पौने तीन करोडको ठेक्का सूचना ९५ प्रतिशत घटाएर १६ लाखमा झारियो

समाचार


इलाम: सुन्दा अचम्म लाग्ला । एक स्थानीय तहको तीन करोड २० लाखको ठेक्का अङ्क तोकिएको बोलपत्र आह्वानको सूचनाको ठेक्का अङ्क १६ लाखमा झारिएको खबर अपत्यारिलो पनि हुनसक्छ । तर यस्तै भएको छ इलामको माई नगरपालिकामा । चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि माई नगरपालिकाको मुख्य आन्तरिक आम्दानीको स्रोतको रूपमा रहेको दहत्तर बहत्तरको ठेक्का लाग्न नसकेपछि बाध्य भएर नगरपालिकाले ठेक्का लगाउनकै लागि मात्र पनि स्वात्तै ठेक्का अङ्क घटाएर बोलपत्र आह्वान गरेको छ ।
चालु आर्थिक वर्षमा लगाउनु पर्ने त्यस्तो ठेक्काको बोलपत्र सूचना गत आर्थिक वर्षकै अन्त्यमा निकालेर आवको शुरुदेखि नै ठेक्का कार्यान्वयन गर्नुपर्नेमा नगरपालिकाले चालु आवको भदौ १४ गतेमात्र एक महिना म्यादसहितको पहिलोपटक दहत्तर बहत्तरको ठेक्काको बोलपत्र सूचना निकालेको थियो । पहिलो सूचनामा कसैले ठेक्का नहालेपछि दोस्रो पटक असोज १५ गते १५ दिनको म्यादमा, असोज २८ र कात्तिक ७ गते सात दिनको म्यादमा सो ठेक्काको पुनः सूचना निकालिएको थियो । तर चारपटक सूचना निकाल्दा पनि ठेक्काको बोलपत्र भर्ने कोही ननिस्किएपछि नगरपालिकाले अहिले शुरु ठेक्का अङ्कको ९५ प्रतिशत घटाएर जम्माजम्मी पाँचौ पटक कात्तिक २७ गते अर्को बोलपत्र सूचना निकालिएको छ ।
आवको शुरुदेखि नै आम्दानी हुनेगरि लगाउनु पर्ने ठेक्का, चार महिना सम्म सूचना निकाल्दा निकाल्दै बितेको छ । पछिल्लोपटक कात्तिक २० गते बसेको माई नगरपालिका कार्यापालिकाको बैठकले ठेक्का अङ्क घटाएर भए पनि सूचना निकाल्ने निर्णय लिएको हो । बैठकमा सदस्यहरुले थोरै रकम अङ्क राखेर बोलपत्र आह्वान गर्दा बढीमा ठेक्का हाल्ने प्रतिष्पर्धा हुने भएकाले धेरै रकममा ठेक्का लाग्न सक्ने मत राखेपछि त्यसैमा बहुमत भएर यस्तो सूचना निकालिएको हो । तर यो मत तर्कसङ्गत नभएको जानकारहरु बताउँछन् । ठेक्का नलाग्नुमा अरु नै कारण भएको हुनसक्ने भन्दै अङ्क घटाउँदैमा न्यायिक नहुने स्थानीय बासिन्दाको तर्क छ ।
गत आर्थिक वर्ष २०७५÷०७६ मा पनि माई नगरपालिकाले दहत्तर बहत्तरको ठेक्का लगाउन सकेको थिएन । गत वर्ष यो ठेक्का नलाग्दा नगरले आन्तरिक रुपमा सञ्चालन गरेका योजनाहरुमा प्रयोग भएको ढुङ्गा, गिटी, बालुवाको कर कार्यालयबाटै योजनाको फछ्र्यौट गर्ने क्रममा सङ्कलन गरेर चित्त बुझाएको थियो । यस्तो योजनाहरुमा प्रयोग भएको दहत्तर बहत्तरको करबाट गत वर्ष ६६ लाख रुपैयाँ आम्दानी भएको नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका लेखाअधिकृत क्षेत्रनाथ शर्माले जानकारी दिए ।
लेखा अधिकृत शर्माका अनुसार यस वर्ष पनि नगरबाट सञ्चालन हुने योजनामा प्रयोग हुने दहत्तर बहत्तरको कर कार्यालयबाटै गतवर्ष जस्तै तरिकाले उठाउने गरि ठेक्का अङ्क घटाएर पछिल्लो पटक सूचना निकालिएको हो । यसबर्ष योजनाबाट पनि गतवर्षभन्दा बढी रकम सङ्कलन हुने दाबी उनको थियो । पछिल्लो पटक निकालिएको सूचनामा नै नगरले सञ्चालन गरेका योजनामा प्रयोग भएकोबाट कर नगरले नै सङ्कलन गर्ने तथा बाहिरी जिल्ला निकासी हुने र निजी प्रयोजनमा जानेको मात्र कर उठाउन ठेक्का लगाइने जनाइएको छ ।
कतिपय जानकारहरुका अनुसार १६ लाखमा पनि ठेक्का लाग्न सक्दैन । माई नगरपालिकाको क्षेत्र ठूलो भएको, यो ठेक्का लिएर कर उठाउन २५ देखि ३० जना जनशक्ति आवश्यक पर्ने, नगरले सञ्चालन गर्ने योजनामा जाने सामानको कर ठेकेदारले उठाउन नपाउने जस्ता कारणले ठेक्का नलाग्ने अनुमान गरिएको हो ।
ठेक्का नलागे पनि अहिले माई नगरपालिकाका खोलाहरुबाट ढुङ्गा, गिटी तथा बालुवा सङ्कलन गरेर निकासी भइरहेको छ । यसरी निकासी भएको सामानको कर हालसम्म नगरले उठाउन सकेको छैन । इलाम जिल्लामा दहत्तर बहत्तरको आम्दानी सबैभन्दा बढी लिनसक्ने सम्भावना भएको स्थानीय तह माई नगरपालिका हो । जिल्लाको सबैभन्दा ठूलो नदी माई यही नगरपालिकाको बीच भागबाट बहन्छ । त्यो बाहेक सानातिना नदीहरु पनि यो नगरपालिकामा थुप्रै छन् । ती नदीहरुबाट सङ्कलन भएको गिटी, बालुवा इलामका विभिन्न स्थानीय तहसँगसँगै झापा, मोरङसम्म लगेर निर्माण कार्यमा प्रयोग गरिने गरेको छ । सन्दकपुर अनलाईनबाट

Leave a Reply

Your email address will not be published.