चियाको खगुणस्तर सुधारको प्रयास

जीवन शैली

प्रेम अधिकारी फिक्कल:
नेपाली चियाको बजार यतिबेला अन्योलमा छ । नेपाली चियाको मुख्य बजार भारतले चिया आयातमा कडाइ गर्ने भएपछि चिया उत्पादक चिन्तित बनेका छन् । अहिले नेपाली चिया उत्पादक वैकल्पिक बजारसँगै गुणस्तर सुधारको खोजीमा लागि परेका छन् ।
भारतले चिया आयातमा व्यवधान ल्याउने भएपछि नेपाली चिया उद्योगी यतिबेला गुणस्तर सुधार गरेर तेस्रो देश निर्यात गर्ने सोचमा छन् । इलामको सूर्योदय नगरपालिका सबैभन्दा बढी चिया उत्पादन हुने क्षेत्र हो । बजारको समस्या देखिएपछि अहिले सूर्योदय नगरपालिकामा दिनहुँजसो चियाबारे बहस हुन थालेको छ । सूर्योदय नगरपालिका, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, सूर्योदय चिया प्रोड्युसर्स एसोसिएसन, चियासँग सम्बन्धित सहकारी संस्था, उद्योगी र किसानका प्रतिनिधिबीच बारम्बार छलफल भइरहेको छ । सूर्योदय नगरपालिकाले चिया समस्या समाधान समिति बनाएको छ र यो समितिले सरोकारवालासँग छलफल गरिरहेको छ । गत वर्षदेखि संचालित नेपाली चियाको दीगो निर्यात अभिवृद्धि परियोजना अन्तरग बोर्डले प्रयोगात्मक रुपबाटै चिया किसानलाई गुणस्तरीय टिपाईबारेको तालिम प्रदान गर्दै आएको छ । जसले गर्दा चियाको गुणस्तर सुधारमा सहज भएको छ ।

विषादी पूर्ण प्रतिबन्ध
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको पहलमा भएको छलफलमा सरोकारवाला विषादी पूर्ण रूपमा नियन्त्रण गरेर अर्गानिक चिया उत्पादन गर्न तयार भएका छन् । विषादीको मात्रा बढी भए निर्यात गर्न नसकिने अवस्था आएपछि कार्यविधि नै बनाएर विषादीको प्रयोग पूर्ण रूपमा हटाउने विषयमा सरोकारवाला सहमत भएका हुन् । अर्गानिक चिया उत्पादन र प्रवद्र्धन गर्दै आएको सुन्दरपानी चिया उत्पादन सहकारी संस्थाका फिल्ड सुपरभाइजर सोनाम यल्मोले चिया बिकेन भनेर अरूलाई दोष दिनुभन्दा आफैँले सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “चियाको बोटबाटै सुधार गर्नुपर्छ, बजारको कुनै अभाव हुँदैन । चियाको बिरुवा रोप्ने, काँटछाँट, विषादी नियन्त्रण, टिपाइ र प्रशोधनमा सुधार गर्न सक्ने हो भने चिया निर्यातमा कुनै समस्या हुँदैन ।”सुन्दरपानीले उत्पादन गरेको चिया अहिले पनि तेस्रो देश निर्यात भइरहेको छ । इलामका अधिकांश चिया किसान विषादी प्रयोगमा सचेत देखिन्छन् तर केही साना किसान भने विषादीको प्रयोगप्रति संवेदनशील छैनन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, चिया विस्तार आयोजनाका प्रमुख इन्द्र अधिकारीले नेपालमा प्रतिबन्ध लगाइएको २४ प्रकारका विषादी भित्रिइरहेको जानकारी दिनुभयो ।

उहाँले एक पटक विषादी प्रयोग गरेपछि २८ देखि ३२ दिनसम्म चिया टिप्न नमिल्ने भए पनि एक सातामै चिया टिप्ने गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विषादी नियन्त्रण गर्न सूर्योदय नगरपालिकाले पहल गर्नुपर्छ, सबैले पहल ग¥यो भने नियन्त्रण गर्न सकिन्छ ।” लुकाइछिपाई केही कडा विषादीको प्रयोग भइरहेको उहाँले दाबी गर्नुभयो । सूर्योदय चिया प्रोड्युसर्स एसोसिएसनका अध्यक्ष उत्तमकुमार प्रधानले चियाका समस्या समाधान गर्न तल्लो स्तरबाट सुधार गर्न थाल्नुपर्ने बताउनुभयो । प्रधानले पूर्ण रूपमा विषादी नियन्त्रण गरे मात्र चियाको बजारमा सुधार आउने बताउनुभयो । उहाँले टोल विकास संस्थामार्फत विषादी नियन्त्रण गर्न चिया किसानसम्म पुग्नुपर्ने बताउनुभयो । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले योजना बनाएर विषादी नियन्त्रणमा सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो । “उद्योगीले स्वघोषणा गरेर गुणस्तरीय चिया मात्र खरिद गर्ने हो भने बजारको समस्या समाधान हुन्छ, चिया बोक्ने सवारीसाधन छुट्टै हुनुपर्छ,” नगरप्रमुख राईले भन्नुभयो । नगरले बनाएको कार्यविधिलाई संशोधन गरेर अगाडि बढे चिया क्षेत्रका समस्या समाधान हुने उहाँको तर्क छ । सूर्याेदय नगरपालिकाले यसअघि नै न्यूनतम समर्थन मूल्यसहितको चिया कार्यविधि लागू गरेको भए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुनसकेको छैन ।

गुणस्तर र मूल्य
अन्तर्राष्ट्रिय मापदण्ड हेरेर नेपाली चियाको गुणस्तर कायम गर्न तीन पात एक सुइरो भएको चिया किसानले उद्योगलाई दिनुपर्ने र त्यस्तो चिया मात्र उद्योगले खरिद गर्ने सरोकारवालाबीच सहमति भएको छ । यसबाट तयार हुने चियाको मूल्य भने सरोकारवाला बसेर निर्धारण गर्ने सहमति भएको छ । सूर्योदय नगरपालिकाले कार्यविधिमा हरियो पत्तीको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ४० रुपियाँ तोकेको थियो ।
सरोकारवालाबीच भारत जाने हरियो पत्ती रोक्ने र एक उद्योगले फिर्ता गरेको चिया अर्को उद्योगले खरिद नगर्ने विषयसमेत सहमति नजिक पुगेको छ । उद्योगले चिया खरिद गर्ने क्षेत्र र उत्पादन क्षमतासमेत निर्धारण गरिने भएको छ ।
मेसिनको विकल्पमा रोजगार
अहिले इलामका धेरै चिया बगानमा हातले चियापत्ती टिपिँदैन । चिया टिप्ने मजदुरको अभावमा चिया टिप्न मेसिन प्रयोग गरिँदै आएको छ । मेसिनको प्रयोगले चियाको टिपाइ छिटो भए पनि गुणस्तर भने खस्किएको छ । डाक्ला र झारसहितको चिया मेसिनले टिप्ने गरेका कारण गुणस्तरमा समस्या भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका सदस्य पुनम बान्तवाले बताउनुभयो ।

मेसिनको प्रयोग रोक्न चिया क्षेत्रमा मौसमी कामदार राख्ने प्रस्ताव गरिएको छ । मौसमी कामदार अन्यत्रबाट ल्याएर चिया टिप्नुपर्ने विषयलाई चाँडै निर्णय गरिने सूर्योदय नगरपालिका चिया समस्या समाधान समितिका संयोजक पेमा उगेन लामाले जानकारी दिनुभयो ।

रोजगार केन्द्र स्थापना गरेर निर्धाण गरिएको मापदण्डमा चिया टिपाएर पारिश्रमिक दिइने गरी रोजगार केन्द्र स्थापना गरिने जनाइएको छ ।

बजार प्रवद्र्धन गर्न जोड
भारतका चियाविज्ञ अभिजित देले नेपाली चियाको गुणस्तर कायम गरी विश्व बजारमा लैजानुपर्ने बताउनुभयो । उहाँले इलाम टी र नर्मल टी गरी दुई प्रकारका चिया उत्पादन गरी इलाम टीको विश्व बजारमा बजारीकरण गर्न सरकारी तवरबाट प्रयास गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “यहाँको हावापानी, वातावरण हेर्दा विश्वले रुचाउने चिया बन्छ तर विषादी नियन्त्रण गरी गुणस्तरीय चिया उत्पादनमा लाग्नुपर्छ ।” अहिलेकै अवस्थाको चिया सरकारले सम्झौता गरे पनि चाइना निर्यात हुँन नसक्ने चिया उद्योगीको भनाइ छ । नेपालका इलाम, झापा, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुरलगायत जिल्लाका २८ हजार पाँच सय हेक्टरमा चियाखेती गरिँदै आएको छ । झापामा वार्षिक २० हजार मेट्रिक टन सीटीसी र इलामसहित अन्य जिल्लामा सात हजार मेट्रिक टन अर्थोडक्स चिया उत्पादन हुँदै आएको छ । यसबाट वार्षिक चार अर्ब रुपियाँ विदेशी मुद्रा नेपाल भित्रिइरहेको चिया विस्तार आयोजना फिक्कलका प्रमुख इन्द्र अधिकारीले जानकारी दिनुभयो । नेपालका चिया उद्योगमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published.