भारत र पाकिस्तानको सम्बन्ध बिग्रिदा नेपाली अलैँचीको मूल्यमा गिरावट

Breaking News Hot News Mukya Samachar Special News Trending अन्तर्राष्ट्रिय प्रदेश नं. १ प्रवास बिजनेस समाज

काठमाडौँ: कास्मीरको विषयमा भारत र पाकिस्तानको सम्बन्ध बिग्रिएपछि नेपाली अलैँची पाकिस्तान निर्यात ठप्प भएको छ । भारत र पाकिस्तानको सम्बन्ध बिग्रँदा नेपाली अलैँचीको मूल्यमा गिरावट आएको हो ।

भारतको बाटो हुँदै निर्यात हुने अलैँची निर्यात हुन छाडेपछि प्रतिमन एक लाखसम्ममा बिक्री हुने अलैँचीको मूल्य २६ हजारमा झरेको छ । खोल्साको कालो सुन भनेर चिनिएको अलैँचीको मूल्यमा भारी गिरावट आएपछि अलैँची कृषक चिन्तित छन् । भारतको बाटो हुँदै पाकिस्तान निर्यात नहुँदा अलैँचीको मूल्यमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले बताए ।

भारतले नेपाली अलैँची खरिद गर्न छाडेपछि नेपाली बजारमा किनबेच बन्द भएको हो । तेस्रो देशमा निर्यात नहुँदा एक मन ९१ हजारको अलैँचीको मूल्य घटेर रू २६ हजार पुगेको छ ।

केही वर्षअघि एक मनको रू एक लाखको हाराहारीमा कारोवार हुने अलैँचीको मूल्यमा गिरावट आएपछि रू २६ हजारमा किनबेच भइरहेको उपाध्यक्ष श्रेष्ठले बताए । उपाध्यक्ष श्रेष्ठले भने, “दुईचार वर्षअघि एक मनको एक लाखमा कारोवार हुने अलैँचीको मूल्य २६ हजारमा आइपुग्यो ।”

नेपालका अधिकांश अलैँची व्यवसायी भारतको बजारमा निर्भर हुनुपरेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । अलैँचीलाई बङ्गलादेशले आयुर्वेदिक रुपमा प्रयोग गरेको छ । अलैँचीको निकासी सीधै बङ्गलादेश नै गर्न सकेमा राम्रो मूल्य पाउन सकिने उपाध्यक्ष श्रेष्ठले बताए ।

अलैँची निर्यात कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न नेपाल अलैँची व्यवसायी महासङ्घका तर्फबाट उपाध्यक्ष श्रेष्ठ बङ्गलादेश, युनाइटेड अरब इमिरेट्स, चीन र भारत पुगेको जानकारी दिए ।

मसलाका रुपमा प्रयोग हुँदै आएको अलैँची आयुर्वेदिक प्रयोगका लागि चीनले अध्ययन शुरु गरेकाले भविष्यमा बजार पाउने आशावादी बनाएको उनले बताए । पाकिस्तानले भारतको बाटो हुँदै लगिएको प्रयोग नगरेपछि मूल्यमा गिरावट आएको हो ।

अलैँचीको राम्रो मूल्य पाउन नेपालले पाकिस्तानसँगको व्यापारलाई प्रभावकारी बनाउन जरुरी छ । चीनको बाटो हुँदै पाकिस्तानसँग अलैँची व्यापार बढाउन सरकारले पहल नगरिदिँदा अलैँची व्यवसायी निराश हुनुपरेको उपाध्यक्ष श्रेष्ठको गुनासो गरे ।
सँधै भारतको बजारमा निर्भर रहेको अलैंँचीको निर्यात तेस्रो मुलुकको बजारसम्म पुग्न जरुरी छ । पछिल्लो समय सबैभन्दा धेरै बङ्गलादेशमा यसको प्रयोग हुने गरेको छ ।

अहिले भारतमा अलैँची उत्पादन हुन थालेपछि नेपालमा उत्पादित अलैँची बिक्री नहुन्जेल भारतले नेपालको अलैँची माग नगर्ने गरेको व्यवसायीको भनाइ छ ।

अहिले अलैँची कारोवारमा भारतमा कमी आएको पाइन्छ । गत असारदेखि नेपालबाट करिब २० प्रतिशत मात्र अलैँची निकासी भएकाले जिल्लामा अझै ४० प्रतिशत रहेको उपाध्यक्ष श्रेष्ठ बताउँछन् ।

९८ प्रतिशत अलैँची नेपाल बाहिर निर्यात हुने गरेको पाइन्छ । दुई प्रतिशत मात्र स्वदेशमा खपत हुने गरेको तथ्याङ्क छ । सङ्खुवासभामा २९ हेक्टर उत्पादनयोग्य जमीन रहे पनि हाल ३०० मेट्रन अलैँची उत्पादन हुँदै आएको छ । हाम्रा कुराबाट

Leave a Reply

Your email address will not be published.