सुसिला मुखिया
इलाम : इलाम नगरपालिका ७ की कविता तामाङको दैनिकी आजकल भक्का बनाएर बेच्नमै बित्छ । बिहान सबेरै देखी करिव ११ बजेसम्म आफु बसे ठाउँमा नै आएर स्थानियले कविताले बनाएको भक्का खरिद गरेर खान्छन् । अनी दुइबजे देखी बेलुका करिव ७ वजेसम्म पनि कविताले बनाएको भक्का खान सडकमा हिँडडुल गर्ने र इलाम वजार आसपासमा बसोबास गर्नेहरुको समेत भिड लाग्ने गरेको छ । जाडोको समयमा खाइने भक्का दिउशो भने कम बिक्ने भएकाले बिहान बेलुका मात्र राख्ने गरेको उनले बताइन् ।
स्वादिलो भक्का काँचो चामल पिसेर पिठोबाट निर्माण गरिन्छ । पिरो र अमिलो अचारसँगै गुलियो स्वादमा पनि यसलाई खान सकिन्छ । भक्का मनपराउनेहरुका लागि इलाम बजारमा कविता मात्र हैन लिलि तामाङले भक्का बनाउने ठाउँमा पनि उत्तिकै भिड लाग्ने गर्दछ ।
प्रतिगोटा २० रुपयाँ पर्ने भक्का स्वास्थ्यका दृष्टिले पनि राम्रो मानिन्छ । चामलको पिठो पानीमा मात्र पकाइने भएकाले पनि यसलाई स्वास्थ्यका हिसावले राम्रा मानिने गरिन्छ ।
झापा लगायत पूर्वका आदिवासीको मौलिक परिकार रुपमा परिचित ‘भक्का’ को स्वाद सर्वसाधारणले रुचाएपछि यसको व्यापार फस्टाएको छ । राजवंशी समुदायले घरघरमा खाजाको रुपमा चामलको पिठोबाट बनाउने भक्का पछिल्लो समय तराईका जिल्लाहुँदै इलाम, पाँचथर लगायतका पहाडी जिल्लाहरुमा समेत बनाइने गरिन्छ । सडकका किनारामा बनाइने भक्काका लागि छुट्टै भाडा तिर्नु नपार्दा ब्यापारीको रकम समेत बच्ने गरेको छ । बिहान बेलुका खाजाका रुपमा खाइने भक्काको ब्यापारबाट घरखर्च तथा नानी पढाउन समेत पुग्ने गरेको कविता तामाङको भनाई छ ।
जाडो मौसममा मात्र बनाइने भक्काको मौसमी ब्यापार हुने गरेको छ । पहाडी जिल्लाका गाउँमा ऐले पनि भक्का बनाउने र खाने चलन छैन । तर शहर वजारका गल्ली तथा चोकमा भक्काको व्यापार फस्टाउने गरेको छ ।
जाडो मौसममा चोक तथा गल्लीमा बसेर भक्का बनाउँदा शरिरलाई न्यानो समेत हुने र केही रकम पनि बच्ने भएपछि महिलाहरु भक्का बेचेर नै गुजारा चलाउने गरेका छन् । जिल्लाको इलाम वजार सहित, सूर्योदय नगरपालिकाको फिक्कल लगायतका बजारमा भक्काको ब्यापार हुन थालेको छ । भक्का बालबालिका, युवा युवती र बृद्धबृद्धा सवैले रुचाएर खाने गरेका छन् ।