सटके मेलातिर (कविता)

सटके मेलातिर (कविता)

– विष्णु प्रसाद काफ्ले

(थाहा छैन अहिले,
सन्चो-बिसन्चो कस्तो छ?
यादहरुका पत्रहरुमा
लुकिरहे जस्तो छ !)
*****
अनायासै गुञ्जियो-
‘भोलि त मङ्सीरे पुर्ने है
जाने होइन सटके मेला ?
पोहोर त रमाईलो भा’थ्यो
सबैलाई खबर गर है चुम्मे’ !
निम्बुरे कान्छाको आवाज
तीनपल्ट गुञ्जियो गैह्रीको भित्तामा !
*****
अतीत उवाच: …..!!
सम्झेर ल्याउदा मनै फुरुङ्ग भो
हेर्दा हेर्दै धानका बिटाहरु
गैह्रीको खलेगह्रामा कुनिउ बन्दै गए
हार मिलेका गह्राहरु साँच्चै सुन्दर देखिए
कुनै शिल्पीको बेजोड बुट्टा झै ।
चाम्रेको खाजा खाएपछि
ठडियो कुनिउको चुच्चे गजुर
अनि गुञ्जियो एकफेर खले भाका
शायद असारको माना मुरी बनाएको
खुशीको जनाउ थियो त्यो !
घामले चुली नकाट्दै
उकालियो खेतालाको लर्को
पसिना पुछ्दै,
त्यहि पसिनाले थकाई बगायो !
मन साच्चै रोमाञ्चित छ…..
किनकि,
आज सम्साँझै सटके मेला झर्नु छ
दु:खका भारीहरु उतैतिर बिसाउनु छ
अनि पालमका भाकाहरुसँगै
मायामा माया मिसाउनु छ एकफेर ।।
……..
आज उधुम तन्नेरी झै लाग्यो
पोहोर साल भन्दा ‘ह्याण्डसम’ हुनु छ
रिठ्ठाको बोक्रा दलेर
तितेपातीको पात धसेर
नुहाईयो नौले धारामा
जाँते ढुङ्गामा रगेडियो हात खुट्टा
चमेलीको तेलले मगमगायो शरीर ।
तोरीको गुन्द्रुकसँग
माडभात खाईवरि,
खाँडीका दौरा सुरुवाल
कालो कोट ढाकाको टोपी
र उस्तै गल्बन्दीमा सजिएर
चकमक र झुलोसँगै
गोजिमा राखियो सालपाते बिँडि
अनि पाँच लाँक्रा उखु काँधमा राखेर
साइसाई सुइसुई वारिपारि…. !
रातेको बगरमा भेटहुने वाचा
ओह्रालो लागियो भारेडाँडाको बाटो
सटके मेला भर्नलाई ।।
……
आदाङ्बे सेवारो !
थबाःको सेउली डेरामा पुगियो
शरीर चाउरिए पनि मनको साह्रै तन्नेरी
मुडाको धुनि जगाएर
आफ्नै उमेरका दौतरीसँग
उहिलेका कुरा गर्दै छन्
काली दहका तिते माछाको स्वादमा
जिब्रो फड्कार्दै…पुलुक्क येता हेरे –
‘बस है मेन्छे आलितिर
यस्तै छ मेलाको बास !
कि मेला भर्न जान्छौ पहिले?’
जूनको मन्द उज्यालोमा
सटके बगर टल्कियो
मेलाको खल्याङमल्याङ सुनियो
उलूलूलूलू………!!!
सिमखर्के साईलो कुर्लियो
भाङटारको भित्तासम्मै गुञ्जियो
शायद तन्नेरीहरु मेलामा
आईपुगेको जनाउ थियो त्यो ।।
…….
आम्मामा के साह्रो चिसो !
पुवाखोलाको एकनास सुसाईसँग
छिन्टापुले पठाएको शीताङ्ग सिरेटो
गुरधुमडाँडाको आड नहुने हो त
उडाईलाने थियो होला सेउली डेरा
निभाई जाने थियो होला धिपधिपे बत्ती
तर पनि वेपर्वाह जस्तै छन्
तन्नेरी मनहरु
जूनेलि रात र रोमाञ्चित साथहरुले होला
जूनकिरीको लर्को पाखैभरि छ
मान्छेका हुलहरु बाक्लिदै छन्
रौसिदै छन् तारुण्य जनहरु
कोई यता कोई उता
बज्न थालेका छन् च्याब्रुङका तालहरु
खुल्न थालेका छन् पालमका भाकाहरु
कतै जुहारीका होडहरु
शायद हामी गाँउलेका लागि
सटके मेला
आज उत्सव भन्दा नि ठूलो छ!
नहोस् पनि कसरी
बाह्रै गाँउको सुख फिजाउने
माया मिसाउने
अनि दुःख विसाउने
एउटै मझेरी भएको छ
पुवा र सटके दोभान ।
…….
हे पुवा माई !
बगाईदेउ यी दुःखका भारीहरु
रसाईदेउ सुखका पहाडहरु
जुराईदेउ मायाका साथहरु
रङ्गाईदेउ जीवनका ‘प्लट’हरु
गुरधुमडाँडालाई साक्षी राखेर
अनन्त कोटि सेवा र श्रद्धा छ तिमिलाई !
गुञ्जि रह्यो …..गुञ्जि नै रह्यो !
विहानी पख ।
……
किर्किटि र सप्तऋषि तारा
अनि तिनताराहरु विलाउदै गए
उज्यालोको लप्कोसँगै !
घामका मधुर किरणहरु सोझिए
सिद्धेथुम्का चुलीमा
पुवामाईको दर्शन पछि
येता उता हेरे,
मेलाको भीड चारैतिर चाहारे
बगरका छेउकुना अनि
थबाःको सेउली ‘डेरा’सम्मै नियाँले
अहँ फेला परेनन्….
सँगै मेला भर्न आएको निम्बुरे कान्छो
अनि सिमखर्के साईलो ।
मेलाको चटारो बढ्दै जादा
ओडारे कुक्क्वा कम्मरमा गलबन्दी कसेर
थबाःको डेराबाट तल झरे
खबर फैलि सकेछ-
निम्बुरे कान्छो र सिमखर्के साईलाले
सिमपानी तिरका खै कसलाई हो कुन्नि
भालेको डाँकसँगै राते कटाईसके अरे ।
उफ्…..!
हुल छुट्टिए पछि
म चाहिँ येता
बेचैन छु….
विताउनु छ अझै एकदिन एकरात
सटके मेलातिर
केही पो भैहाल्छ कि?
…….
सटके मेला उसै गरि चलिरह्यो
चलि नै रह्यो
आशाको डोरी लम्ब्याउदै……
भोलिपल्ट झिसमिसेमा
मायाले डाँडो नकटे सम्म !
अब काट्नु छ एक्लै
भारेडाँडाको उकालो
बिछोडको लठ्ठी टेकेर …..।।