– हाङयुग अज्ञात:
म कवि होइन
सत्ते ! कस्सम !
मेरो हत्केलामा काँचो माटो राखिदेऊ
त्यो माटो खाएर भन्छु
म कवि होइन,
यदि जबर्जस्ती गर्छौ भने
ठीकै छ त
म तिमीले भने जस्तै
साम्प्रदायिक कवि हुँ
म साम्प्रदायिक कवि हुँ
मेरो सम्प्रदाय मान्छे
मेरो सम्प्रदाय चराचुरुङ्गी
मेरो सम्प्रदाय बोटबिरुवा
मेरो सम्प्रदाय आकाशधर्ती
थुक्क !
यस्तो आदर्श छाँट्ने म कवि होइन
मलाई कविता लेख्नू छ
सप्रेको लिम्बू बारे
तर थुप्रै छन् सप्रेका लिम्बूहरू
मुक्ति सेना जिबि याक्थुङ्बा हुनसक्लान् त
मेरो कविताको महान् बिम्ब ईश्वर ?
अँह ! ऊ हुन सक्दैन
किनभने ऊ पुलिस हो
र पुलिस र सुलिसलाई समाजवादले पत्याउँदैन,
फाल्गुनन्द लिम्बू
राष्ट्र विभूति
महागुरू
आह ! खराने भन्छन् साथीहरू
उसलाई कसरी बुन्नू शब्द(चोयाले कवितामा रु
मौलिकताको चार इन्च भिरेर
सुँगुरको बोसोको मजेत्रोले छोप्न खोज्छन्
युमाका पवित्र हंसहरू
सप्रेको लिम्बू बारे
एउटा कविता लेख्ने विचार मेरो
सुबास नेम्बाङ
वैरागी काइँला
बालकृष्ण माबुहाङ
या राजेन्द्र लिङ्देन ?
चकुसे, टकुसे
कुकुर, चामल
विद्रोही युवा
शालीन बुढा
खै ! त सप्रेको लिम्बू यो देशमा ?
कोही कोरियामा छन्
सिमसाग टिप्दै किम्ची खाँदेर दिमागमा
कोही छन् अमेरिकामा
स्यान्डविच भएर ग्रिनकार्डमा भावना
बेलायत, हङकङ, सिङ्गापुर, साउदी, कतार
मलेसिया र मिलिसिया !
खै १ काँ छन् सप्रेको लिम्बू ?
चुपचाप हेलाङ गाउँमा
सुँगुर चराइरहेको लिम्बू तुम्बा
मलाई लाग्छ उसकै कविता लेखूँ
उसकै छोरा
जो भिटामिन नपुगेर
मुखभरि घाउ बोकेर अझै दगुर्दै छ
कालो पाइपको रिङ्ग गुडाउँदै ट्याक्टरको डोबमा
त्यो सिँगाने लिम्बू केटोको कविता लेखूँ !
तर यी हेलाङे बाउछोराको धर्म छैन
राजनीति छैन,
भाषा बोल्छन् तर भाषामा कैफियत गर्नु जान्दैनन्
उनीहरूको कविता लेख्दा
के पाठकहरूको मन छोला ?
के यस्ता मान्छेको कविता लेख्दा
महाकवि या राष्ट्रकवि होइएला ?
सप्रेको लिम्बू काँ छ त यो देशमा ?
म सप्रेको लिम्बूको कविता लेख्न चाहन्छु
के कुमार लिङ्देन हो सप्रेको लिम्बू ?
जो दुई दशकदेखि
लिम्बुवान ! लिम्बुवान ! भन्दै घुमिरहेछ ।
आफ्नै बारे
कविता लेख्नु मसँग छैन ऐना
एह ! सेलिब्रेटी कविहरू
मलाई आइडिया देऊ
कसरी लेख्ने कविता ?
म सप्रेको लिम्बू बारे कविता लेख्न चाहन्छु ।