माईजोगमाईको थुम्केडाँडामा केसरको उत्पादन

माईजोगमाईको थुम्केडाँडामा केसरको उत्पादन

विजयशेखर भट्टराई माईजोगमाई :

प्रतिकिलो दश लाख रुपैयाँसम्म मूल्य पर्ने केशर नामको जडिबुट्टी इलाममा पनि उत्पादन हुन थालेको छ । माईजोगमाई गाउँपालिका ६ प्याङको थुम्केडाँडा र जौबारी क्षेत्रमा स्थानीय जौबारी मल्टी पर्पोज एग्रीकल्चर एण्ड इन्भाइरोमेण्ट सेण्टरले केशरको खेती शुरु गरेको हो । यही असोज २७ गते सोमबार गाउँपालिकाका प्रमुख जीतबहादुर राईसहित उक्त संस्थाका प्रतिनिधीले पहिलो पटक उत्पादित केशरको फूल टिपेका छन् ।
यो उचाईमा हुन्छ अथवा हँुदैन भन्ने अन्यौलका बीच सफल भई उत्पादन शुरु गरेको संस्थाका टुण्डु शेर्पाले बताए । उनले परीक्षणका लागि भारतको कास्मीरबाट दुई मन केशरको बीउ ल्याएर थुम्के र जौबारीमा लगाएको जानकारी दिए । संस्थाले खरिद गरेको ६९ रोपनी जमिनमा नै उच्च मूल्यका जडिबुट्टी र जडिबुट्टीको बीउ उत्पादन गरि भविश्यमा बिक्री वितरण गर्ने लक्ष्य रहेको उनको भनाई थियो ।
पहिलो पटक उच्च मूल्ययुक्त जडिबुटी केशरको फूल टिप्न पाएकोमा गाउँ प्रमुख जीतबहादुर राईले खुशी ब्यक्त गरे । परीक्षणमै आशलाग्दो नतिजा आएको भन्दै उनले प्रदेश १ मै पहिलो पटक आफ्नो गाउँमा केशरको व्यावसायिक खेती शुरुवात भएको दाबी गरे । उनले कृषि पर्यटन र स्थानीयको आयआर्जन भई सम्बृद्धिको ढोका खुल्ने विश्वास ब्यक्त गरे । थुम्के क्षेत्र आफैँमा पर्यटकीय क्षेत्र भएकाले यहाँ आउने पर्यटकको लागि केशर खेती आकर्षण बन्ने उनको भनाई थियो ।
थोरै मात्रामा हिउँ पर्ने र तुषारो पर्ने १५०० देखि २५०० मिटरको उचाई केशर खेतीका लागि उपयुक्त मानिन्छ । असोज महिनामा यो बाली लगाएर कार्तिक मङ्सिरमा उत्पादन लिने गरेको पाइन्छ । नेपालमा यसको उत्पादन गुणस्तरीय भएको र पहिलो पटकको आफ्नो उत्पादन आशलाग्दो भएको संस्थाका अध्यक्ष बीरबहादुर कटुवालले बताए । उनले जति चेप्टो र लामो साइजमा फूलको लुर्का भयो त्यति बढि मूल्य पर्ने र यसको सुगन्धले समेत प्रभाव पार्ने बताए । कम्तिमा प्रतिकिलो छ लाख रुपैयाँसम्ममा केशर बिक्री भएको उनले बताए ।
विश्वकै महङ्गो खेती केशर उत्पादनका लागि धेरै फूलको आवश्यकता पर्दछ । फूल भित्रको रातो लुर्का सङ्कलन गरि सुकाएर विक्रि गर्ने गरिन्छ । एउटा फूलमा दशदेखि १५ मिलिग्राम केशर प्राप्त हुन्छ । करिब डेढ लाख फूलबाट मात्र एक किलो केशर प्राप्त हुने गर्दछ ।
अङ्ग्रेजीमा स्याफरोन भनेर चिनिने केशर खेती युरोपबाट शुरु भएको इतिहास पाइन्छ । नेपालमा भने २०१९ सालमा टीस्टुङमा परीक्षणका लागि खेती लगाइएको थियो । नेपालमा हाल वार्षिक सात देखि १० किलोसम्म केशर उत्पादन हुने गरेको अनुमान छ ।
लामा पुजारीहरुले पञ्चामृत बनाउँदा अनिवार्य केशर हाल्ने गरेको पाइन्छ । यस्तै गर्भवती महिलालाई केशर खुवाउँदा बच्चाको बृद्धि विकास हुने बताइन्छ । यसले नशा बलियो बनाउने, दुखाई कम गर्ने, कलेजो मुटु लगायतका रोगमा उपयोगी हुनुका साथै अनुहार चम्किलो बनाउनसमेत प्रयोग गर्ने गरिएको छ । परम्परागत रूपमा गरिने खेती प्रविधि भन्दा यस्ता बहुमूल्य उपयोगी जडिबुट्टी उत्पादन गरेमा यसबाट पर्याप्त आयआर्जन हुनुका साथै कृषि पर्यटन क्षेत्रमासमेत सघाउ पुग्ने देखिएको छ ।