नेकपा एमालेबाट सूर्योदय नगरपालिकाको मेयर र उपमेयरमा कागते र भट्टराई सिफारिस

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ राजनीति

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि इलामको सूर्योदय नगरपालिकामा नेकपा एमालेबाट सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएका छन् । सूर्योदयको मेयरमा प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य समेत रहेका काजीमान कागते र सूर्योदय नगरपालिकाका उपमेयर समेत रहेकी एमाले नगर कमिटी अध्यक्ष दुर्गादेवी भट्टराई पुन उपमेयरको उम्मेदवारमा सिफारिस भएका हुन् ।
कागते अघिल्लो निर्वाचनमा समेत सूर्योदय नगरपालिकामा मेयरको आकाक्षी थिए । तर, त्यस बेला उनले टिकट पाएनन् । त्यसपछि उनी प्रदेशसभाको उम्मेदवार भएर निर्वाचित भएका हुन् । एमाले उम्मेदवार बनेका रणबहादुर राई नगरप्रमुखमा निर्वाचित भए । पार्टी विभाजनपछि राई नेकपा एसमा आवद्ध छन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा राईले १२९१९ मत पाएका थिए भने काँग्रेसका प्रेमलाल राईले १०३२९ मत पाएका थिए । यस अघिको निर्वाचनमा माओवादी केन्द्रका राजेन राईले १५४१ र संघीय समाजवादी फोरमका लीला बहादुर सुनुवारले १४७७ मत ल्याएका थिए । सत्तारुढ दलहरूबिच गठबन्धन गरेर चुनाव गर्ने निर्णयपछि दलहरू आन्तरिक छलफलमा छन् । त्यसैले सूर्योदयमा गठबन्धनको उम्मेदवार टुङ्गो लागेको छैन । सत्तारुढ दलहरूका बिचमा गठबन्धन गर्ने प्रयास जारी रहेपछि सूर्योदयमा काँग्रेसका १४ वटै वडाका वडा सभापतिहरूले कसैसँग गठबन्धन नगर्ने घोषणा गरेर बिज्ञप्ति निकालेको नेपाली काग्रेस वडा नम्बर ७ का सभापति लेखनाथ खड्काले बताए ।
एमाले सूर्योदय नगर कमिटीकी अध्यक्ष समेत रहेकी भट्टराई २०७४ को निर्वाचनमा १२८९० मत ल्याएर उपप्रमुखमा निर्वाचित भएकी थिइन् । पहिलो स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसकी खगेश्वरी पौडेलले ९९२७ मत पाएकी थिइन् । त्यस्तै तत्कालीन संघीय समाजवादीबाट ख्यामकुमारी राईले १७९४ र माओवादी केन्द्रकी टिका राईले १६५० मत पाएका थिए । सूर्योदय नगरपालिकालाई अहिले इलामको राजनीतिक केन्द्रबिन्दुको रुपमा हेरीएको छ ।

Leave a Reply

Your email address will not be published.