कोरोना बैशाखको प्रारम्भबाटै शान्त हुने (२०७७ को वार्षिक राशिफल सहित)

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रमोसन मनोरञन रोचक

ज्योतिषाचार्यः हरिप्रसाद पौडेल:

कोरोना महामारी शान्त हुनेः

हाल विश्वभर फैलिएको कारोनारोगको महामारी वैशाखको प्रारम्भबाट नै शान्त भएर जाने देखिन्छ । वर्षभरि नै जनस्वास्थ्यमा आघात हुने ठूला महामारीहरु आइपर्ने छैनन् । अन्य भूकम्प,अतिवृष्टि,अनावृष्टि,भूक्षय जस्ता प्राकृतिकप्रकोपहरु समेत न्यूनमात्रामा देखिनेछन् । जनस्वास्थ्यको क्षेत्रमा केही राम्रा कामहरु समेत हुनेछन् । युवावर्गहरु खेलकूद एवं मनोरञ्जनमा रमाउनेछन् । राष्ट्रिय एवं अन्ताराष्ट्रिय खेलकूदहरुमा सफलता मिल्ने देखाउँछ ।

कृषि एवं वाणिज्यक्षेत्र समेत सन्तोषप्रदः

बुध राजा भएकाले व्यापार वाणिज्य एवं वित्तीयक्षेत्रबाट राम्रो परिणाम आउने संकेत देखिन्छ भने चन्द्रमा मन्त्रीपदमा रहेकाले वर्षा राम्रो हुनाले अन्नबालीको उत्पादनमा वृद्धि हुनुका साथै पशुपालन समेत फस्टाएर जाने कुरा बताउँदछ । विशेषगरी धान,गहुँ, मकै र जौको उत्पादन राम्रो हुनेछ । तरकारी एवं फलफूलजस्ता नगदेबालीहरुको उत्पादनमा समेत उल्लेख्य वृद्धिभएर जानेछ । विलासिताका सामग्रीहरुमा मूल्यवृद्धि भएर जानेछ भने अन्य उपभोग्य सामग्रीहरुको मूल्यवृद्धि मध्यमस्तरले बढ्नेछ ।

शिक्षास्वास्थ्य, शान्ति एवं अमनचयनः

लुटपाट चोरीडकैती जस्ता घटनाहरुमा न्यूनता आउनेछ भने जनताको शान्ति सुरक्षा र अमनचयन कायम राख्न केही राम्रै कदमहरु चालिने संभावना समेत देखिन्छ । सामाजिक विसंगतिहरु कम हुँदैजानेछन् भने जनचेतनाको स्तरमा बढोत्तरी भएर जानेछ । सरकारी स्तरबाट स्वास्थ्यसेवामा केही राम्रा पहलकदमहरु हुने संभावना देखिन्छ भने सरकारीस्तरबाट संचालित शिक्षणसंस्थाहरु भन्दा निजीस्तरबाट खोलिएका शिक्षणसंस्थाहरुको उन्नतिप्रगति राम्रो हुने देखिन्छ । नयाँ उद्योग एवं उत्पानमूखी व्यवसाय फस्टाउनाले नयाँ रोजगारीको समेत वृद्धि हुने संभावना ग्रहयोगहरुले देखाएकाछन् । जलवायुपरिवर्तनले खासै नराम्रो ठूलो असर पार्ने घटनाहरु आउने देखिदैन । ग्रहहरुको उदयास्तलाई विचार गर्दा विशेषगरी असार र माघमहिनामा केही नराम्रा घटनाहरु सुन्नुपर्ने संभावना भने देखाएकोछ ।

मेष राशिः
तपाईंको लागि यसवर्षका ग्रहगोचरहरु सामान्य रहेकाले यो वर्ष सफलताको आधारमा मध्यमफलदायी हुने देखिन्छ । मन्द गतिले अगाडि बढेको अध्ययनकार्य आषाढ मसान्तपछि तीब्रगतिले अगाडि बढ्नेछ । श्रावण उप्रान्त कार्तिक मसान्तसम्मको लागि गुरुको अनुकूलताले गर्दा मानसिक प्रसन्नता बढेर जानुका साथै भाग्यले साथ दिनाले नयाँ काम पाउने संभावना,गरेको काममा पदोन्नति,मानप्रतिष्ठा बढ्नुका साथै सोचेका योजनाहरुमा सफलता मिल्दैजानेछ । प्रारम्भमा गर्नआँटेका कामहरुमा केही बाधाअड्चनहरु आइपरेतापनि श्रावण उप्रान्त बृहस्पतिको अनुकूलताले गर्दा सामाजिक एवं धार्मिककामहरुमा गहिरो अभिरुची बढेर जानेछ । सो समयभित्रमा कर्मचारीवर्गको लागि मानसम्मानका साथै पदप्रतिष्ठामा समेत वृद्धि गराउनेछ । वर्षको उत्तरार्धमा युवायुवतीहरुको लागि प्रेम मनोरञ्जनका साथै नयाँ दाम्पत्यजीवनको लगनगाँठो जुर्ने योग समेत रहेकोछ । वर्षको मध्यभागमा वैदेशिक यात्रा एवं भ्रमणका अवसरहरु मिल्नेछन् । दाम्पत्य सम्बन्धमा माधुर्यताको आभास हुनेछ । पशुपालन एवं कृषिकर्म गर्नेहरुको लागि वर्ष राम्रो देखिन्छ भने व्यापारिक वर्गहरुको लागि समेत अनुकूल रहनेछ । स्वास्थ्यस्थिति अनुकूल रहनेछ भने पारिवारिक सुख सन्तोषप्रद हुने देखिन्छ ।

वृष राशिः
आषाढ मसान्त सम्मको लागि समय अनुकूल रहनाले प्रेमसम्बन्ध गासिने,पठनपाठनमा अभिरुची बढ्नुका साथै मनोरञ्जनका अवसरहरु मिल्नेछन् । पारिवारिक भेटघाटका साथै दाम्पत्य सुखसम्बन्ध अनुकूल रहनेछ । श्रावणउप्रान्त स्वास्थ्यमा सामान्य झमेलाहरु देखापर्ने योग रहेकोछ । श्रावण उप्रान्त आँटेको काममा ढिलासुस्ती,काममा अपजश,पारिवारिक चिन्ता एवं समस्याहरुले सताउनुका साथै पठनपाठनमा समेत अनावश्यक बाधा अड्चनहरु आइपर्ने देखिन्छ । इष्टमित्र एवं आफन्तसंगको सरसहयोगको अपेक्षा नराख्दा नै राम्रो होला । नयाँ काम एवं आर्थिक लगानी गर्न पनि वर्षको पूर्वार्ध नै राम्रो देखिन्छ । तपाईंको लागि पुस महिनामा हानीनोक्सानी पुग्नसक्ने देखिएकाले साबधानी अपनाउनुपर्नेछ ।

मिथुन राशिः
तपाईंको लागि यो वर्षका ग्रहस्थिति मध्यमफलदायी रहेकाछन् । असारमसान्तसम्म पठनपाठनमा भन्दा अन्य मनोरञ्जनका विषयमा अभिरुची रहनेछ । श्रावण २४ गतेसम्म अढैयाशनिको कारण अनावश्यक झमेला,चोटपटकको भय एवं आर्थिक हानिनोक्सानीको संभावना देखाउँछ भने वर्षको उत्तरार्धमा घरायसी समस्याहरुबाट छुट्कारा मिल्ने,स्वास्थ्य एवं कारोवारमा सुधार हुँदै जानुका साथै पठनपाठनमा समेत अभिरुची बढेर जानेछ । आर्थिकपक्षका कामहरुबाट सन्तोषप्रदलाभ गराउला । आफन्त एवं इष्टमित्रसंगको भेटघाट एवं रमाइलो यात्राको योग समेत रहेकोछ । सन्तान एवं पारिवारिक सुखसन्तोष अनुकूल रहनेछ । युवायुवतीहरुमा नयाँ प्रेमसम्बन्ध गासिने देखिन्छ । ठूलो लगानी एवं लेनदेन सम्बन्धी कारोबारमा भने सतर्कता अपनाउनुपर्ला । तपाईंको लागि भाद्र र मंसीर महिना शुभ रहेकाछन् भने माघ र जेठ महिनामा केही झमेलाहरु आइपर्नेछन् ।

कर्कट राशिः
वर्षको पूर्वार्धमा यात्रा एवं स्थानपरिवर्तनको संभावना रहेकोछ । आर्थिकपक्ष अनुकूल रहनाले व्यापार व्यवसाय राम्रै रहला । साहस,धैर्यता एवं पराक्रम बढेर जानेछ । । वर्षको प्रारम्भमा भूमि एवं वाहनको लाभ हुने योग रहेकोछ । कर्मचरीवर्गको लागि पदोन्नतिको संभावना छ । उत्तरार्धमा पठनपाठनमा अनावश्यक बाधाअड्चनहरु आइपर्ने, घरायसी समस्याहरुले पिरोल्ने,सन्तानको चिन्ताले सताउनुका साथै आर्थिक हानीनोक्सानीको संभावना देखिन्छ । आर्थिक दृष्टिले वैशाख र जेठमहिना राम्रो छ भने फागुन,र असार महिना केही प्रतिकूल हुने देखिन्छ ।

सिंह राशिः
वर्ष मध्यमफलदायी रहनेछ । आँटेताकेका कामहरुमा सामान्य बाधाअड्चनहरुका साथै ढिलासुस्ती गराउने देखिन्छ । श्रवण उप्रान्त आर्थिकपक्षका कामहरुबाट राम्रै लाभ हुने देखिनुका साथगै आम्दानीका नयाँ श्रोतहरु फेलापर्नेछन् । आषाढउप्रान्त पठनपाठनमा अभिरुची बढेर जाला । बोलीको प्रभावले महत्वपूर्ण काम बन्नेछन् । इष्टमित्र एवं आफन्तकों सुख राम्रै पाइएला । पारिवारिक सुखसन्तोष अनुकूल रहनेछ । भाद्र उप्रान्त पठनपाठनका साथै धार्मिक एवं सामाजिक कामहरुमा अभिरुची बढेर जानेछ । तपाईंको लागि जेठ र असार महिना फलदायी देखिन्छन् भने मंसीर एवं चैत्रमहिना केही असहज हुनेछन् ।

कन्या राशिः
नयाँ वर्ष रामो रहेकोछ । शारिरिक आरोग्यताका साथै मानसिक चिन्ताहरु हटेर जानेछन् । रोकिएका कामहरु क्रमशः बन्दैजानेछन् । आर्थिक कारोबारमा लाभ हुनेछ । पठनपाठनका साथै धर्मकर्ममा समेत अभिरुची बढेर जानेछ । सकिएको अढैयाशनिदशा पुनः श्रावण २४ गतेबाट मंसीर २ गतेसम्म फर्केर आउने भएकाले सो समयमा नयाँ कारोबार एवं लगानी नगर्नुहोला साथै सो समयमा आँटेताकेका कामहरुमा बाधाअड्चन एवं ढिलासुस्ती समेत गराउनेछ । पुनः मंसीर उप्रान्त भने समयकोे अनुकूलताले गर्दा पारिवारिक सुखसन्तोष,आर्थिकलाभ,मनोरञ्जनका साथै आँटेको काममा सफलता मिल्नेछ । घरपरिवारमा धार्मिककार्यका साथै विवाह,व्रतवन्ध जस्ता मांगलिककार्यहरुको समेत संभावना रहेकोछ । यात्रा एवं मनोरञ्जनका अवसरहरु समेत मिल्नेछन् ।

तुलाराशिः
श्रावण २४ सम्मको लागि अढैयाशनिदशा प्रारम्भ भएको हुनाले आँटेको काममा अनावश्यक बाधाअड्चनहरुका साथै ढिलासुस्ती समेत गराला । नयाँ लगानी एवं ठूलो लेनदेनसम्बन्धी कारोबार गर्नको लागि त्यति राम्रो देखिन्न । अन्य कामहरुको हिसाबले भने वर्ष मध्यम फलदायी रहेकोछ । भाद्रदेखि मंसीर २ सम्मको लागि भने अढैयाशनिले छाड्नाले सो समयमा रोकिएका कामहरु बन्ने,आर्थिलाभ एवं सफलता मिल्नेछ । वर्षको आरम्भ र अन्त्यतिर काममा बाधाअड्चन, स्वास्थ्यमा उतारचढाव एव ढिलासुस्ती गराउनेछ । शनिको जापपाठका साथै पीपलमा शनिवार जलार्पण गर्दा राम्रो होला । पठनपाठनमा मन्दप्रगति गराउला । कृषिक्षेत्रका व्यक्तिहरुको लागि भने वर्ष फलदायी रहनेछ । कर्मचारीवर्गको लागि खासै सन्तोष मिल्ने देखिन्न । वैदेशिक यात्रा एवं स्थानपरिवर्तनको संभावना बलियो रहेकोछ ।

वृश्चिक राशिः
सकिएको साढेसातशनिदशा श्रावण २४ देखि मंसीर २ सम्म फर्केर आउनाले सो समयान्तरमा नयाँ कारोबारका साथै ठूलो लगानी नगर्दा बेस हुनेछ । त्यस उप्रान्त भने वर्ष शुभाशुभ मिश्रित फलदायी देखिन्छ । दाजुभाइसंगको सम्बन्धमा चीसोपना आउनेछ । पठनपाठनमा अभिरुची बढेर जानेछ । रमाइलो भ्रमण एवं वैदेशिकयात्राको संभावना रहेकोछ । आर्थिकपक्ष मध्यम हुनेछ भने रोकिएका कामहरु क्रमशः बन्दैजानेछन् । वर्षको पूर्वार्धमा धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुनुपर्ने,सन्तान एवं पारिवारिक सुख राम्रो मिल्नेछ भने उत्तरार्ध रमाइलो भेटघाट,नयाँ प्रेमसम्बन्ध गासिनुका साथै मनोरञ्जनका अवसरहरु मिल्नेछन् ।

धनु राशिः
वर्षभरि नै साढेसातशनिदशा चल्नाले स्वास्थ्यमा उतारचढावको स्थिति उत्पन्न हुनेछ । काममा बाधाअड्चन एवं ढिलासुस्ती एवं अपजश समेत गराउर्ला । वर्षको पूर्वार्धमा पारिवारिक झमेलाले सताउनुको साथै घर जगाजमीन सम्बन्धी किचलो निस्कने,अनावश्यक वादविवादमा तान्ने,काममा अपजश आइपर्ने देखिन्छ भने उत्तरार्धमा आर्थिक कारोबारमा सफलता मिल्ने,पठनपाठनका साथै धार्मिक एवं सामाजिक कामहरुमा अभिरुची बढेर जाने,सन्तान एवं परिवारको सुखसन्तोष मिल्ने,रोकिएका कामहरु बन्दैजानुका साथै मनोरञ्जनका अवसरहरु मिल्नेछन् । तपाईको लागि श्रावणमहिनामा नराम्रा घटनाहरु घट्नसक्ने संभावना देखिएकाले साबधानी अपनाउनुपर्नेछ ।

मकर राशिः
वर्षभरि नै तपाईंको लागि साढेसातशनिदशा रहनाले पारिवारिक झमेला,आर्थिकहानिनोक्सानी,अनावश्यक कलह जस्ता दोषहरु आइपर्ने देखिन्छ । अध्ययन अध्यापनमा केही बाधाअड्चनहरु आइपर्नाले सोचे अनुसारको सफलता नमिल्न पनि सक्छ । वर्षको मध्यभागमा धार्मिकयात्राको संभावना रहेकोछ भने वर्षारम्भमा स्वास्थमा उतारचढावको स्थिति उत्पन्न हुनुका साथै कामका बाधाअड्चनहरु आइपर्ने,अनावश्यक खर्चको मात्रा बढेर जाने, देखिन्छ । तपाईको लागि असार,मंसीर र फागुन महिना विशेष फलदायी रहनेछन् भने भदौ र पुस महिना केही प्रतिकूल रहने देखिन्छ ।

कुम्भ राशिः
तपाईको लागि यसवर्षका ग्रहस्थितिहरु मध्यमफलदायी रहेकाछन् । वर्षको पूर्वार्धमा स्वास्थ्योपचारमा खर्च गराउने, अध्ययन अध्यापनमा अनावश्यक अवरोधहरु उत्पन्न हुने,घरायसी समस्याहरुले सताउनुका साथै व्यर्थको चिन्ताले समेत पिरोल्ने देखिन्छ । पठनपाठनमा मन्दप्रगतिको योग रहेकोछ । वर्षको मध्यभागमा साथीभाइ एवंं आफन्तको सहयोग पाइने, गर्न आँटेको काममा भाग्यले राम्रै साथ दिने, यात्रा सम्बन्धी अवसर मिल्ने देखिन्छ । आर्थिक दृष्टिले वैशाख,श्रावण र मंसीरमहिना फलदायी रहनेछन् भने आश्विन र माघ महिना कठिन हुनसक्नेछन् ।

मीन राशिः
यस वर्षमा तपाईको जोश जाँगर पराक्रम बढेर जानाले महत्वपूर्ण कामहरुमा सफलता मिल्नेछ । नयाँ कामहरुको अवसर मिल्ने,साथीभाइ एवं आफन्तको सहयोगले महत्वपूर्ण काम बन्ने,सन्तान एवं दाम्पत्य सुखसम्बन्ध राम्रो भएर जानेछ । धर्मकर्मका साथै पठनपाठनमा समेत अभिरुची बढेर जानेछ । कर्मचारीवर्गको लागि मानप्रतिष्ठा वढ्नुका साथै पदोन्नतिको संभावना रहेकोछ । वर्षको उत्तरार्धमा सामान्य आँखा र पेटसम्बन्धी समस्या आइपर्ने देखिएकोछ । रमाइलो ठाउँको यात्रा एवं मनोरञ्जनका अवसरहरु प्रशस्त रहेकाछन् । आर्थिक हिसाबले ,भदौ र माघ महिना विशेष फलदायी रहनेछन् भने कार्तिक र फागुन महिना केही प्रतिकूल रहनेछन् ।

गोरखापत्र अनलाईनबाट

Leave a Reply

Your email address will not be published.