघाटस्थित महाकाली नदी मार्गको समाप्त विन्दु हो। महाकाली नदीपारि भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्ला पर्छ।

चिवाभन्ज्याङमा भारततर्फ सडक छैन। झुलाघाटमा भारततर्फ सडक तथा बजार भए पनि महाकाली नदीमा पुल छैन। चिवाभन्ज्याङमा सडक ल्याउन पहल गर्न स्थानीयले दबाब दिएको धेरै भयो। उता झुलाघाटमा रहेको महाकाली नदीमा पुल बनाउनुपर्छ भनेर रिले अनशन भयो। तर पुल बनाउने योजना अघि बढ्न सकेको छैन।

लोकमार्गले दुरदराजलाई जोडेको छ। लोकमार्ग नै भएर अन्य ग्रामिण सडकहरु बढेका छन्। लोकमार्गलाई आधार बनाएर विभिन्न ठाउँमा सडक बनाइएका छन्। लोकमार्ग बनेसँगै विकल्पहरु जन्मिएको शिवपुरी गाउँपालिका, नुवाकोटका शिक्षक रामबहादुर थापा बताउँछन्। पहाडका गाउँहरुमा सडक सुविधा थपिनुका साथै आर्थिक गतिविधिका लागि मध्यपहाडी लोकमार्गले योगदान गरेको उनको भनाइ छ।

सडकसँगै जग्गाको महत्व र मूल्यसमेत बढ्दै गएको विभिन्न क्षेत्रका बासिन्दाको भनाइ छ। ग्रामीण क्षेत्रमा बजारीकरण, स्थानीय उत्पादन निकासीका लागि योगदान पुगेको सुन्न पाइन्छ। ग्रामीण क्षेत्रमा कालोपत्रे सडक पाउँदा स्थानीय हर्षित देखिन्छन् नै, सडकले राहतसमेत पुगेको छ। सिन्धसलीको फिक्कल गाँउपालिका–४ खाङसाङकी यसोदा पहाडी भन्छिन्, ‘सजिलै गरी गाडी चढ्न पाएका छौं। काठमाडौं पुगेर एकैदिनमा फर्किन्छौं। गाउँमा फलेको सागपात, अन्न बेच्न सजिलै पाइया छ। मध्यपहाडीको पिचरोड भएपछि सडकको सुविधा भयो।’ वाक्सु खोलो देखाउँदै उनले थपिन्, ‘त्यो खेलो वारिपारि गर्न डुंगा चढ्नुपथ्र्यो। जन्ती लिएर आउँदा बेहुला–बेहुली बगाएका कति घटना थिए। अहिले त पुल पनि छ। आनन्द भयो।’

लोकमार्गमा छोटो तथा लामो दूरीका सवारीसाधन चलेको देखिन्छ। राजधानीलगायतका सरह जान वैकल्पिक बाटो बनेको छ। ‘लोकमार्गमा दैनिक ४र५ सय गाडी कुद्छन्। यात्रा गर्न सहज भएको छ। बाँकी रहेका काम सक्नतर्फ ध्यान दिए हुन्थ्यो’, ओखलढुंगाको हर्कपुरका प्रमेश्वर बरालले भने, ‘ठेकेदारले समयमा काम नगर्दा पुल र सडक कालोपत्रे गर्ने काम अधुरा छन्।’

मध्यपहाडी लोकमार्गले ६ वटा प्रदेशलाई छुन्छ। लोकमार्गले चिवाभन्ज्याङ, च्याङ्थापु, आयोम, थर्पु, गणेश चोक, गोपेटार, जोरसाल, तमोर नदी, संक्रान्ति, म्याङलुङ, वसन्तपुर, हिले, लगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, हिलेपानी, घुर्मी, खुर्कोट, चौरीखोला, दोलालघाट, बाहुनेपाटी, पातीभन्ज्याङ, सल्यान्टार आरुघाट, पालुङटार, कास्कीको अन्नपूर्ण गाउँपालिका, बाग्लुङ, लुकुम, रुकुमकोट, मुसिकोट, चौरजहारी, जगातीपुर, बस्ताडा, दैलेख, दुल्लु जबमुकाध, साइजिउला, बेलखेत, विनायक, साँफेबकर, सिलगडी, डडेलधुरा, पाटन, सतबाँझ, झलाघाटलगायतका क्षेत्र छोएको छ।

‘पूरै सडक कालोपत्रे भईसक्नुका साथै पुल निर्माण सकिएपछि पूर्व–पश्चिम जोड्ने वैकल्पिक मार्ग हुनुका साथै विकासका सम्भावनाको ढोका खोल्न कोसेढुंगा सावित हुनेछ’ निर्देशक केसीले भने, ‘समयमा काम सम्पन्न गर्न विभिन्न ५ योजना कार्यालयमार्फत काम गरिरहेका छौं।’

लोकमार्गले तराई नघुमी विभिन्न ठाउँमा सीधै आउजाउ गर्न सकिने भएको छ। ‘मध्यपहाडी लोकमार्गले काठमाडौंसम्मको सडक दूरी छोट्याएको छ। तराई घुमेर ३० घण्टा लगाएर काठमाडौं जानुपथ्र्यो। अहिले लुकुम, बुर्तिवाङ, पोखरा हुँदै १४ घण्टामा पुगिन्छ’, रुकुम पूर्वको सिस्नी गाउँपालिका प्रमुख कुमारी बरालले भनिन्, ‘विगतको भन्दा सुविधा थपिने क्रम छ। गाउँगाउँमा कालोपत्रे फराकिलो सडक बढेपछि त्यसै पनि खुसी छाउने कुरा भइगयो नि।’

यो लोकमार्गले पहाड–पहाडलाई जोडेको छ। एक जिल्लाको सदरमुकामबाट अर्को जिल्लाको सदरमुकाम देखिने भनेर पाँचथर सदरमुकाम फिदिम र तेह्रथुमको सदरमुकाम म्याग्लुङलाई चिनिन्छ। देखिने सदरमुकाम भए पनि सडकमार्ग भएर पुग्न तराई झर्नै पथ्र्यो। तर अचेल मध्यपहाडी लोकमार्गको माध्यमले पहाडैपहाड पुगिन्छ। यस्ता उदाहरण मध्यपहाडी क्षेत्रका विभिन्न जिल्लामा भेटिन्छन्।

(नागरिक दैनिकमा गिरिराज बाँस्कोटाले लेख्नु भएको समाचार साभार गरिएको हो ।)