इलामको मरब क्याम्पसमा भाँडभैलो

इलामको मरब क्याम्पसमा भाँडभैलो


इलाम, असोज : कहिले बिद्यार्थी संगठन त कहिले कर्मचारी आन्दोलनले चर्चा कमाउने इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पस हाल अलि फरक विषयले चर्चामा चुलिएको छ । हाल क्याम्पस प्रमुखको राजीनामा माग्ने, क्याम्पसका विषयमा सञ्चारमाध्यमहरूमा आएका समाचारको खण्डन र क्याम्पस प्रमुख रामप्रसाद गुरगाइँलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सदस्यताबाट निलम्बन गरेपछि पुन चर्चा चुलिएको हो ।
कहिले नेपाल कम्यूनिष्ट पार्टीको कार्यालयमा क्याम्पस प्रमुखलाई बोलाएर केरकार गरिन्छ त कहिले नेकपाका नेताहरू फोन गरेर नै क्याम्पस प्रमुखलाई राजीनामा गर्न दबाब दिने गरेका छन् । समाचारको खण्डन गर्न कहिले प्रेस विज्ञप्ति लेख्न लगाइन्छ त कहिले प्रमुख पार्टी सदस्यता निलम्बन गर्दै बक्तब्य जारी गर्दछ ।
भित्रभित्रै ठुलै राजनिति हुन्छ तर बाहिर धेरै कुरा आउँदैन । तर खास कुरा बताउने श्रोत पनि आफ्नो नाम बाहिर ल्याउन चाहाँदैन, बिरोध भने उसैगरी गरिरहन्छ । पत्रकारहरुले पनि सवैकुरा बाहिर नल्याएको भन्दै धेरै कुरा बताए पनि आफ्नो नाम सार्वजनिक नहोस भन्ने प्राध्यापक, कर्मचारी र नेकपाकै नेताहरु छन् ।
नेकपा (तत्कालीन नेकपा एमाले) कै सिफारिसमा क्याम्पस प्रमुख बनेका राम गुरागाईको नाम, उनले गरेको काम अनी उनले नेकपाले नै भनेमो नमान्दा धेरै घटनाहरुको जन्म भएको सोझौ अनुमान लगाउन सकिन्छ । क्याम्पसको सञ्चालक समितिमा पनि नेकपाकै नेताहरूको बाहुल्यता छ । यस्तो अवस्थामा क्याम्पस प्रमुख गुरागाईले स्वतन्त्र रुपमा क्याम्पस सञ्चालन गर्ने भन्दा पनि पार्टी र ती नेताहरूले भनेका कामहरू मात्र गर्ने हो भन्ने बुझाई नेताहरूको रहेकाले विवाद बढ्दै गएको देखिन्छ । सञ्चालक समितिबाट हाल मात्र कांग्रेसका दुईजना छन् । उनीहरुको भूमिका त्यहाँ बिक्ने कुरै भएन । तत्कालिन माओवादीको भागमा पनि दुइ सदस्य राखिएको थियो हाल माओवादी पनि नेकपामा नै गाभिएको छ ।
त्यतिमात्र होइन, त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमध्ये मरब क्याम्पसको प्रमुख र समितिमा तत्कालीन एमालेको भाग परेको भन्ने मान्यताले पनि यो क्याम्पसमा नेकपाका नेताहरू हाबी हुन खोजिरहेका छन् । यतिसम्म कि उनीहरू आप्mनो निजी स्वार्थअनुरुप नै क्याम्पसका गतिविधी सञ्चालन हुनुपर्ने सोचमा देखिन्छन् ।
यही कारण नेताहरू कोही आप्mनो परिवारका सदस्यलाई जागिर खुवाउन उद्यत छन् भने कोही आफन्तका नामका जग्गा क्याम्पसलाई किनाउन मरिहत्ते गर्दैछन् । उनीहरूले ती स्वार्थ पूरा नहुँदै गर्दा भनेको मान्ने ब्यक्तिलाई क्याम्पस प्रमुखका लागि अगाडि सार्न थालेका छन् ।
यी सब घटना दुईवर्ष अर्थात् राम गुरागाई क्याम्पस प्रमुख भएताकादेखि घट्दै आएका हुन् । क्याम्पसले सञ्चालन गरेको बागबानी कृषि सङ्कायका लागि आवश्यक पर्ने बढीमा ३० रोपनी जग्गा दुई वर्ष अघि नै खरिद गर्ने योजना बनाइएको थियो । त्यसका लागि डिल्लीप्रसाद दुवाडीको अध्यक्षतामा शिक्षकहरू श्यामप्रसाद फुएल र योगेन्द्रमान श्रेष्ठ सदस्य रहेको जग्गा छनौट समिति नै बनाएर जग्गा हेर्ने काम भएको थियो ।


उक्त समितिले क्याम्पसका लागि इलाम नपा ९ (साविक इलाम नपा ४) सेरा बेँसीको पुछारमा एउटा खेत हेरेको थियो । त्यो खेत देखाएको पनि नेकपाकै एक नेताले हो । उनले आप्mनो परिवारका सदस्यबाट नगद ऋण लिएका ब्यक्तिको नाममा रहेको त्यो जग्गा देखाएर ‘ऋण पनि उठ्ने, क्याम्पसलाई जग्गा पनि हुने’ सुझावसहित जग्गा छनौट समितिलाई उक्त जग्गा हेरेर खरिद गर्न त्यसबेला सुझाव दिएको समितिका अध्यक्ष दुवाडीले बताए ।

खरिद गर्न लागिएको जग्गाको नक्सा


ऋण उठाउने नै स्वार्थले देखाएको भए पनि उक्त जग्गा समितिले हेरेर प्रतिरोपनी दुई देखि अढाई लाख रुपैयाँका दरले किन्न सक्नेगरि छलफल गरिएको पनि दुवाडीको भनाई छ । यसको पुष्टि क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुँवरले पनि गरेका छन् । ‘त्यतिबेला दुईदेखि अढाई लाखमा त्यो जग्गा खरिद गर्न सकिने छलफल भएको थियो’, कुवँरले भने ।
२०७४ फागुनमा समितिले एक पटक जग्गा हेरेर जग्गाधनीसँग कुराकानी गरेर केही दिनपछि पुनः जग्गाधनीसँग अन्तिम कुराकानी गर्न त्यहाँ पुग्दा अघिल्लो दिन नै जग्गाको स्वामित्व अन्तै पुगिसकेको जग्गाधनीले बताएपछि समितिका सदस्यहरू त्यसै फर्किएका थिए ।
क्याम्पसले लगभग जग्गा किन्ने निधो भइसकेपछि त्यो जग्गा देखाउने नेताले नै मान्छे लगाएर जग्गाधनीलाई ऋण तत्काल तिर्न वा आपूmले भनेकै दाममा जग्गा पास गरिदिन दबाब दिएका थिए । यो दबाब थेग्न नसकेका ऋणी ती जग्गाधनीले उनीहरूले भनेकै मिति (२०७४ फागुन २२ गते)मा प्रतिरोपनी तीन लाख रुपैयाँका दरले ऋणबाहेकको रकम पछि प्राप्त हुने सर्तमा १४ रोपनी ९ आना १ पैसा १ दाम क्षेत्रफल भएको दुई कित्ता जग्गा राधिका चौहानका नाममा नामसारी गरिदिएका थिए ।


त्यसपछि त्यही जग्गा खरिद गरेको भन्दा दोब्बर रुपैयाँ प्रतिरोपनीका दरले क्याम्पसले खरिद गर्नुपर्ने शर्त उनै नेताले क्याम्पस प्रमुखसँग पटकपटक राखिसकेका छन् । पटकपटक भन्दा पनि क्याम्पस प्रमुखले जग्गा खरिद गर्ने प्रक्रिया नथालिदिँदा क्याम्पस सञ्चालक समितिमा समेत रहेका तीनै नेताको शक्तिले क्याम्पस प्रमुखलाई सदस्यताबाट निलम्बन गरेको हो ।
ती नेता इलाम नगरपालिकाका प्रमुख तथा तत्कालीन नेकपा एमालेका जिल्ला सचिव महेश बस्नेत हुन् । उनले सो जग्गा क्याम्पसले खरिद गरेको खण्डमा अहिले भएको कच्ची मोटरेबल बाटोलाई नगरपालिकाबाट चालु आर्थिक वर्षमा ग्राबेल गरिदिने र आगामी आवमा कालोपत्रे गरिदिने आश्वासन पनि छनौट समिति र क्याम्पस प्रमुखलाई दिएको स्रोत बताउँछ ।


त्यस्तै क्याम्पस प्रमुखले नेकपाकै एक नेताको परिवारको सदस्यलाई करार शिक्षकका लागि नियुक्ति नगरेको कारण पनि गुरागाईले अहिलेका प्रहार खेप्नु परेको हो । गुरागाई क्याम्पस प्रमुख भएकै बेलादेखि सञ्चालक समितिमा समेत रहेकी नेकपाकी प्रदेश सदस्य टीकादेवी घिमिरेले आप्mनो छोरालाई नियुक्ति गर्न विभिन्न ढङ्गले दबाब दिएकी थिइन् । तर उनका छोराले मरब क्याम्पसमा सञ्चालन भएका सङ्कायहरूमध्ये कुनै सङ्कायसँग मिल्ने विषय अध्ययन नै नगरेको हुँदा क्याम्पस प्रमुखले उनलाई नियुक्त गर्न सकेनन् । ‘जे भएपनि नियुक्ति दिनुपर्ने, पछि देखा जाएगा’ भन्ने घिमिरेको दबाब क्याम्पस प्रमुखले नमानेपछि गुरागाई र नेताहरूको दूरी झन् बढेको हो ।
नेकपाका अर्का एक युवा नेताले क्याम्पसको लेखा फाँटमा आप्mनी श्रीमतीलाई नियुक्त गर्न निकै ठूलो पावर लगाएर जोडबल गरेका थिए । त्यसलाई पनि क्याम्पस प्रखुलले गैरकानुनी भन्दै प्राथमिकता दिएनन् । यसले गुरागाईको राजीनामा माग्ने काममा नेताहरूलाई थप बल पु¥याएको मात्र होइन, उनै युवा नेताको संलग्नतामा गुरागाईको पार्टी सदस्यता निलम्बनको निर्णय भएको छ ।
यति मात्र होइन । क्याम्पसमै कार्यरत कतिपय शिक्षकहरूले लगाउने गरेको कतिपय निराधार आरोपले पनि बर्तमान क्याम्पस प्रमुखमाथि राजीनामाको दबाब सिर्जना गरेको छ । उनीहरू गुरागाईले क्याम्पस सञ्चालन गर्न नसकेको तर्क अघि सार्ने गर्छन् । गुरागाईकै कार्यकालमा क्याम्पसमा विद्यार्थी घटेको, क्यूएए (क्याम्पसले पाएको अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता) नवीकरण नहुने अवस्था रहेको, बागबानी बन्द हुने अवस्थामा पुगेको जस्ता आरोप उनीहरूले लगाउने गरेका छन् ।
जबकि देशब्यापी रूपमै सरकारी क्याम्पसमा विद्यार्थी घटेको अवस्था छ भने क्यूएए नवीकरण अभैm दुई वर्षपछिमात्र हुने भएकाले त्यसको तयारीका लागि क्याम्पसलाई पुग्दो समय छ । बागवानी विषयमा विद्यार्थी अहिलेसम्म नघटेको क्याम्पसको अभिलेखले देखाएको छ ।
मरब क्याम्पसमा चालु शैक्षिक बर्षको नयाँ भर्ना स्नातक तहमा मात्र साढे पाँच सयको हाराहारीमा छ । बीबीएसमा एकसय उन्चालीस, बीएमा एकसय बयासी, बीएडमा एकसय पचासी जना विद्यार्थी प्रथम बर्षमा भर्ना भएका छन् । बागबानी सङ्काय पढ्नेको सङ्ख्या यो भन्दा छुट्टै हो । अहिले क्याम्पसमा सबै विद्यार्थीको सङ्ख्या तीन हजारको हाराहारीमा रहेको क्याम्पसको अभिलेखमा छ ।
त्यसैले यी आरोप बाहिर देखाउनका लागि मात्र लगाइएको प्रष्ट छ । यी र यस्ता विभिन्न ब्यक्तिका निजी स्वार्थहरू पूरा गर्न नसकेका बर्तमान क्याम्पस प्रमुख गुरागाई अहिले पार्टी र नेताहरूबाट प्रहार खेपिरहेका छन् ।

क्याम्पसले खरिद गर्नुपर्ने भनिएको जग्गा दुई कित्ता अलगअलग छ । त्यो दुई कित्ता एक आपसमा जोडिएका छैनन् । ती दुई कित्तालाई चिरेको बीचमा अरु नै दुई कित्ता जग्गा छ । क्याम्पसलाई प्रस्ताव गरिएको दुई कित्तामध्ये एउटाले मात्र त्यहाँ खनिएको कच्ची मोटरेबल बाटोलाई छुन्छ ।
अनि क्याम्पसलाई २५ देखि ३० रोपनीसम्म चाहिने भनिए पनि अलगअलग रहेका ती जग्गाको जम्मा क्षेत्रफल साढे चौध रोपनी मात्र छ । त्यसैले यो जग्गा क्याम्पसको आवश्यकतासँग मेल खाने देखिँदैन ।
त्यतिमात्र होइन । माईखोला छेऊ कुँडुले भन्ने ठाउँ, त्यहीँ नजिक गुनमुने, सूर्योदय नगरपालिकाको करफोक जस्ता ठाउँमा क्याम्पसका नाममा प्रसस्त जग्गा रहेको छ । अहिले प्रस्तावित जग्गामा पुग्ने कच्ची बाटो प्रयोग गर्नु र जग्गा पनि नमिलेको, क्षेत्रफल अपुग हुँदै गर्दा त्यो भन्दा अहिले क्याम्पसका नाममा भएकै जग्गा उपयुक्त हुनसक्ने क्याम्पसका शिक्षकहरूको तर्क छ ।