बिमल बैद्य,इलाम :
यही बाटो भएर
हिड्दै जानुभयो भने
देशको कुनै एउटा
गाउँमा पुग्नुहुनेछ तपाई,
जहाँ साना केटाकेटी
र बुढापाकाहरू मात्रै भेट्नु हुनेछ
बर रपिपल को फेदमा बसेर
गाउँका बारे चिन्ता गरिरहने
नयाँ पुस्ता भेट्नु हुने छैन
समाजलाई डोर्याएर हिड्ने
बिचार बोकेको झुण्ड पाउनुहुने छैन
घाँस काटेर फर्किरहेका मानिसहरू
गोठमा सोतर सोरिरहेका दिदीबहिनीहरू देख्नुहुने छैन
मेलापातमा जिस्किदै रमाइरहेका
तरूनीरतन्नेरी पाउनुहुने छैन
तमतन्न रित्तो सडकले
तपाईलाई स्वागत गर्नेछ
यही बाटो भएर
मुलुकको कुनै गाउँ जादै हुनुहुन्छ भने।
हो , यही बाटो भएर अघि बढ्नु भयो भने
अलि पर छानो उडेको जिर्ण भवन देख्नु हुनेछ
त्यो सरकारको स्कुल हो
वरपर पट्पटी फुटेका फाँट र जमिन देख्नु हुनेछ
जहाँ उहिलेरउहिले तिन बाली खेती लाइन्थ्यो
गाउँको सानो बजार बिचको मन्दिर
जसको पर्खालहरू चर्किएर भग्नावशेष बन्न लागेको छ
सट्टामा नजिकै नयाँ गिर्जाघर बनेका छन्
घरका साना कोठाहरूको स्वरूप फेरिएर
पार्लर बनेका छन्
पाली गाँसिएको भान्साघरको
रूप बद्लिएर होटल बनेको छ
गाउँको सानो किराना पसलको बार्दलीमा
ू मनि ट्रान्सफर ू को बोर्ड झुण्डिए पछि
मेरो देशको अर्थतन्त्रको आधार बद्लिएको छ
यही बाटो भएर पाइला टेक्नु भयो भने
अझै देख्न बाँकी धेरै देख्नुहुनेछ।
हजुर, यही बाटो भएर हिड्दै जानुभयो भने
आँगनमा झोक्राइरहेको घाम
र पींढीमा सुस्ताईरहेको साँझ भेट्नुहुनेछ
रोगले थलिएर आइपुगेको मानिसलाई
पुर्जामा ूरेफरू लेखिरहेको
अर्को रोगी स्वास्थ्य केन्द्र भेट्नुहुनेछ
आकाश छेडौला झै गरि ठडिएका
टेलिफोन टावरहरू देख्नुहुनेछ गाउँमा
संजालका तार र पोलहरूको
गुजुल्टो देख्नुहुनेछ देहातमा
कसले भन्न सक्छ !
मेरो गाउँमा बिकाश भएको छैन भनेर !
त्यही टावरमा ठोक्किएर
त्यही तारहरूमा अल्झिएर
हरेक साँझ
हर बिहान आइपुग्छ चिसो खवर
जीवनको उपहास बोकेर
मृत्युको रामनामी खास्टो ओढाउन ।
