इलामको पुरानो विद्यालय आदर्श मावि अब स्मार्ट स्कूल

शिक्षा समाज

सविता पाण्डे, इलाम:

इलाम सदरमुकाममा रहेको आदर्श माध्यमिक विद्यालयलाई स्मार्ट स्कूलको रुपमा विकास गरिएको छ । सूचना प्रविधिको प्रयोग गर्दै डिजिटल माध्यमवाट शिक्षा प्रदान गर्ने उद्देश्यले राणाशासन कालमा नै स्थापना गरिएको यो विद्यालयलाई स्मार्ट स्कुलको रुपमा विकास गरिएको हो ।
विद्यालयलाई आधुनिक र डिजिटल मैत्री बनाउने कार्यको सुरुवात संविधान सभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङले शुक्रबार एक कार्यक्रमका बीच गर्नुभयो । नेम्वाङले,‘आफू पढ्दा विद्यालय पोशाक लगाएर जान पाए कस्तो हुन्थ्यो होला भन्ने लाग्थ्यो’ विद्यालयका बारेमा पुरानो कुरा सम्झदै नेम्वाङले भन्नु भयो ‘अहिले प्रदेश मध्येकै पहिलो आधुनिक विद्यालयको रुपमा देख्न पाउदा धेरै खुसी छु ।’

पूर्व प्रधानमन्त्री झलनाथ खनाल र आफूले यो विद्यालयमा पढेको र कांग्रेस नेता कुलवहादुर गुरुङले अध्यापन समेत गराएको नेम्वाङले स्मरण गर्नुभयो ।
सूचना प्रबिधि विभागका महानिर्देशक लक्ष्मीप्रसाद यादवले प्रतिनिधि सभाका हरेक निर्वाचन क्षेत्रमा १÷१ वटा यस्ता विद्यालयलाई स्मार्ट स्कुलको रुपमा अपग्रेड गरिने जानकारी दिनुभयो ।

स्मार्ट स्कुलमा गइसकेपछि अब विद्यालयका हरेक कक्षामा चक डस्टरसहित मार्करले लेख्नु पर्ने दिनको अन्त्य भएको छ । विद्यार्थीले स्मार्टबोर्ड मार्फत चाहेको कुरा सिक्ने छन् भने भने अत्याधुनिक सूचना– प्रविधिको अधिकतम प्रयोग गर्नेछन् ।
यो विद्यालय सूचना प्रविधि मैत्री बन्नुमा सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय र प्रदेश सरकारको सहयोग रहेको छ । सूचना मन्त्रालयले विद्यालयलाई ७० लाख
रुपैयाँ बराबरका कम्पुटर, स्मार्ट वाइटवोर्ड, प्रोजेक्टर, साउण्ड सिस्टम, नेटवर्क क्यामेरालगायत २० प्रकारका सामाग्री प्रदान गरेको हो । त्यस्तै प्रदेश सरकारवाट करिव २० लाख रुपैयाँ बराबरका कम्प्युटर, सिसी क्यामेरा, एलइडी टिभीलगायतका सामाग्री प्रदान गरिएको छ ।
१ देखि १२ कक्षासम्म सञ्चालित यो विद्यालयमा १ हजार ७ सय ६१ जना विद्यार्थी छन् । अङ्ग्रेजी माध्यममा समेत पठनपाठन सुरु गरेको विद्यालयमा विद्यार्थी संख्या थपिदै गएको अवस्थामा सूचना प्रविधिको उपयोगले विद्यार्थीको चाप थप बढ्न सक्ने विद्यालयले जनाएको छ ।
डिजिटल सामाग्री नियमित मर्मत सम्भार, विद्युत अनियमितता, इन्टरनेट भरपर्दो नहुनु, दक्ष जनशक्तिको अभाव जस्ता समस्याले निरन्तरताकालागि चूनौती देखिएको छ ।रेडियो नेपालको अनलाईनबाट

Leave a Reply

Your email address will not be published.