समयलाई प्रश्न (कविता)

समयलाई प्रश्न (कविता)

कबिता राई “गाउले”

आजसम्म

मैले बन्न चाहेर पनि

बन्न नसकेको ढुंगा मात्र हो

समयले मलाई

के के मात्र बन्नु भनेन

कहिले हावा बन्नु भन्यो

हावा बनें म

अनि सास बनें

सास हुँदै कसैको ढुकढुकी बनें

र छातीतिर कैद भएँ

कहिले पानी बन्नु भन्यो

पानी बनें म

माटोमा थोरै मिल्नु भन्यो

मिलें म

बग्नु भन्यो

कहिं कतै नहेरी बगें  म

कहिले चिसिनु भन्यो

चिसिएँ

कहिले तातिनु भन्यो

तातिएँ

कुनै अनिश्चित ठाउँमा पुगेर बाफिनु भन्यो

बाफिएँ

तर समयले मलाई

बाफ बनेर माथी-माथी पुग्नै दिएन

माथी माथी पुगेर आकाश छुनै दिएन

कहिले आगो बन्नु भन्यो मलाई

आगो पनि बनें म

आगो बनिसकेपछी

भरभरी बल्नु भन्यो

त्यसरी नै बलें म

तर आगोको लागि आगो बन्न नसक्नेहरू

पोलिए मबाट

आगोको पहिलो धर्म नै पोल्नु हो

अफसोचको कुरा।।।

मै ठहरिएँ अपराधी

बन्दा बन्दा

फूल पनि मैले नै बन्दिनु पर्ने रे

फूलेर सबैभन्दा सुन्दर पनि मै देखिनु पर्ने रे

जुन पनि मै भैदिनुपर्ने रे

बनेर जुनको सितलता पनि

मैले छाइदिनुपर्नेरे

आकाश पनि मैले थामिदिनु पर्ने रे

घाम पनि मै भैदिनुपर्ने रे

र सारा ब्रह्माण्ड मैले नै उज्याल्याईदिनु पर्ने रे

दिन पनि मै भैदिनुपर्ने रे

रात पनि मै भैदिनुपर्ने रे

सृष्टिको उत्कृष्ट गीत पनि मैले गाइदिनुपर्ने रे

र सबैभन्दा मीठो धुन पनि मै बन्दिनु पर्ने रे

ओ समय !

यो सब बन्दा बन्दा

म स्वयं म बन्ने समय खोइ तरु

यदि मेरो लागि समय छैन भने

म अब ढुंगा बन्न चहान्छु समय

किनकि ढुंगाको न समय सकिन्छ

न त ढुंगाले ढुंगा नै जन्माउनु पर्छ ??