आरुबोटे घटनामा उब्जेका प्रश्नको जवाफ प्रहरीले दिनु पर्दैन?

Hot News विचार

लवदेव ढुंगाना

पाँचथरको टिम्बुरबोटे ९टिम्बुरे० मा सामूहिक हत्या घटना भएको २६ वर्षपछि आरुबोटेमा अर्को डरलाग्दो र रहस्यमयी त्यस्तै अर्को घटना भएको छ । आरुबोटेमा भएको यो घटना टिम्बुरबोटेभन्दा किन पनि फरक छ भने यसमा सुरुदेखि नै प्रहरीको चासो र चिन्ता कम देखिन्छ ।
टिम्बुरबोटे काण्डमा गृहराज्यमन्त्री दिपकप्रकाश बाँस्कोटालाई दोषी देखाएर अपराधीहरु उम्कन खोजेका थिए । परिणाम बाँस्कोटाले हेलिकोप्टरबाट तालिमप्राप्त प्रहरी र कुकुर ल्याई तिनको प्रयोगबाट घटनाका वास्तविक अपराधी पत्ता लगाएरै छोडे । अपराधीहरुले अहिले जन्मकैदको सजायँ भोगेर निजी जीवन बिताउँदै गरे पनि स्थानीय सर्वसाधारणहरु उक्त घटना सम्झिएर आतंकित र भयभित हुने गर्छन् ।
आरुबोटे घटनामा पनि त्यस्तै भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोबाट र प्रदेश सरकारबाट आएका प्रहरी कुुकुरसहित दुई दिनसम्म अनुसन्धान गरी फर्किएका छन् । पछिल्लो समयमा देखिएको प्रहरीको सकृयताले सरकारलाई खोट लगाउने कुनै अवस्था देखिंदैन । प्रहरीकै कमजोरी र लापरवाहीबाट घटेको यो घटनामा राज्यको पूरै शक्ति लाग्दासमेत परिणाम भने ‘हात लाग्यो शून्य’झैं भएको छ । प्रहरीले एक साताअघि भएको सिसा काण्डको राम्रो अनुसन्धान र कार्वाही अगाडि बढाएको भए यत्ति डरलाग्दो र सर्वसाधारण भयभित हुने गरी यो घटना हुने थिएन भनेर सामान्य मानिस जोकोहीले पनि अनुमान गर्न दिमाग खर्च गरिरहनु पर्दैन ।
वास्तवमा, एक साताअघि एउटा कार्यक्रमका सहभागीलाई सिसा मिसिएको खाजा खुवाउने कार्यमा जो सहभागी थियो उसैले यो हत्याकाण्डको योजना बनाएको थियो भन्न सकिन्छ । ससुरा पक्ष र जुवाईं पक्षबीच घरायसी विवाद बढ्दै जाँदा कान्छो जुवाईं मानबहादुर माखिमले नै ससुराली खलक फियाक र शेर्मा परिवारको सामुहिक हत्या गरेर आफूले पनि आत्महत्या गरेको भन्न सहज हुन सक्छ । तर यसबीचमा उठेका प्रश्नहरुले मानबहादुर एक्लै यो घटनाका दोषी हुन भनेर मान्न सकिंदैन । प्रहरीको अनुसन्धान अहिले जुन ढंगले अगाडि बढिरहेको छ, मानबहादुरलाईमात्र अभियुक्त मानेर घटनालाई अनुसन्धान तहकिकात गर्न र अपराधीलाई कार्वाही गर्नबाट उम्कन राज्यको कुनै निकायले मिल्ने अवस्था देखिंदैन ।
तर अनुसन्धानबाट सर्वसाधारण र प्रहरीले सोचेजस्तो नहुन पनि सक्छ । यी सबै कुरालाई आधार बनाएर तेस्रो व्यक्तिले घटना गराएको पनि हुन सक्छ । पारीवारिक विवादमा ज्वाईंले नै अन्य व्यक्तिको प्रयोग गरी हत्यामा संलग्न गराएको पनि हुन सक्छ । प्रहरीको आशंकाझैं एक्लै यो घटना गराएको पनि हुन सक्छ । दुई परिवारलाई हत्या गर्न एक किलोमिटरभन्दा टाढा गएर कसरी एउटै व्यक्तिले नौ, नौ जनालाई हत्या गर्न सक्ला रु घटना मध्यरातमा भएकोले त्यो समयमा एक परिवारलाई हत्या गरी अर्को घरमा पुग्दासम्म यत्ति लामो समयमा उसको मनस्थितिमा कुनै परिवर्तन नहुनु पनि आश्चर्य हो । फेरि घटनास्थलदेखि डेढ किलोमिटर टाढा झुण्डिएको अवस्थामा भेटिएका मानबहादुरको कपडामा हत्याका कुनै प्रमाण नभेटिनु अर्को आश्चर्य भएको छ । के हत्या गरिएका परिवार र मानबहादुरको विवाद भएको र हत्याको सम्पूर्ण अनुसन्धान आत्महत्या गरेका व्यक्तिमाथि केन्द्रीत गर्नुले प्रहरीको दायित्व पूरा होला त रु
माथिका यी कुरालाई मान्नु’स या नमान्नु’स यथार्थ हो । प्रहरीले घटनालाई सामान्यिकरण गर्न खोजेको कसैका सामु छिप्न सक्दैन । यो घटना हुनु अघि २ गते धनराज शेर्माको घरमा भएको सामूहिक हत्याको प्रयासलाई प्रहरीले हल्काफुल्का नलिएको भए वैशाख ६ गते रातिको त्यो कहालिलाग्दो घटनाको कल्पनासम्म हुने थिएन । प्रहरीले पहिले हल्का लियो, त्यसपछि भएको सामुहिक, रहस्यमयी र डरलाग्दो घटनाको छेउसम्म कोट्याउन सकेको छैन् । प्रहरीकै गम्भीर कमजोरी र लापरवाहीकै कारण उसलाई अहिले पहिरो गएकोझैं भएको छ ।
सिसा काण्ड हुनासाथ स्थानीयले रवि प्रहरी र जिल्ला प्रहरीलाई सोको मौखिक र लिखित जानकारी गराएका थिए । तर प्रहरीले न यसलाई गम्भीरतापूर्वक लियो न त कुनै सुनुवाई नै ग¥यो । सामुहिक मार्न खोजिए पनि विरामी ११ जनालाई सदरमुकाममा उपचार गरेर फर्काएपछि प्रहरीको जिम्मेवारी पूरा भएको ठानियो । बेलाबखत कसैलाई नियतवशः फसाउन प्रहरी प्रतिवेदन बनाएर मुद्दा चलाउने गरेको प्रहरीले उल्टो निवेदकले किटानी जाहेरी नल्याएको निहूँमा घटनालाई पेण्डिङमा राख्ने काम भयो । यो घटनाको प्रहरीले नजरअन्दाज गरेकै कारण अर्को गम्भीर र आततायी घटना हुन पुगेको कुरामा प्रहरी मौन छ ।
मुलुकलाई नै शोकमा डुबाउने यो घटना भएपछिमात्र अहिले राज्यको ध्यान र शक्ति यसतर्फ केन्द्रीत भएको छ । गृहप्रशासनको सम्पूर्ण ध्यान अहिले आरुबोटे काण्डमा खिचिएको छ । घटनाको यथार्थता सार्वजनिक गर्न प्रेस जगत उत्तिकै सकृय बनेको छ । राज्यले घटना भएपछि अपराधीको खोजी गर्नुभन्दा घटना हुनै नदिनेतर्फ सोच्नु पर्छ । यो घटना हुनुमा सिसा काण्डलाई सामान्य ठान्ने पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्ती, प्रहरी नायब उपरिक्षक नरेन्द्र कुँवर, प्रहरी निरिक्षक अनिल पौडेल र रविका प्रहरी निरिक्षकसमेतको जिम्मेवारी छ । उनीहरुलाई कार्यक्षेत्रमा जिम्मेवारी ननिभाएवापत सरकारले कडा कार्वाही गर्नु पर्छ । स्थानीयलाई सुरक्षाको प्रत्याभूति गरी दोषी पत्ता लगाएर अपराधीलाई कानुनी कार्वाही गर्ने दायित्व सरकारको हो ।

Leave a Reply

Your email address will not be published.