आमाको अन्तर्मन (कविता)

आमाको अन्तर्मन (कविता)

वसन्त थाम्सुहाङ,इलाम:

पोहोर लेकबारी
बन्धकी बेचीयो
यसपालि समयमै
पानी परे पनि
खुंग खोलाको खेत बाँझै रहयो
तैले अनेक दुःख गरेर
कमाएको
पैसा त पठाईस् छोरा
तर, किनेको चामल
कुहिएको परेछ
केटाकेटीले भातै खाएनन्
टीका लगाउन पनि मानेनन्
यसपालिको दशैं पनि खल्लै भो ।
कति बर्ष पछि
तेरो मावल जाऊँ भनेको
बाटाघाटा पनि सबै बिग्रेका छन्
बस गाडी लडेर
मान्छे मात्र मर्छन
राजदुवाली पुल तर्दा पनि
मन ढुकढुक हुन्छ ।
त्यस माथि भुइँचालोले हल्लाएर
घर पनि चिराचिरा पारेको छ
खै कस्ले मर्मत गर्ने हो
यी पुल बाटो,
कस्ले स्याहार्ने हो यो घर
तिमीहरुजस्ता
बलिया बांगा पढेका जानेका
सबै बिदेसिए पछि ।
यहाँ त अचेल छिमेकीहरु
अर्काको साँध मिच्छन्
र केहि भन्यो भने
उल्टै कुट्न खोज्छन्
अव गाउँघरमा त
यस्तै लुच्चा लफंगाहरु मात्र
बाँकी छन्
भो छोरा यस्ताका आश
तिमीहरुले नगर्नु ।
हजारौं सपना बोकेर
सुन्दर भविष्य खोज्न
सुदूर बिदेसीएको छस्
तर, गह्रुँगो अतीत
काँधमा झुन्डयाएर
बर्तमानमा नै जोतिने भइस्
म त डाँडा माथिको घाम
कुरा आफै बुझनु
मेरो भन्नु यति नै !!