झापाको भद्रपुर नगरपालिकाका मेयर बिरुद्ध उत्रिए वडाध्यक्ष सहितका जनप्रतिनिधि

Special News Trending राजनीति समाज

पार्थ मण्डल, झापा :

भद्रपुर नगरपालिका कार्यालयको काम कारबाही प्रति असन्तुष्ट जनाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू विरोधमा उत्रिएका छन् । विरोधमा उत्रिएका वडा अध्यक्ष र सदस्यहरूले नगर कार्यपालिकाको बोर्ड बैठक समेत बहिष्कार गरेका छन् ।

५२ जना जनप्रतिनिधि रहेको भद्रपुर नगरपालिकामा दुई जना वडा अध्यक्षसहित नौ जना वडा सदस्य नेपाली काँग्रेसबाट निर्वाचित भएका छन् । बाँकी ४१ जना तत्कालीन एमाले र माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । विगत दुई वर्षसम्म सत्ता पक्ष र प्रतिपक्षका जनप्रतिनिधिहरू एकजुट भएर नगरको विकासको काममा हातेमालो गरेर अघि बढिरहेका थिए । पछिल्लो समयमा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले नगरको हरेक गतिविधि एकलौटी ढङ्गबाट सञ्चालन गर्न थालेपछि काँग्रेस पक्षका जनप्रतिनिधिहरू असन्तुष्ट भएका हुन् ।

असन्तुष्ट जनप्रतिनिधिहरूले भद्रपुरमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाको गतिविधि बारेमा प्रेस विज्ञप्ति जारी गरेका छन् । नगरको विकास निर्माण लगायत नगरवासीको जीवनयापन तथा सरोकारको हरेक विषय नागरिकको सुविधामा निष्ठापूर्वक लागिरहन निरन्तर बैठकमा कुरा उठाउँदा समेत बहुमतका आधारमा एकलौटी ढङ्गले निर्णय गर्न थालिएको विज्ञप्तिमा आरोप लगाइएको छ । ५ नम्बर वडा अध्यक्ष बन्ध कार्कीको अनुसार गत वैशाख २१ गते नगर कार्यपालिकाको बोर्ड बैठकमा जिल्ला समन्वय समिति झापाबाट समायोजन भई आउने थप कर्मचारीलाई हाजिर नगराउने निर्णय गरिएको थियो । तर, नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले बोर्ड बैठकको निर्णय विपरीत दुई जना कर्मचारीलाई हाजिर गराएको छ ।

अन्य दुई जना कर्मचारीलाई हाजिर गराएनन् । ‘बोर्ड बैठकको निर्णय विपरीत कसैलाई हाजिर गराउन र कसैलाई हाजिर नगराउने विषय गलत भएकोले हामी विरोधमा उत्रिएका हौ’, वडा अध्यक्ष कार्कीले भने । आइतबार पनि कार्यापालिकाको बोर्ड बैठक बसेको थियो, वडा अध्यक्ष कार्कीले भने, ‘बैठकमा कर्मचारी समायोजनको विषयमा कुरा उठाउँदा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले खासै चासो नदेखाएको र गैरजिम्मेबारी पूर्ण ढङ्गले जवाफ फर्काएकोले बैठक बहिष्कार गरेका हौँ ।’ नगर कार्यपालिकामा वडा अध्यक्ष कार्की र ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा ९मनोज० काँग्रेसको तर्फबाट नेतृत्व गर्दै आइरहेका छन् । बोर्ड बैठकले गरेको निर्णय नसच्याए सम्म बैठकमा सहभागी नहुने अर्को वडा अध्यक्ष सुब्बाले बताए ।

उनका अनुसार त्यति मात्र नभएर निर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरूलाई थाहा जानकारी सम्म नदिई अपारदर्शी रूपमा नगरको वस्तुगत विवरण तयारी कार्य विधि २०७४ विपरीत हुने गरी नगरपालिकाका वडाहरूमा आवश्यक पर्ने गणकहरू नियुक्त गरिएको बताए । ‘यस्तो कार्य आगामी दिन नगर्न नगरपालिकाका नेतृत्वलाई सचेत समेत गराउन चाहन्छौ, उनले थपे ।

यस्तो छ नगरपालिकाको बोर्ड बैठकको निर्णय

०७६।१।२१ गते बिहान ७ बजे नगरपालिका बैठक कक्षमा नगर कार्यपालिका बैठक बसी निम्नानुसार निर्णय गरिएको छ ।कर्मचारी समायोजन सम्बन्धमा स् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी समायोजन भई अधिकृत स्तरका चार, सहायक स्तरका सात गरी जम्मा ११ जना कर्मचारी भद्रपुर नगरपालिकाको स्वीकृत दरबन्दी समायोजन भई आएको अवस्थामा साबिक जिविसमा नियुक्ति भई हाल भद्रपुर नगरपालिकामा अधिकृत स्तरका दुई, सहायक स्तरका तीन र कार्यालय सहयोगी पाँच तथा हल्का सवारी चालक एक गरी जम्मा ११ जना कर्मचारी समायोजन भएको भन्ने बुझिएको हुँदा नगरपालिकाको लागि स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीलाई हाजिर गराई कामकाज लगाउन नसकिने हुनाले साबिकमा जिससबाट कामकाजको लागि खटाई नगरपालिकामा नियमित हाजिर भई तलब भत्ता प्राप्त गरिरहेका अधिकृत स्तरका दुई, सहायक स्तरका दुई र कार्यालय सहयोगी एक गरी ५ जनालाई मात्र समायोजन गरी पठाउन र अन्य कर्मचारीहरूको लागि यस नगरपालिकामा स्वीकृत दरबन्दी रिक्त नरहेको हुँदा निजहरूलाई हाजिर गराई कामकाज लगाउन नसकिने ब्यहोरा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र जिसस झापामा अनुरोध सहित जानकारी गराउने निर्णय गरिएको छ ।

नगरपालिकाले आफ्नै निर्णय उल्टाउँदै कसैलाई काखा र कसैलाई पाखा

कर्मचारी समायोजन सम्बन्धी निर्णयलाई नगरपालिकाका नेतृत्व तहले आफै उल्टाउँदै कसैलाई काखा र कसैलाई पाखा गरेको घटना सार्वजनिक भएको छ । कर्मचारी समायोजन भएसँगै जिल्ला समन्वय समिति झापाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र आदेश बमोजिम एक जना नायव सुब्बा, एक जना हलका सवारी चालक र दुई जना कार्यालय सहयोगी गरी चार जना कर्मचारीलाई भद्रपुर नगरपालिका कार्यालयमा हाजिर गराउन भनी पचत्रार गरेका थिए ।

जिससले चारै जना कर्मचारीको रवाना पत्र भद्रपुर नगरपालिकालाई जेठको पहिलो साता पठाएको थियो । तर, नगरपालिकाका नेतृत्वले गरेको निर्णय आफै उल्टाउँदै दुई जना कर्मचारी हाजिर गराएका छन्, भने दुई जना कर्मचारीलाई फिर्ता पठाएको छ । हाजिर गराउने कर्मचारीमध्ये नायव सुब्बा मानबहादुर थापामगर र हसचा राम लखन राउत वरैलाई गत जेठ १२ गते हाजिर गराएको नगरपालिकाले जनाएको छ ।

तर, नगरपालिकाका नेतृत्व तहले बोर्ड बैठकको निर्णय विपरीत कर्मचारीलाई हाजिर गराउन नमिल्ने भन्दै कार्यालय सहयोगी सञ्जय भुइँमाली र नवराज खतिवडालाई फिर्ता पठाएको छ । जिससले रवाना पठाइसकेको र नगरपालिकाले हाजिर नगराउँदा दुई जना कर्मचारी पीडित बनेका छन् ।

दरबन्दी खाली रहेका कर्मचारीलाई हाजिर गराइयो : नगर प्रमुख

नगर कार्यपालिकाको बोर्ड बैठकले जिससबाट समायोजन भएर आउने कर्मचारीलाई हाजिर नगराउने निर्णय भएको भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले स्वीकारे । उनका अनुसार बोर्ड बैठकले वैशाख २१ गते निर्णय गरियो, तर मन्त्रालयले जेठ २ गते नगरपालिकालाई कर्मचारी समायोजन विधेयक सम्बन्धी पत्र पठायो । सोही पत्र बमोजिम नायव सुब्बा मानबहादुर थापामगर (पाँचौँ तह) लाई चौथौँ तह झारेर दरबन्दी खाली भएको स्थानमा हाजिर गराइएको उनले बताए ।

त्यस्तै नगरपालिकामा अहिले सम्म हसचा नियुक्ति नगरिएकोले हसचा राम लखन राउत वरै पनि हाजिर गराएको हो । ‘जिससले चार जना कर्मचारी पठाएकोमा दुई जना कार्यालय सहयोगीलाई मात्र फिर्ता गराएको हो’, उनले भने, ‘नगरपालिकामा १५ जना कार्यालय सहयोगी कर्मचारी कार्यरत छन्, दरबन्दी समेत खाली नभएको कार्यालय सहयोगीलाई कसरी हाजिर गराउनु, त्यही भएर फिर्ता गराएका हुँ ।’नगरपालिकालाई आवश्यक पर्ने कर्मचारी पठाउन छाडेर आवश्यक नपर्ने कर्मचारी पठाएको कारणले नगर प्रमुख अधिकार बमोजिम दुई जनालाई हाजिर नगराएको उनले प्रष्टाए ।सवाल नेपालबाट

Leave a Reply

Your email address will not be published.