‘शुभ लभ’ र ‘साँइली’ प्रदर्शनमा

‘शुभ लभ’ र ‘साँइली’ प्रदर्शनमा


फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि २ वटा चलचित्रहरु प्रदर्शनमा आएका छन् । आजदेखि प्रदर्शनमा आएका चलचित्रहरु हुन्, ‘शुभ लभ’ र ‘साँइली’ । चलचित्र ‘शुभ लभ’ युवा ज्योतिष हरिहर अधिकारीका कारण चर्चामा छ भने चलचित्र ‘साँइली’ गायक हेमन्त रानाको सुपरहिट गीत ‘साँइली’ का कारण चर्चामा छ ।

चलचित्र ‘शुभ लभ’ लाई निर्देशक सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रका २ वटा गीतलाई दर्शकले रुचाएका छन् । चलचित्रको ट्रेलरले पनि सकारात्मक टिप्पणी आइरहेका छन् । चलचित्र ‘शुभ लभ’ मा अधिकांश नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ । चलचित्रमा युवा ज्योतिष हरिहर अधिकारीसँगै कृष्टिन पौडेल, राजा राजेन्द्र पोखरेल, डाक्टर सूर्या थापा, नम्रता सिम्खडा लगायतको अभिनय रहेको छ भने सरोज खनाल, राजाराम पौडेल, रवीन्द्र झालगायतका कलाकारहरुको अभिनयले चलचित्रलाई थप मजबुत बनाएको छ ।

चलचित्रको कथा युवा ज्योतिष हरिहर अधिकारीले नै लेखेका हुन् । चलचित्र ‘शुभ लभ’का प्रस्तुतकर्ता प्रदीपकुमार उदय हुन् । अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको चलचित्र ‘शुभ लभ’ मा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा हरिहर ज्योतिषकै भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रोशनविक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

अर्काे चलचित्र ‘साँइली’ ले पैसाको अभावले परिवारमा आउने उतार चढावको कथा उठान गरेको छ । गायक हेमन्त रानाको सुपरहिट गीत ‘साइली’ को नाम सापटी लिएर चलचित्रको निर्माण गरिएको हो ।

चलचित्रले वैदेशिक रोजगारीको कथा प्रस्तुत गरेको छ । ‘साँइली’ को निर्देशन रामबाबु गुरुङले गरेका हुन् । चलचित्रको निर्माण भने गायक हेमन्त राना र गौरव पहारीले संयुक्त रुपमा गरेका हुन् । जीएच इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा गौरव पहारी, मेनुका प्रधान, दयाहाङ राईका साथै माओत्से गुरुङ, केनिपा सिंह, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ । चलचित्र ‘साँइली’ को कथा गीतको भिडियोमा देखाइएको कथाभन्दा केही फरक भएको बताइएको छ ।

विशाल गुरुङ र मोहन राना मगरको लगानी रहेको चलचित्रमा विजय अवाले, विकाश पुजास, सुवेच्छा केसी सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । चलचित्रमा काली प्रसाद बाँस्कोटा र सुशान्त गौतमको संगीत रहेको छ । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।