बिग्रेको बाहुन

  • 166
    Shares
बिग्रेको बाहुन


हाङयुग अज्ञात:

इलाम बजारजस्तै कुप्रो ढाडमा
प्रतेक मान्छेहरूको जन्मकुन्डली बोकेर
एकाबिहानै मर्निङ वाकमा निस्केर
थेबेचोकको ओरालोमा
मेयरसापको अनुहार सम्झिदै
आधा गिलास ट्याङ्ग्री स्वाट्टै पारेर
चोर औंला घोंचीघोंची गालीपूजा गर्ने
बिग्रेको बाहुन
अब उसलाई राष्ट्रपति नै बनाए पनि
ख्याँस्ने केही होइन
नाप्ने झनै केही होइन
रक्सीले डढेको पहेँलो कलेजो
हीनताबोध र कुन्ठाको रसले अझै डढाएर
रगत हग्नु मात्रै बाँकी छ सडकमा
उसलाई पत्याउने कसैले होइन

टुँडिखेलदेखि नारायणथानसम्म
ताप्लेजुङदेखि काठमान्डूसम्म
सप्रेका आफ्ना दौंतरीहरू सम्झी सम्झी
चुसुक्चुसुक् ट्याङ्ग्रीमा डुबेर
मानेभञ्ज्याङ र गोर्खाल्यान्डको गफ हाँक्दै हिँड्ने
कसैलाई नमान्ने
कसैलाई नटेर्ने
मान्छे निफन्दै, फावा खोज्दै
भट्टी दोकानमा दिमाग कोर्दै बस्ने
बौलाहा लिम्बूको सद्दे भान्जा ऊ
आफू जतिसुकै बिग्रेको भए पनि
धमिलो जनै छामेर ढुक्क हुने ऊ
उसलाई देखेपछि सत्ते कस्सम
एक ट्वाक् ट्याङ्ग्री किनिदिनु मन लाग्छ

किनभने ट्याङ्ग्री खाएपछि मात्रै
उसका हातहरू काँप्दैनन्
उसको अनुहार अँध्यारो हुँदैन
र कुनै प्रधानमन्त्रीले भन्दा थोर हँसाउँदैन
तर योभन्दा पनि खास कुरो चैँ
जसले एक ट्वाक् ट्याङ्ग्री ख्वाउँछ
उसको गुणगान महिना दिनसम्म गाइरहन्छ
नत्र ऊ नख्वाउनेको कुरा काटिरहन्छ
तासको अड्डामा भुत्भुताइरहन्छ
डिप्रेसनको रोगीजस्तो ऊ
औषधि मुखमा होइन कानमा हाल्छ
भातको गाँस मुखमा होइन नाकमा हाल्छ
हरियो अकबरे ठानेर तितेबिही टोक्दै फाल्छ
चियापत्ती भनेर गुन्द्रुक हाल्छ
बौलाहा लिम्बूको भान्जा ऊ
मामाभन्दा सद्दे छ ऊ
लिम्बुवानमा एक ट्वाक् ट्याङ्ग्रीले
अल्कोहोलिक भएको उसलाई हेर्दा
मलाई माया लाग्दछ कवि भानुभक्तको

किनभने ऊ ट्याङ्ग्रीले मातेर
पुलिसलाई गाली गर्दै
भानुभक्तको सालिकमा मुतिरहेको हुन्छ
रत्नबान्तवाको सालिकमा छादिरहेको हुन्छ
मुख्यमन्त्री मार्गमा ट्राफिक जाम गरिरहेको हुन्छ ।

हाङयुग अज्ञात