….उनी बेनी नझरे पछि ….

….उनी बेनी नझरे पछि ….

बिमल बैद्य


माई र जोगमाईको दोभानमा नुहाएर
पोहोर हामीले
शिवालय दर्शन गरेका थियौ
भैयाको दुकानमा औंठी किनेर
औला तानातान गर्दै
हाम्रो मायामा जीवन भरेका थियौ
जोगमाईको फड्केमा
तिमी इत्रिदै गर्दा
म खोलामा खसेको थिए
मेरो भिजेको शरीर नियाल्दै
तिमीले आफ्नो आँखाबाट
बैँस खन्याएकी थियौ ।
परालको धुस्ने माथि बसेर
तिमीलाई घुर्दै
म दाँतले उखु खोस्ट्याईरहन्थे
आँखा निहुराएर तिमी
बुढी औंलाले भुँई कोतर्दै
मुखले तरूल चपाइरहन्थ्यौ
मेलामा किनेको मुरली
खेतका डिलमा बसेर बजाइरहदा मैले
तिमी हातमा फिरफिरे बोकेर
खोलाको किनारमा बेतोडले कुद्ने गर्थ्यौ
माईको किनारमा
ढुङ्गाको देउता थापेर
जोडी परेवा उडाउदा
हाम्रो प्रेमले
आकाशको गहिराइ छोए झै लाग्थ्यो
झोलुङ्गे पुलमा उक्लेर
लट्ठा समाएर मच्चिदा
भुल्थ्यौ हामी
सारा दुनियाँका लाजहरू
आज स्मृति जस्तो लाग्छ
झरिन म पनि यो पटक
बेनी मेलामा
तिमी पनि नआउने खवर पाएको थिए
ठिकै छ,
अर्को साल फेरि
रमाउला बेनीको बगरमा
तिमी र म हराउला फेरि
सेउलाको झुप्रोमा ।
( अक्षर सिम्फोनी बाट )