सुवास नेम्बाङको संयोजकत्वमा संसदीय विशेष समिति

Special News Trending राजनीति

काठमाडौं : संसदमा देखिएको करिब एक महिना लामो गतिरोध अन्त्यसँगै नेपाल कम्युनिष्ट पार्टीका उपनेता सुवासचन्द्र नेम्वाङको संयोजकत्वमा विशेष समिति गठन भएको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७७ बमोजिम् अध्ययन तथा सुझाव संसदीय विशेष समिति गठन गरिएको जानकारी दिए। ’सार्थक वार्ता तथा संवादमार्फत् संसदको वर्तमान गतिरोध अन्त्य गरि संसदलाई प्रभावकारी बनाउने निष्कर्षमा हामी पुगेका छौं’, सभामुख महराले बैठकमा भने, ’फेरि यस्तो गतिरोधको अवस्था उत्पन्‍न नहोस् भन्‍नाका लागि संविधान, नियम र स्थापित परम्परा अनुसार आवश्यक अध्ययन गरी सुझाव दिन समिति गठन गरिएको छ।’ समितिमा पूर्वसभामुखसमेत रहेका नेम्वाङ संयोजक तोकिएका छन्। सदस्यहरुमा नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद बिन्दा पाण्डे छन् । नेपाली कांग्रेसबाट उपसचेतक पुष्पा भुसाल गौतम र सांसद मिनेन्द्र प्रसाद रिजाल सदस्य तोकिएका छन्। त्यसैगरी राजपाबाट लक्ष्मणलाल कर्ण र समाजवादी पार्टीबाट उमाशंकर अरगरिया सदस्य चयन भएका छन्। सोमबार बिहान बसेको सर्वदलीय बैठकले करिब २६ दिन लामो गतिरोध अन्त्य गर्ने क्रममा फेरि यस्ता समस्या दोहोरिन नदिन यो समिति बनाइएको हो । कांग्रेस र राजपाले अवरोध गर्दा प्रतिनिधिसभाको ५ वटा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। थाहाखबरबाट

Leave a Reply

Your email address will not be published.