खाद्यान्न जोहो गर्दै इलामका स्थानीय तह

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रमोसन बिजनेस स्वास्थ्य/शिक्षा

प्रेम अधिकारी, पशुपतिनगर(इलाम) :
कोरोना भाइरस (कोभिड१९) रोकथाम र नियन्त्रणका लागि सरकारले आव्ह्रान गरेको लकडाउनका कारण विपन्न परिवारमा आउने समस्यालाई मध्यनजर गर्दै इलामका स्थानीय तहले चामल लगायतका खाद्यान्न जोहो गर्न थालेका छन् । लामो समय यातायत र बजार बन्द रहदा पहाडी क्षेत्रमा खाद्य संकट आउन सक्ने भन्दै इलामका धेरै जसो स्थानीय तहले चामल लगायतका अति आवश्यक खाद्य सामग्रीको पालिकामै जोहो गर्न थालेका हुँन । उनीहरुले चामल, चिनी , दाल आदि जोहो गरिरहेका छन् ।
इलामको सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाले चामल खरिद गरेर स्टक राखेका छन् । माईजोगमाई गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट गाउँपालिकाले १ सय १० क्विन्टल चामल खरिद गरी भण्डार गरेको छ । गाउँपालिका अध्यक्ष जीत बहादुर राईका अनुसार पालिकाले कार्यविधि बनाएर विपन्न, गरिव र मजदुरहरुलाई उक्त चामल बितर गरिनेछ । अध्यक्ष राईले भन्नु भयो‘भारतीय बजारमा निर्भर रहेका क्षेत्रमा र मजदुर बर्गमा बढी खाद्य संकट आउन सक्ने भएकाले बेलैमा चामल जोहो गरेका हौ ।’ खाद्य सामग्री पाउनका लागि गाउँपालिकाको स्थायी बासिन्दा र भोटर हुनुपर्ने छ । केन्द्र र जिल्लाबाट एक प्रकारको कार्यविधि आएको भए पनि स्थानीय स्तरको आवश्यक्तालाई मध्य नजर गरी गाउँपालिकाले आफनै कार्यबिधिी बनाएर काम थालेको अध्यक्ष राईले बताउनु भयो । हाल भण्डार गरिएको सामग्रीले अपुग भए थप खरिद गरेर भण्डार गरी बितरण गर्ने योजना गाउँपालिकाको रहेको छ ।
यस्तै सूर्योदय नगरपालिकाले ५५ क्विन्टल चामल खरिद गरेर भण्डारण गरेको छ । नगरपालिकाले वडा वडाबाट सिफारिस भई आएका दैनिक ज्यालादारी गरी खाने मजदुर , अहासय , दलित गरीवलाई समानुपातिक रुपमा वितरण गरिने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिनु भयो । कन्याम चिया बगानमा रहेका २ सय बढी चिया मजदुर र १४ वटै वडामा ५ देखि १० प्रतिशतको हाराहारीमा रहेका मजदुरलाई उक्त चामल बितरण गरिने नगर प्रमुख राईले जानकारी दिनु भयो । ‘ मजदुर र निम्न आय स्तर भएकाहरुको लगत संकलन गर्दै छौ , उनीहरुका घर घरमा पुग्छौ ।’
सूर्योदय नगरपालिकामा वडा नं ३ ले उद्योगी, व्यवसायी एवम समाजसेवीहरुबाट ८७ क्विन्टल चामल संकलन गरेर भण्डार गर्ने भएको छ । कोरोनाका कारण वडामा हुन सक्ने खाद्य अभावलाई परिपुर्ती गर्न उक्त चामल संकलन गरिने वडाध्यक्ष होम कार्कीले बताउनु भयो । इलामको पश्चिमी तथा दुर्गम फाफोकथुम गाउँपालिकाले बिपत ब्यवस्थापन कोषमा रहेका ६० लाखमा १८ लाख थप गरी उक्त कोषबाट कोरोना नियन्त्रण र खाद्य सामग्री जुटाउने भएको छ । गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार ७ वटै वडामा समानुपातीक हिसावले खाद्य सामग्री पु¥याउने काम भैरहेको छ । गाउँपालिकाका जनप्रतिनिधिको एक महिनाको भत्ता समेत उक्त कोषमा जम्मा गर्ने निर्णय गरीएको छ । अध्यक्ष श्रेष्ठका अनुासर गाउँपालिकामा कोरोना नियन्त्रण र सुरक्षाका लागि खटीने प्रहरीलाई दैनिक दुई सय रुपियाँका दरले खाजा खर्च दिईन थालिएको छ । गाउँपालिकामा खटीने स्वास्थ्यकर्मीलाई सरकारले दिईने भने बराबरको सुविधा समेत गाउँपालिका बाटै दिईने भएको छ । साथै उपचारमा सम्लग्न स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमीत भएमा दुई लाख रुपियाँ उपचार खर्च गाउँपालिकाले दिने निर्णय भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनु भयो । गाउँपालिकाले खाद्य संकट आउन सक्ने भन्दै सवै वडामा ब्यपारी मार्फत चामल स्टोर गराईसकेको छ ।
पश्मिमी देउमाई नगरपालिकाले ब्यपारी मार्फत चामल लगायतका खाद्य बस्तु स्टोर गराई सकेके छ । नगर प्रमुख सूर्य पोखरेलले नगरले चामल बितरण गर्ने भन्दा पनि ब्यपारी मार्फत अभाव भएका स्थानमा वितरण गरीने जानकारी दिनु भयो । उहाले आवश्यक परे नगरको बिपत ब्यवस्थापन कोषबाट नागरिकलाई आवश्यक सामग्री खरिद गरी बाड्ने जानकारी दिनु भयो । नगरपालिकाको वडा नम्बर ४ ले घर घरमा स्वास्थ्यकर्मी पठाएर कोराना सम्बन्धी सचेतना र कोरोना परीक्षण गराउन थालेको वडाध्यक्ष राजेन्द्र बास्तोलाले जानकारी दिनु भयो ।
इलाम नगरपालिकाले समेत बिपन्न र मजदुरका लागि खाद्य सामग्री बितरण गरिरहेको छ । नगरले शुरुमै राहत कोष स्थापना गरी आर्थिक सहयोग संकलन समेत गरीरहेको छ । जिल्लाको माङसेबुङ्ग गाउँपालिकाले लकडाउनको शुरुमै प्रत्येक वडा मार्फत चामल लगायतका खाद्य सामग्री स्टोर गरीसकेको छ । सन्दकपुर गाउँपालिकाले गाउँपालिकाका सबै क्षेत्रमा चामल लगायतका खाद्य सामग्री अभाव भएका क्षेत्रमा लैजाने गरी ब्यपारी संग समन्वय गरी सकेको गाउँपालिका अध्यक्ष उदयबहादुर राईले जानकारी दिनु भयो ।
रोङ गाउँपालिकाले वडा वडामा गएर मजदुर गरीब , असाहयको तथ्याङ्क संकलन गरी रहेको गाउँपालिका अध्यक्ष शम्शेर राईले जानकारी दिनु भयो । इलामको माई नगरपालिका र चुलाचुली गाउँपालिकामा खाद्य संकट नहुने भए पनि मजदुरका लागि भने राहत प्याकेज ल्याउने तयारी भैरहेको छ । माई नगरपालिकाका प्रमुख दिपक थेवेले मजदुरका लागि राहत प्याकेजको घोषणा गरिने जानकारी दिनु भयो । चुलाचुली गाउँपालिकाले ढुवानीका साधन संचालमा खुकुलो गरेको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले जानकारी दिनु भयो । इलामका ४ नगरपालिका र ६ गाउँपालिकाले स्थानीय स्तरमै क्वारेन्टाईन बनाएर बाहिरबाट आएका मानिसको निगरानी गरीरहेका छन् ।
गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published.