इटहरीका मेयर चौधरीलाई कारवाही गर्न एक नम्बर प्रदेश सभामा महिला सांसदको माग

Special News Trending राजनीति

‘इटहरीको मेयर नेकपाले डामेर छाडेको साँढे हो ? कठालो समाएर घिसारौं’

विराटनगर: इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले महिलाका विषयमा सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति प्रदेश–१ सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा कांग्रेसकी सांसद बिन्दिया कार्कीले चौधरीले महिलाको कार्यक्रममा महिलाप्रति दिएको अभिव्यक्ति निन्दनीय भएको बताइन् ।

उनले भनिन्, ‘‘के इटहरीको मेयर नेकपाले डामेर छाडेको साँढे हो ? जथाभावी बोलेर महिलाको चरित्र हत्या गर्ने ?’’ शून्य समयमा बोल्दै सांसद कार्कीले मेयर द्वारिकलाल चौधरीले पहिलो आक्रमण पत्रकारमाथि गरेको र केही कारवाही नभएपछि फेरि आँट पाएर महिलामाथि अभद्र शब्द प्रयोग गरेको बताइन् । उनले भनिन्, ‘‘पत्रकारको कठालो समाएर जथाभावी बोलेर गुन्डागर्दीमा उत्रिएका थिए । त्यो हेर्दाहेर्दै सरकारले कुनै किसिमको भूमिका निर्वाह गरेन । फेरि आँट पाएर महिलाकै चरित्र हत्या गर्ने काम गरे ।’’ सबै महिलालाई एकै ठाउँमा राख्दै महिलाले लगाउने लिपिस्टिक र गर्भधारण नगर्न प्रयोग हुने पिल्स प्रयोग गर्ने महिलाका विषयमा दिएको अभिव्यक्ति खेदपूर्ण भएको उनले बताइन् ।

सांसद कार्कीले मेयरले जे गरे पनि जे बोलेपनि सत्तापक्षले केही नगरेकोले नै एउटै शब्द २९ पटक दोहोर्याएर महिलाको विषयमा जथाभावाी बोलेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले भनिन्, ‘‘त्यो शब्द म यहाँ प्रदेशसभामा उच्चारण गर्न सक्तिनँ । मैले अरुको मुखबाट अहिलेसम्म सुनेको छुइनँ, तर मेयरले बोले । सरकार किन हो चुप ? डामेर छाडेको साँढे हो मेयर चौधरी ? नेकपामा आउने युवक युवतीले अब यही हेरेर आउने हो ? यो पार्टीमा आउँदा जे बोल्न र गर्न पाइन्छ भन्ने भावनाको विकास भएको छ । यसको जिम्मा नेकपाले लिनुपर्छ । नत्र के गर्ने हो ? कि भन्नुपर्यो हाम्रो नीति त्यही हो । कि त मेयर चौधरीलाई पागलखानामा भर्ती गर्नुपर्यो । नत्र कठालोमा समाएर महिलाले घिसार्नुपर्छ ।’’

सांसद कार्कीले सत्तापक्षीय महिला सांसदले यस विषयमा मौनता साँधेको भन्दै भनिन्, ‘‘मेयरले महिलामाथि धावा बोल्दा पनि मन्त्री पद पाइँदैन भनेर नबोल्नु भएको होला सत्तापक्षीय महिला सांसद ।’’ एउटा सार्वजनिक कार्यक्रममा मेयर चौधरीले महिलालाई ‘रन्डी’ भन्ने शब्द प्रयोग गर्दै ‘रन्डीकै कारण पिल्स, लिपिस्टिक र कन्डम’ बिक्ने गरेको अभिव्यक्ति दिएका थिए । उनले ‘रन्डी जिन्दावाद’ भन्ने नारा पनि लगाएका थिए । बाह्खरीबाट

Leave a Reply

Your email address will not be published.