दैनिक उपभोग्य सामग्री खरिदमा सन्दकपुर गाउँपालिकाद्धारा सहयोगको घोषणा

सन्दकपुर : कोरोना भाइरसको फैलन नदिन सरकारले गरेको लकडाउन अवधिभर दैनिक उपभोग्य बस्तु अभाव हुन नदिन सन्दकपुर गाउँपालिकाले उपभोक्तालाई अनुदान दिने निर्णय गरेको छ ।
सबै वडामा रहेका उपभोग्य सामग्री बिक्रि गर्ने पसलबाट दैनिक उपभोग्य सामग्री खरिद गर्दा मुल्यमा अनुदान दिने निर्णय भएको गाउँपालिका अध्यक्ष उदय बहादूर राईले बताए । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न भएको असहज परिस्थितिमा जनताको दैनिक जिवनमा चाहिने अत्यावश्यक खाद्यान्नहरुको सहज उपलब्ध गराउन गाउँ कार्यापालिकाको बैठकले चामल, चिनि, खानेतेल, नुन र चिउरा खरिदमा मुल्य अनुदान दिने निर्णय गरेको हो ।

सुलभ, सहज र सुरक्षित रुपमा जनतालाई उपलब्ध गराउन, खाद्यान्न संकट हुन नदिन, सन्दकपुर गाउँपालिका र सुरज एण्ड सुमन स्टोर्स देउराली बजारसंग सम्झौता भएको गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले जानकारी दिइन् । गाउँपालिकाको निर्णयपछि अध्यक्ष उदयबहादुर राईको उपस्थितिमा गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकिय अधिकृत महेश राई र सुरज एण्ड सुमन स्टोर्सका तर्फबाट व्यवसायी दुर्गामदन श्रेष्ठका बिच हस्ताक्षर भएको थियो ।
दैनिक उपभोग्य सामग्रीमा दिइने अनुदान लकडाउन अवधिभर मात्रै लागु हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चामलमा प्रतिकिलो २ रुपैयाँ, चिनिमा प्रतिकिलो ५ रुपैयाँ, खानेतेलमा प्रतिकिलो १० रुपैयाँ, चिउरामा ५ रुपैयाँ र नुनमा प्रतिकिलो ५ रुपैयाँ मुल्य अनुदान दिने निर्णय गरेको छ । छुट सहितको दैनिक उपभोग्य सामग्री गाउँपालिका सबै वडाको नजिकको सबै पसलमा खरिद गर्न पाइने प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । दैनिक उपभोग्य सामग्री किनबेचको समय तालिका वडा स्तरीय आपुर्ति समितिको निर्णयानुसार हुने उनले बताए । छुटको दैनिक उपभोग्य सामग्री खरिदका लागि सम्बन्धित वडाको वडाध्यक्षको सिफारिस अनिवार्य गरिएको छ । गाउँपालिकाले दैनिक उपभोग्य सामग्री खरिदबिक्री गर्दा कम्तिमा एक मिटर टाढा बाटै, मास्क र ग्लोभ्सको प्रयोग गर्न अनुरोध गरेको छ ।

Leave a comment

Your email address will not be published.