मानवता हराएको
शहर ठानेको थिएँ
बिश्वास त मट्टी हो
जलाइन्छ यहाँ
जहाँ सपनाहरु फुल्न पाउँदैनन्
फुलिहाले भनेँ पनि
कोपिला डालीबाटै झरिहाल्छन्
यस्तै सुनेको थिएँ मैले
स्वार्थमा लिप्त हुन्छ मान्छे।
न शहरमा सद्भाव हुन्छ
न माया, प्रेम र सम्मान हुन्छ
यहाँ त प्रदूषणमा घुलिएको मान्छे
मन वचन र भरोसाहरु पनि
प्रदुषितनै हुन्छन्।
हो प्रिय काठमाडौं मैले
यस्तै सुनेको थिएँ।
गाउँ जस्तो हुन्न शहर
झुपडी जस्तो हुन्न महल
सम्मानका खातिर यहाँ
स्वार्थका घैलाहरु घोप्टिन्छन्
अनि मान्छे अरुका लागि हैन
आफ्नै लागि मर्छ ,आफ्नै लागि बाँच्छ।
कसैले कसैका लागि
माखो मार्दैन यहाँ।।
शान्त शहरको परिकल्पना
अभिशाप हुन्छ।
आफ्नोले आफ्नो चिन्दैन
पराइको त के कुरा गर्नु
स्वार्थले भरिएको दुनियाँ
मान्छेले मान्छे टेकेर हिँडेको छ।
हो,
प्रिय काठमाडौ
मैले यस्तै सुनेको थिँए।
तर ,
तर आज फरक पाएँ,
फरक देखेँ,
जहाँ मन्दिरका घण्टीहरुमा
मस्जितका शान्त तरंगहरुमा
मैले खोजे जस्तै प्रेम भेटेँ
आत्मबल र बिस्वासका ठेलीहरु भेटेँ।
जहाँ मेरो अपुरो सपना फूल्ने
शहर देखेँ।
खास लाग्यो मलाई
सिंगो राज्य देखेँ यहाँ
हात नहुने पनि बाँच्न आउँछ ,
खुट्टा नहुने पनि बाँच्न आउँछ
अभाब पनि बाँचेको देखेँ
आलिसान पनि बाँचेको देखेँ
हो प्रयि काठमाडौं
मैले यस्तै देखेँ।
देखासिकी गर्ने फुर्सद छैन
जीवन डोर्याएर हिँडेको मान्छे
गाउँकै मन बोकेर
जटिलता मस्काउँछ यहाँ
फुर्सद छैन कोही
ब्यस्त चलेकाछन् जीवनहरु
आफूले आफ्नै जम्मेवारी
बोकेर थाप्लोमा
गाडीको बेग जस्तै
गुडिरहेछन् मान्छेका पैतालाहरु ।
बग्रेल्ती छरिएका गोरेँटाहरु छन्
जून गोरेटोमा पैताला टाँसेर
सफलता खोजिरहेको एउटा अब्बल
दुनिया देखेँ मैले
हो प्रिय काठमाडौं।।