इलाममा जनगणना कार्यालय स्थापना

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति शिक्षा स्वास्थ्य/शिक्षा

इलाम : राष्ट्रिय जनगणना २०७८ का लागि इलाममा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । इलाम सदरमुकामस्थित विपी पार्कको छेउमा सोमबार जनगणना कार्यालय स्थापना गरिएको हो ।

वि।स। २०७८ सालमा हुने १२ औँ जनगणनाको तयारीलाई तीब्र पार्न कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले नयाँ बुलन्दलाई जानकारी दिए । कार्यालयमा जनगणना अधिकारी र सहायक अधिकारीसहित पाँच जनाको दरबन्दी रहेको छ ।

कार्यालयले जनगणनाका लागि आवश्यक व्यवस्थापन र संचालन गर्नेछ । कार्यालय स्थापनासँगै अब प्रशिक्षक तालिम, स्थानीय जनगणना अधिकृत तालिम सञ्चालन हुनेछ । जनगणनामा खटाइने सुपरिवेक्षक र गणकलाई प्रशिक्षण दिनका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण चैत ९ देखि १५ सम्म विराटनगरमा संचालन हुनेछ । सो प्रशिक्षक प्रशिक्षणका लागि इलामबाट २० जना सहभागी हुनेछन् । उनीहरुले जिल्लामा छनौट हुने सुपरिवेक्षक र गणकलाई तालिम दिनेछन् ।

जनगणनामा खटाइने ८ हजार सुपरिवेक्षक र ३९ हजार गणक भर्तीका निम्ति चैत ११ गतेसम्म अनलाइन आवेदन खुला गरिएको छ । इलामका लागि मात्र १ सय ६ जना सुपरिवेक्षक र ४ सय १० जना गणक माग गरिएको छ । चैत ५ देखि ११ सम्म कार्यालय उपस्थित भएर पनि आवेदन गर्न सकिने जनगणना अधिकारी कार्कीले बताए । सुपरिवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् । देशभर अहिलेसम्म १ लाख ४० हजारभन्दा बढीले आवेदन दिइसकेको तथ्याङ्क विभागले जनाइएको छ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी जेठ २५ गतेबाट असार ८ गतेभित्र सम्पन्न हुने गरी जनगणना गर्न लागिएको छ ।

सुपरिवेक्षकले २०७८ वैसाख १३ गते २ महिनाका लागि र गणकले जेठ १० गते १ महिनाका लागि नियुक्ति पाउनेछन् । नियुक्ति पश्चात सुपरिवेक्षकले तालिम लिएर वैशाख २६ देखि जेठ १४ सम्म २० दिनको अवधीमा सुपरिवेक्षकहरुद्वारा घर तथा घरपरिवारको सूचीकरण गर्ने र सो सूचिकरणका आधारमा गणकले जेठ २५ देखि असार ८ सम्म १५ दिनको अवधिमा मुल गणनाको काम हुनेछ ।

जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने भएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति, जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्ला भित्रका सवै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्ला स्तरीय जनगणना सहजीकरण सयन्त्र रहनेछ ।

जिल्लाको स्थानीय तहमा स्थानीय जनगणना समन्वय समिति हुनेछ । जहाँ सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत वा उनले तोकेका अधिकृत कर्मचारीको संयोजकत्वमा समिति बन्नेछ । त्यस्तै वडा स्तरीय जनगणना सहजीकरण समिति रहने छ । जसको संयोजकमा सम्बन्धित वडाका वडाअध्यक्ष रहनेछन् । उक्त समितिमा वडा कार्यालयले तोकेको वडाभित्रका विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्षले तोकेको वडा सदस्य, वडाअध्यक्षले तोकेको महिला वडा सदस्य र वडा सचिव रहनेछ । नयाँ बुलन्दबाट

Leave a Reply

Your email address will not be published.