अनेरास्ववियूले माग्यो मरव क्याम्पस प्रमुख गुरागाईंको राजिनामा


इलाम :
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसका प्रमुख रामप्रसाद गुरागाईंको राजिनामा माग गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले एक विज्ञप्ति जारी गरेर क्याम्पस प्रमुखको राजिनामा माग गरेको हो ।
अनेरास्ववियुका क्याम्पस अध्यक्ष दर्शन राई र अखिल (क्रान्तिकारी) क्याम्पस सचिव महिमा गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंले हजारौं विद्यार्थीको भविष्य अन्यौल बनाएको भन्दै राजिनामा माग गरिएको छ ।
संगठनले विज्ञप्तिमार्फत मिति २०७६ कात्र्तिक २४ गते बुझाएको १८ बुँदे मागपत्रलाई बेवास्ता गरेर लगत्तै काठमाण्डौं लागेका क्याम्पस प्रमुख संगठनलाई वार्तामा बोलाएर ४० दिनदेखि काठमाण्डौं बसेर क्याम्पस अस्तव्यस्त बनाएको आरोप लगाएको छ ।
‘क्याम्पसमा अध्ययनरत आम विद्यार्थीहरुको भविष्यलाई अन्यौल बनाएर क्याम्पस र क्याम्पस बाहिरका केहि जना ब्यक्तिको गोटी बनेर प्रमुखले देखाईरहेको कार्यशैलीले समग्र क्याम्पसको भविष्य नै अन्यौलतातर्फ धकेलिएको छ ’ विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा तुरुन्त राजिनामा दिएर प्रमुखले मार्ग प्रसस्त नगरे संगठनले कडा कदम चाल्ने चेतावनी दिनुका साथै त्यसबाट आउने परिणामको जिम्मेवार क्याम्पस प्रमुख र क्याम्पस प्रशासन स्वयम हुनुपर्ने उल्लेख गरिएको छ ।

क्याम्पस प्रमुख काठमाण्डौंमाः


एकातिर क्याम्पसको काम गर्ने बहाना बनाएर केही दिनका लागि काठमाण्डौं गएका क्याम्पस प्रमुख रामप्रसाद गुरागाईं ४० दिनदेखि काजमा काठमाण्डौं छन । यसबीचमा उनले क्याम्पसको कुनै काम गरेको बुझिएको छैन । अर्कातिर क्याम्पस दिनदिनै अस्तव्यस्त बन्दैछ गएको छ ।

प्रजातान्त्रिक प्राध्यापक संघको विज्ञप्ति :


क्याम्पस प्रमुख रामप्रसाद गुरागाईंको कारण क्याम्पस अस्तव्यस्त भएको भन्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेस निकट प्रगतिशील प्राध्यापक संघ नेपाल मरब क्याम्पस इकाई समितिले एक प्रेस विज्ञप्ति जारी गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘सहायक क्याम्पस प्रमुख पूर्णप्रसाद ढुुंगानालाई बिना जानकारी निमित्त प्रमुखको जिम्मेवारी दिई क्याम्पस प्रमुख क्याम्पस प्रमुख रामप्रसाद गुरागाई ४० दिनभन्दा बढी समय काठमाण्डौं बस्नु, प्रमुखको कार्यकक्षमा लागेको तालाबन्दी उपर कुनै कारबाही नहुनु, क्याम्पसका प्राध्यापक कर्मचारीको इज्जत र प्रतिष्ठाको सस्तो बजारीकरण हुदै जानु र गैह्र बौद्धिक गतिविधिहरुका कारणले क्याम्पसको शैक्षिक र प्राज्ञिक उन्नयनमा गिरावट हुँदै गएको छ ।’

Leave a comment

Your email address will not be published.