लकडाउन अझै लम्बीने

  • 27
    Shares
लकडाउन अझै  लम्बीने

काठमाण्डौ: सरकारले वैशाख ३१ गतेसम्म लकडाउन लम्ब्याउने तयारी गरेको छ । पछिल्लोपटक थप गरेको लकडाउनको समयावधि सोमबार सकिँदैछ । आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म लकडाउन लम्ब्याउने र कोरोना पूर्णतः नियन्त्रणमा लिन तयारी गरेको उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीले जानकारी दिए ।

मुख्य सचिवको नेतृत्वमा रहेको कार्यदलले सरकारलाई थप एक हप्ता लम्ब्याउन उपयुक्त हुने सुझाव दिएको थियो । एक हप्ताभित्र सङ्क्रमणको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण (कन्ट्याक्ट ट्रेसिङ) गर्न कठिन हुने निष्कर्ष निकाल्दै लकडाउनको समयावधि लम्ब्याउने निष्कर्ष निकालिएको हो ।

“१५–१६ दिन लकडाउन लम्बिन्छ । तत्काल खोल्ने सम्भावना छैन,” एक मन्त्रीले बाह्रखरीसँग भने ।  शनिबार बसको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा हिमाली भेगमा लकडाउन खोल्ने र अन्यत्र कायमै राख्ने सुझाव आएको थियो ।

“काठमाडौं उपत्यका, जनघनत्व भएका क्षेत्रमा लकडाउन खुकुलो तुल्याउँदा प्रत्युत्पादक हुनसक्छ, परीक्षणको दायरा अझै बढाउनु पर्ने देखिएको छ । त्यसो हुँदा पहिलो चरणमा हिमाली जिल्ला खुकुलो बनाउने र थप सङ्क्रमित फेला नपरे क्रमशः पहाडी हुँदै सहरी क्षेत्रमा खुकुलो बनाउने सुझाव–प्रस्ताव आएको थियो,” उच्चस्तरीय समितिमा रहेका मन्त्रीले भनेका थिए ।

अहिले नै लकडाउन खुकुलो बनाउने सम्भावना नरहेको र बढाउनै उपयुक्त हुने निष्कर्ष निकालिएको समितिमा रहेका मन्त्रीको भनाइ छ ।

उच्चस्तरीय समन्वय समितिको चैत १० गते बसेको बैठकले लकडाउनको घोषणा गरेको थियो । पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरिएको थियो । चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समय थप गरेर चैत २५ गतेसम्म कायम राखेको थियो । 
चैत २४ गते मन्त्रिपरिषद् बैठकले पुनः आठदिन थपेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याइएको थियो । पछिल्लोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म लकडाउन बढाइएको थियो ।

सरकारले कोरोना रोकथाम, नियन्त्रणका लागि लकडाउन प्रभावकारी बनेको निचोड निकालेको छ ।

“कोरोना सङ्क्रमण रोक्न हामी तुलनात्मक हिसाबले सफल छौं । जे उपायहरू अवलम्बन गरिएको छ, त्यो ठीक छ । सुरुमा अलिअलि अन्योल, अस्पष्ट भए पनि बिस्तारै स्पष्टता हुँदै गयो । अन्योलता हट्दै गए । परिचालनमा पनि तीव्रता आयो । परीक्षणको दायरा पनि बढ्यो,” सरकारको निष्कर्ष रहेको मन्त्रीले बताए ।

सरकारले चालेको कदमका कारण कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाल एसियाकै अग्रस्थानमा रहेको सरकारले निचोड निकालेको छ ।

“कोरोना सङ्क्रमण देखिएका मध्ये एसियाका १० मुलुकमा एकजनाले पनि ज्यान गुमाउनु परेको छैन । त्यसमा नेपाल पनि पर्छ । दक्षिण एसियामा कोरोना परीक्षण गर्ने सन्दर्भमा नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा अगाडि भुटान र मालदिभ्स छन् । उनीहरूको जनसङ्ख्या पनि हाम्रोभन्दा कम छ,” सरकारको निष्कर्ष छ ।

मुलुकका हालसम्म ४९ जना सङ्क्रमित फेला परेका छन् । उपचारपश्चात् १२ जना निको भएर घर गइसकेका छन् । ८७ जना आइसोलेसन कक्षमा छन् । यसबीचमा ९ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । ३९ हजार ६ सय ७० जनाको आरडीटी परीक्षण गरेको र १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बाहखरीबाट