कोरोना सचेतना र उद्धारमा खटिएका ‘सिंगल म्यान’ इलामका गगन घिमिरे

  • 336
    Shares
कोरोना सचेतना र उद्धारमा खटिएका ‘सिंगल म्यान’ इलामका गगन घिमिरे

झापा : हुनत उनी पेशाले स्वास्थ्यकर्मी होइनन्। सरकारका स्थायी जागिरे वा प्रहरी पनि होइनन्। तर उनको यतिबेलाको दैनिकी कुनै स्वास्थ्यकर्मी वा प्रहरीको भन्दा कम छैन।

इलाम–झापाको सिमाना जोरकलशमा क्षेत्रमा खटिएका गगन घिमिरे यतिबेला कोरोना भाइरस संक्रमणको जोखिमबाट मानिसहरुलाई सचेत गराउन मैदानमा खटिएका छन्।

इलामको रोङ गाउँपालिका अहिलेसम्म कोरोना संक्रमणबाट मुक्त छ। संन्त्रास न्यून छ। किनकी गाउँपालिकाले सचेतनाको प्रभावकारी विधि अपनाएको छ। जसका लागि गगनको क्रियाशिलता बढेको हो।

विहान झिसमिसेदेखि साँझ अबेरसम्म मेची राजमार्ग हुँदै आएका यात्रुलाई उद्धार गर्ने, क्वारेन्टाइनसम्म पुर्‍याउने, स्वास्थ्य सचेतनाका सामाग्री वितरण गर्ने र व्यक्तिगत रुपमा सचेतना अपनाउन उनको क्रियाशिलता बढेको छ।
पीपीइ पहिरनमा रहेका गगन भन्छन, ‘विशेषत रोङ गाउँपालिका भित्र स्थायी घर भइ देशका विभिन्न स्थान र विदेशबाट आएका स्थानीयलाई सुरक्षित रुपमा क्वारेन्टाइनसम्म पुर्याउने मेरो काम हो।’

पर्यटन सूचना केन्द्रका जागिरे उनी भारतसँग सिमाना जोडिएको झापाको काँकडभिट्टा गएर मानिसहरुलाई उद्धार गर्न पनि भ्याउँछन्।

गाउँपालिकाले उपलब्ध गराएको एम्बुलेन्सको सहायतामा होल्डिङ सेन्टरबाट मानिसहरु उद्धार गर्ने र क्वारेन्टाइनसम्म लैजाने उनको दैनिकी हो ।

संक्रमणको चूनौति सहेर गगन दुई महिना यतादेखि स्वास्थ्यकर्मी झै फ्रन्टलाइनमा क्रियाशिल छन् । उनी भन्छन्,‘कतिबेला संक्रमित भइने हो ठेगान छैन तर जिम्मेवारी र सामाजिक दायित्व पूरा गरिरहेको छु।’

इलाम नामसालिङका उनी पत्रकारिता सँगसँगै पर्यटन सूचना केन्द्रमा बसेर पर्यटकलाई सूचना दिने कामलाई केही समयलाई थाँती राखेर राष्ट्रिय संकटमा साथ दिइरहेको दाबी गर्छन। नयाँ पुस्ताबाट साभार