प्रदेश १ को मन्त्रीमण्डल विस्तार हुँदै, इलामका राम राना कृषि तथा सहकारी मन्त्री बन्दै

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश संस्करण राजनीति

बाबुराम भण्डारी,विराटनगर:

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अन्ततः मन्त्रिमण्डल विस्तारको खाकालाई टुंगो लगाएका छन् । उच्चस्रोतका अनुसार मुख्यमन्त्री राईले मन्त्रिमण्डलको आकार एक महिलासहित १० सदस्यीय पुर्याउने निश्चित भएको हो । अहिले प्रदेश १ मा मुख्यमन्त्री राईको नेतृत्वमा मन्त्रिमण्डल पाँच सदस्यीय छ । मुख्यमन्त्री राईले सरकारको आधा उमेर सकिंदा पनि समावेशी मन्त्रिमण्डल गठन नगरेको भन्दै संसदीय दलको बैठकमा आरोप खेपेका थिए ।

सपथ ग्रहणका बेलामा सानो आकारको मन्त्रिमण्डल गठन गर्ने बताएका मुख्यमन्त्री राईले प्रदेश सरकार गठनको ३ बर्ष नजिक पुग्दा पहिलो पटक मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन् । पछिल्ला महिनामा उनले ‘कामको लोड पुगेको’ भन्दै सरकार विस्तारको संकेत गर्दै आएका थिए ।

मन्त्रिमण्डलमा एक ‘फूल’ मन्त्री थपिने छन् । थप चारजना राज्यमन्त्री बन्नेछन् । स्रोतका अनुसार इलामका रामबहादुर मगर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बन्दैछन् । बाँकी चार राज्यमन्त्रीको दौडमा कला घले, अम्बिरबहादुर गुरूङ, झलकसिंह दर्लामी, रामकुमार राई र विजय विश्वाससहित पाँचजना छन् ।

उनीहरू मध्ये उदयपुरकी घले सामाजिक विकास राज्यमन्त्री र ओखलढुंगाका गुरूङ भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने निश्चित प्रायः भएको हो । उनीहरू पूर्व एमालेबाट निर्वाचित हुन् । बाँकी दुई राज्यमन्त्रीको दौडमा झापाका दर्लामी र मोरङका विश्वास अगाडि रहेको जनाइएको छ । उनीहरू पूर्व माओवादीका हुन् ।

स्रोतका अनुसार मन्त्रिपरिषद्को विस्तार यसैसाता हुनेछ । पुष १७ गते बिहीबार नै मन्त्रिपरिषद् विस्तारको तयारी थियो । तर खोटाङका रामकुमार राईसमेत मन्त्रीको दौडमा रहेका कारण पूर्व माओवादीभित्र अन्तिम कसरतका लागि भन्दै मन्त्रिमण्डल विस्तारको मिति एकपटकका लागि मात्रै सारिएको जनाइएको छ ।

संविधानको धारा १६८ को उपधारा ९ मा प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशत बढी नहुने गरी प्रदेश मन्त्री परिषद् गठन गर्ने व्यवस्था छ । प्रदेश १ मा पूर्व एमाले र माओवादी एकीकरणपछि बनेको नेकपाको स्पष्ट दुईतिहाइ छ ।

प्रदेशसभामा नेकपाका ६७, कांग्रेसबाट २१,समाजवादी पार्टीबाट ३, राप्रपा १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जना सांसद छन् । यस आधारमा नेकपाले कुल सदस्य संख्याको २० प्रतिशतले हुन आउने १८ जनासम्म मन्त्री बनाउन पाउँछ । तर संघीयता खर्चिलो व्यवस्थाका रूपमा अघि बढ्न सक्ने भन्दै त्यसका लागि पूर्वसहमति स्वरूप संघीय सरकारको समेत नीतिगत सुझाव आवश्यक छ ।

संघीय सरकारले सातै प्रदेशमा मन्त्रिपरिषद्को समान आकार निर्धारण गर्ने सूचना प्राप्त भइसकेकोले त्यसैका आधारमा मन्त्रिमण्डल विस्तारको तयारी अघि बढाइएको जनाइएको छ ।यसअघि मुख्यमन्त्री राईले भने प्रदेश १ मा मन्त्रिपरिषद्का सदस्यको संख्या ११ जनासम्म पुग्ने बताएका थिए । उनले गत कात्तिकमै तिहार लगत्तै मन्त्रिमण्डल विस्तार हुने बताएका थिए । तर त्यसलाई पूर्णता दिन दुईमहिना पूरा लागेको हो । उद्घोष दैनिक अनलाईनबाट

Leave a Reply

Your email address will not be published.