आयुर्वेदिक औषधि: गुणस्तरमा कम काम, जनतामा भ्रम

स्वास्थ्य/शिक्षा


कल्पना पौडेल,काठमाडौं- आयुर्वेदिक औषधि खाँदा हानि गर्दैन भन्ने विश्वास धेरैलाई छ। पुरानो उपचार पद्धति भएकाले पनि आयुर्वेदप्रतिको जनविश्वास घटेको छैन। तर, कुनै पनि स्वास्थ्य समस्या हुँदा भने–सुनेकै भरमा आयुर्वेदिक औषधि प्रयोग गर्नेको पनि कमी छैन। कतिपयले रेडियो–टिभीमा विज्ञापन हेरेकै भरमा औषधि प्रयोग गरिरहेको पनि देखिन्छ।

एलोपेथिक औषधिको बढ्दो लोकप्रियतासँगै आयुर्वेदिक औषधिको गुणस्तरमा भने बेलाबेलामा प्रश्न उठ्ने गर्छ। एलोपेथिकका कतिपय चिकित्सकहरु आयुर्वेदले बिरामीलाई झन् अस्वस्थ बनाएको आरोप लगाउँछन्। जथाभावी आयुर्वेदिक औषधि प्रयोग गर्दा थप समस्या हुने स्वयं आयुर्वेदका विशेषज्ञ बताउँछन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्याय आयुर्वेदको जथाभावी प्रयोग गर्दा समस्या हुने बताउँछन्। उनी भन्छन्, ‘हरेक प्रयोगको सिमा हुन्छ। प्रत्येक बिरामीलाई दिइने औषधिको मात्रा, खाने समय, प्रकार सबै फरक हुन्छ। एउटालाई दिइएको औषधिले अर्कोलाई पनि काम गर्छ भन्ने हुँदैन।’

नेपालमा प्रशस्त जडिबुटी पाइने हुनाले परम्परागत रुपमा पनि घरायसी औषधिको प्रयोग हुँदै आएको पाइन्छ। कुन जडिबुटीको अत्यधिक प्रयोगले के समस्या हुन्छ भन्ने जनचेतनाको कमी भने अझै छ। 

नयाँ सविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा परिभाषित गरेको छ।  संविधानको भाग ४ धारा (ज) को ७ मा परम्परागत चिकित्सा पद्धतिको रुपमा रहेको आयुर्वेद, प्राकृतिक चिकित्सा र होमियोप्याथिक लगायतका स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्धन गर्ने उल्लेख छ। संविधानका अनुसूची ५ को १६ र ७ को १२ मा आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थान दिइएको छ।

तर, यसको उचित र स्वस्थ प्रयोग कसरी गर्ने तथा जथाभावी औषधि प्रयोग गर्नबाट रोक्न जनतालाई कसरी सचेत बनाउने भन्ने विषयमा काम भएको पाइँदैन। न त यसबारे नयाँ योजनाहरुमै केही उल्लेख छ।

सरकारले केन्द्रदेखि स्थानीय तहसम्म आयुर्वेद उपचारलाई विकास गर्ने लक्ष्य राखेको छ। आयुर्वेदिक औषधि उत्पादनका लागि सिंहदरबार वैद्यखाना पनि सञ्चालनमा छ। तर वैद्यखाना राजनीतिक नेतृत्वको शिकार बन्दै आएकाले उसले उत्पादन गर्ने औषधिको ग्राफ तल–माथि भइरहन्छ। अहिले एक सयभन्दा बढी औषधि उत्पादन गर्ने गरेको वैद्यखानाको दावी छ।

सरकारले आयुर्वेदिक औषधिको उचित नियमन र नियन्त्रण गर्न सकिरहेको छैन। जटिबुटीको जथाभावी बेचबिखनदेखि घाटामुखी निर्यातलाई पनि रोक्न सकेको छैन।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल भने पर्याप्त जनशक्ति नभएका कारण अपेक्षित रुपमा अनुगमन र नियन्त्रण हुन नसकेको बताउँछन्। उनी भन्छन्,‘ बिक्री प्रवर्धन संहिता संशोधनको चरणमा छ, त्यो लागू भएपछि र उत्पादनको कुशल अभ्यासलाई व्यवस्थित गरेपछि बजारको जथाभावी बिक्री हुने क्रम रोकिन्छ।’

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवाली औषधि व्यवस्था विभागको आयुर्वेद शाखामा जनशक्ति बढाउनुपर्ने बताउँछन्। ज्ञवाली औषधि कम्पनीहरुको नियमन पनि प्रभावकारी रुपमा हुन नसकेको स्वीकार्छन्।

औषधि व्यवस्था विभागका अनुसार नेपाली आयुर्वेद उद्योगमा अहिले पाँच सय प्रकारका जडिबुटी व्यावसायिक रुपमा औषधिका लागि प्रयोग हुन्छन्।  

नेपाल आयुर्वेद उत्पादक संघका अनुसार आयुर्वेदको वार्षिक उत्पादन एक अर्ब ५० करोड रुपैयाँ छ भने वार्षिक आयात ३ अर्ब ५० करोडको छ। जसअनुसार हालको आयुर्वेद बजार वार्षिक ५ अर्ब रुपैयाँ बराबरको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागमा ८० आयुर्वेद औषधि उद्योग दर्ता छन्। तीमध्ये ४० उद्योग मात्र सञ्चालनमा रहेको विभागको भनाइ छ।

आयुर्वेद उपचारका क्लिनिक पनि उत्तिकै छन्। ती क्लिनिक दर्ता छन् वा छैनन् यकिन तथ्यांक छैन। नेपालमा आयुर्वेदिक औषधिको कच्चा पदार्थ ६० प्रतिशतभन्दा बढी भारतबाट आयात हुन्छ भने ४० प्रतिशत मात्र स्वदेशी जटिबुटी कच्चा पर्दाथका रुपमा प्रयोग हुने अनौपचारिक तथ्यांक छ। 

नेपालबाटै निर्यात गरिएको जडिबुटी महँगो मूल्यमा कच्चा पदार्थका रुपमा भारतबाट आयात गर्नुपर्ने र त्यो पनि कमसल खालको हुने उद्योगीहरु नै गुनासो गर्छन्। 

नेपालमै उत्पादन हुने औषधि राष्ट्रिय औषधि प्रयोगशालामा सूक्ष्म जिवाणु परीक्षण गरिन्छ। औषधि व्यवस्था विभागले जाँच गर्छ। हेभी मेटल टेस्ट भने निजी प्रयोगशालामा गरिन्छ। तर त्यहाँ जाँच भए पनि भेरिफिकेसनका लागि औषधि व्यवस्था विभागमा आउनैपर्छ। उद्योग स्वयंले पनि भौतिक र केही रासायनिक परीक्षणहरु गर्छन्। 

डा ज्ञवालीका अनुसार औषधि उद्योगले औषधि व्यवस्था विभागबाट जारी गरिएको औषधि उत्पादन कुशल अभ्यास संहिता २०६२, औषधि ऐन २०३५, औषधि दर्ता नियमावली २०३८ को अधिनमा रही उत्पादन गर्नुपर्ने व्यवस्था छ।

त्यसैगरी, आयुर्वेदिक औषधि उत्पादनको लागि छुट्टै कुशल आयुर्वेद औषधि उत्पादन (जिएमपी) समेत जारी हुने क्रममा छ। नेपालमा आयुर्वेदिक औषधिसम्बन्धी अनुसन्धान गर्ने सरकारीस्तरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रसमेत छ।  

आयुर्वेदिक औषधि 
–पूर्ण रुपमा वनस्पतीबाट मात्र उत्पादन गरिने औषधि, जस्तोः चूर्ण।
–जनावरको अंगबाट मात्र उत्पादन गरिने औषधि। जस्तोः कस्तुरी, शेख, प्रवाल, मुगा आदि।
–रत्नहरुबाट बनाइने औषधि, जस्तोः मोति
–रस औषधि पारत अर्थात मर्करीको प्रयोग भएका औषधि। जस्तोः लक्ष्मीविलास रस, सुतशेखर रस आदि।
– ती सबैलाई मिसाएर वा केहीलाई मिसाएर बनाइने औषधि

स्वास्थ्य खवरबाट

Leave a Reply

Your email address will not be published.