इलामबाट तराई जोड्ने द्रुत मार्ग सञ्चालनमा

समाचार


इलाम: इलाम सदरमुकामसँग तराई झापा जोड्ने द्रुतमार्ग सञ्चालनमा आएको छ । इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने सडक सञ्चालनमा आएको हो ।यस सडकमा केही समय अगाडिदेखि साना सवारी सञ्चालन हुँदै आए पनि बस सेवा शुरु भएपछि सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् ।

स्थानीय पदम योङ्हाङले पहिलापहिला झापा पुग्दा भोगेको दुःख स्मरण गर्दै अब बिहान तराई पुगेर बेलुका नभई फिर्न सकिने बताउनुभयो । उहाँ मात्र हैन सो क्षेत्रका धेरै स्थानीयवासीको लामो समयदेखिको प्रतीक्षा र धैर्य सफलरूपमा परिणत भएको छ ।

यस सडक इलाम नगरपालिकाको भञ्ज्याङ हुँदै पुवाखोला–सोयाक, राकसे–बेलाँसे, चिसापानी–दानाबारी हुँदै झापाको विर्तामोड पुग्न सकिन्छ । मेची राजमार्ग प्रयोग गर्दा इलामबाट फिक्कल हुँदै चारआलीबाट ८६ किमि लामो यात्रा पार गर्नु पर्दछ तर द्रुत मार्गबाट ४२ किलोमिटर दूरीमा झापाको विर्तामोड पुग्न सकिन्छ ।

यस सडकमा बस सेवा शुरु भएपछि स्थानीयवासी जति हर्षित छन्, कच्ची सडक भएकाले उति नै निरास पनि छन् । सडकमा कालोपत्रे नभइञ्जेलसम्म यसको भविष्य अन्योल नै रहने भन्दै सडकलाई कालोपत्रे गर्न आवश्यक रहेको स्थानीयवासीको भनाइ छ । उनीहरूका अनुसार सडकको अवस्था सुधार गर्न इलाम नगरपालिका लाग्ने हो भने इलाम सदरमुकाममा समेत चहलपहल बढ्ने छ ।

इलामबाट तराई जोड्न हाल मेची राजमार्ग बाहेक, गाग्रेभञ्ज्याङ, जितपुर दानावारी सडक र इलाम माइखोला हुँदै चिसापानी, दानावारीबाट विर्तामोड पुग्ने सडक सञ्चालनमा छन् । मङ्गलबारे र इलामबाट भएका अन्य सडकसमेत चिसापानी र दानाबारीबाट भेट्टिने भएकाले पनि यस सडकमा हाल बाक्लोरूपमा सवारी सञ्चालन हुँदै आएका छन् ।सजिलोबाट

Leave a Reply

Your email address will not be published.