मुख्यमन्त्री राईको आश्वासनपछि विराटनगर बन्द फिर्ता

समाचार

विराटनगर: प्रदेश राजधानी विकेन्द्रित गर्ने गरी प्रदेशसभामा प्रस्ताव दर्ता भएको विरोधमा आह्वान गरिएको विराटनगर बन्द मुख्यमन्त्री शेरधन राईको आश्वासनपछि फिर्ता भएको छ ।सोमबार दिउँसो भएको सर्वपक्षीय वार्तामा मुख्यमन्त्री राईले राजधानी विराटनगरमा नै रहने र कार्यपालिका र व्यवस्थापिकाको संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता भएको हो ।

वार्तामा सहभागी विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदेश राजधानी विराटनगरमा नै रहने र व्यवस्थापिका र कार्यपालिकाका संरचना पनि विराटनगर भन्दा बाहिर नलैजाने मुख्यमन्त्री र प्रदेश सांसदहरुको प्रतिवद्धतापछि सोमबार दिउँसो ४ बजेपछि बन्द फिर्ता गर्ने सहमति भएको जानकारी दिए ।उनले साँझ दिपावली गर्न विराटनगरबासीलाई आहृवानसमेत गरेका छन् ।

आइतबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलले प्रदेश १ को राजधानी विराटनगरमा राख्ने निर्णय गर्दै कार्यपालिका र व्यवस्थापिकाको संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासको क्षेत्रमा संरचना निर्माण गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री राई र सांसदहरुले संसदमा राजधानीको विषयमा दर्ता भएको प्रस्तावमाथि परेका संशोधन प्रस्तावहरु पनि फिर्ता लिएको लिने प्रतिवद्धता जनाएका मेयर पराजुलीले बताए ।

Leave a Reply

Your email address will not be published.