फिदिम: पाँचथरको कुम्मायक गाँउपालिका अध्यक्ष जयबहादुर चेम्जोङ सहित सात जनाबिरुद्ध भू्रणहत्या गर्न बाध्य पारेको भन्दै पीडित युवतिले किटानी जाहेरी दिएकी छिन् । कुम्मायक ५ का रमेश खड्कासँग मन्दिरमा गएर प्रेमविवा गरेकी १९ बर्षीया युवतिको पेटमा २१ हप्ताको गर्भ थियो ।
अध्यक्ष सहित रमेशको परिवारले धम्काएर भ्रूणहत्या गर्न बाध्य पारेपछि युवतिले प्रहरीमा उजुरि दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक रोमनराज अर्यालका अनुसार उजुरी परेकामध्ये तीन जनालाई पक्राउ गरिएको छ । अध्यक्ष चेम्जोङ बुधबारदेखि नै गाँउपालिकामा नभएको एक कर्मचारीले जानकारी दिए ।
सदरमुकाम फिदिम आएर समाचार लेख्ने पत्रकार बिरुद्ध पत्रकार सम्मेलन गर्न लागेका चेम्जोङले सो कार्यक्रम स्थगित गरेर सम्पर्क बिहिन बनेका हुन् । ‘यो प्रकरणमा संलग्न सबैको खोजि कार्य भईरहेको छ,’ पाँचथरका प्रहरी नायब उपरिक्षक सिद्धराज न्यौपानेले भने ‘कानुन बमोजिम प्रहरीले काम गर्नेछ ।’
समर्पित अस्पतालले गर्भपतको स्वीकृति नलिइ गर्भपतन गराएको थियो । युवतिलाई गर्भपतन गराउन बाध्य बनाउनेबिरुद्ध उजुरी परेको प्रहरीको भनाई छ । अध्यक्षको दबाबमा भ्रूणहत्या शिर्षमा समाचार प्रकाशित भएपछि घटना सार्वजनिक भएको हो । पुष २६ गते राति समर्पित अस्पतालमा युवतिको पेटमा हुर्किएको भू्रणहत्या गरिएको हो । तमोर खबरबाट