प्रहरीले कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको विप्लवको दाबी

प्रहरीले कुमार पौडेललाई नियन्त्रणमा लिएर हत्या गरेको विप्लवको दाबी

काठमाण्डौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सर्लाहीको लालबन्दीमा प्रहरीले नियन्त्रणमा लिएर जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्या गरेको दाबी गरेका छन्।शुक्रबार प्रेस विज्ञप्ति जारी गरी चन्दले राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा लालबन्दी–१ लखन्ती खोेलामा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको दाबी गरेका हुन्।

बिहीबार लखन्ती खोलामा दोहोरो मुठभेड हुँदा पौडेल मारिएको प्रहरीले बताएको थियो।
‘गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न सरकारद्वारा कथित भिडन्तको कथा सार्वजनिक गरिएको छ,’ चन्दले विज्ञप्तिमा भनेका छन्।उनले पौडेल मृत्यु प्रकरणको नागरिक, मानवअधिकारकर्मी, बौद्धिक वर्गलाई निष्पक्ष छानबिन गर्न अपील गरेका छन्। उनले वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताहरूको हत्या गर्ने सरकारको षडयन्त्रविरुद्ध दृढ भएर लाग्न आह्वान गरेका छन्।

उनले पौडेललाई सहिद घोषणा गरेको जनाउँदै क्रान्तिका प्रक्रियामा सोको बदला लिएर छोड्ने घोषणा गरेका छन्। पौडेल मृत्युलाई लिएर विप्लव माओवादीले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ। सेतोपाटीबाट