सूर्योदयमा पर्यटन महोत्सव हुने

Mukya Samachar


रोहितचन्द्र भट्टराई, सूर्योदय : ‘पर्यटकीय नगरी’को रूपमा विकास गरिँदै गरेको सूर्योदय नगरपालिकामा आगामी मङ्सिर १४ गतेदेखि पाँच दिने सूर्योदय नगर पर्यटन महोत्सव २०७६ सञ्चालन गरिने भएको छ । महोत्सव सञ्चालनका लागि नगर उपप्रमुख दुर्गादेवी भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय सूर्योदय नगर पर्यटन महोत्सव आयोजक मूल समिति गठन गरिएको छ ।
मूल समितिले महोत्सवको तयारीका लागि काम थालिसकेको उपप्रमुख भट्टराईले सन्दकपुरलाई जानकारी दिइन् । उनका अनुसार सम्बन्धित वडाहरूको पर्यटकीय विशेषताअनुसार सम्बन्धित स्थानमै विभिन्न उपसमितिहरू गठन हुने क्रममा छन् । त्यस्तै मूल समितिले महोत्सवका कार्यक्रम तय गर्ने, खर्च तथा आम्दानीको अनुमानित विवरण तयार गर्ने जस्ता काम पनि गरिरहेको छ । तत्कालै महोत्सवका कार्यक्रम र यसको अनुमानित खर्च सार्वजनिक गरिने पनि भट्टराईको भनाई थियो ।
महोत्सवका लागि यहाँको नगर कार्यपालिकाबाट २५ लाख रुपैयाँ खर्च गर्ने निर्णय भएको छ । उक्त रकमबाहेक आवश्यक पर्ने रकम संघीय सरकार, प्रदेश सरकार, नेपाल पर्यटन बोर्ड तथा सम्बन्धित अन्य निकायहरूमा मागसहितको प्रस्ताव पेश गर्ने नगरपालिकाका प्रवक्ता वीरबहादुर लाप्चाले जानकारी दिए । उनका अनुसार महोत्सवका पाँच दिनमा विभिन्न स्थानमा अलगअलग विशेष कार्यक्रमहरू सम्पन्न हुनेछन् ।
सूर्योदय नगरपालिकामै पर्ने सूर्योदयको दृश्यावलोकनका लागि नेपालकै चर्चित स्थल वडा नम्बर ४ र ५ स्थित अन्तुडाँडा र परिसरमा महोत्सवको पहिलो दिन विशेष कार्यक्रम गरिने भएको छ । अरु दिन चर्चित पर्यटकीय स्थल वडा नम्बर ७ को कन्याम चियाबगान, वडा नम्बर २ र ३ को पशुपतिनगर, वडा नम्बर १ को गोर्खे, १० को फिक्कल, ११ को करफोक, १३ र १४ को लक्ष्मीपुर जस्ता स्थानमा विशेष कार्यक्रमहरू सञ्चालन गरिने उपप्रमुख भट्टराईले जानकारी दिइन् ।
महोत्सवमा स्वदेशी आन्तरिक पर्यटकसँगसँगै भारतीय पर्यटकको बढी आगमन हुने अपेक्षा राखिएको पनि आयोजक समितिले जनाएको छ । उपप्रमुख भट्टराईले भनिन्, ‘यो सूर्योदय दृश्यावलोकनको समय ९सिजन० हो । यसअघिका वर्षहरूमा पनि यो समयमा यहाँ धेरै आन्तरिक र भारतीय पर्यटकक आउने गरेका थिए । यो महोत्सवमा पर्यटकको आगमन अझ बढ्ने अपेक्षा गरिएको छ ।’ महोत्सवको माध्यमबाट सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरीको रूपमा चिनाउन प्रयास गरिएको उनले बताइन् ।
धेरैवटा पर्यटकीय स्थलहरू रहेको सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा बाह«ै महिना पर्यटकको घुइँचो लाग्ने गरेको छ । कन्याममा चियाबारीको सौन्दर्य सँगसँगै चिसो मौसम र वरिपरिको हरियालीको दृश्यावलोकन गर्न तराई तथा अन्य जिल्लाका र भारतीय पर्यटकहरू आउँछन् । यहाँ दिनहुँ पर्यटकको घुइँचो लाग्ने भएकाले घोडचडी, साँस्कृतिक पहिरन लगाएर तस्विर खिचाउने, साँस्कृतिक खानेकुरा खुवाउने जस्ता ब्यवसायसँगसँगै सयौँ चिया र खाजा पसलहरूको ब्यवसाय पनि फस्टाएको छ ।
अन्तुमा पनि पर्यटकको बाक्लो उपस्थितिले त्यहाँका स्थानीय बासिन्दाले घरघरमा घरबास ९होमस्टे० सञ्चालन गरेका छन् । अहिले अन्तुमा दर्ता भएका र नयाँ गरि ५६ वटा घरमा होमस्टे सञ्चालन भइरहेको अन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आलेले बताए । ती होमस्टेहरूमा पर्यटकलाई स्थानीय परिकार खुवाउने गरिएको उनको भनाई छ । अघिल्लो दिन अन्तु पुगेका पर्यटक रातमा होमस्टेमा बसेर बिहान अन्तुडाँडाबाट सूर्योदयको अवलोकन गर्न पुग्छन् ।
त्यसपछि अन्तुडाँडाबाट देखिने भारतीय बजारहरू सिलिगुडी, खर्साङ, मिरिक लगायत नेपालका विभिन्न भागको रमणीय अवलोकनसँगसँगै रमणीय चियाबारीको बीचमा अवस्थित अन्तु पोखरी पुगेर डुङ्गा सयर गर्छन् । डुङ्गा सयरसँगसँगै अन्तुका रमणीय स्थलहरू घुमेर दोस्रो दिन पर्यटकहरू फर्किने गरेका छन् । अन्तुडाँडाबाट कात्तिक र मङ्सिर महिनामा सबैभन्दा राम्रो गरि सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ ।
सूर्योदय नगरपालिकामै गोर्खे, पशुपतिनगर, करफोक, लक्ष्मीपुर जस्ता स्थानमा पर्यटकीय स्थलहरू रहेका छन् । महोत्सवमा सबै पर्यटकीय स्थलहरूमा कार्यक्रम सञ्चालन गरि पर्यटकलाई पु¥याइने बताइएको सन्दकपुर अनलाईनले खबर छापेको छ ।

Leave a Reply

Your email address will not be published.