लाप्राकीको मन जित्न नसकेको एकीकृत नमूना बस्ती

लाप्राकीको मन जित्न नसकेको एकीकृत नमूना बस्ती

विकास मरहट्टा,गोरखा:

भेडीगोठ र गौचरन रहेको लाप्राकको गुप्सीपाखामा एकीकृत नमूना बस्ती बनिरहेको छ । पाखाभरी बनेका रंगीन घरहरुले ध्यान केन्द्रित नगर्ने कुरै भएन । यो बस्ती गैरआवासीय नेपाली संंघ ९एनआरएनए० ले लाप्राकका भूकम्प पीडितहरुका लागि बनाएको हो ।

बस्ती निर्माण अन्तिम चरणमा पुग्दै गर्दा लाप्राकीहरु भने थातथलो छाडेर गुप्सीपाखामा सर्ने मन गरिरहेका छैनन् । उनीहरुमध्ये अधिकांशले पुरानै ठाउँमा जसोतसो घर पनि ठड्याइ सके ।

लाप्राकको पुरानो गाउँ पहिरोको जोखिममा रहेको पनि उनीहरुलाई थाहा छ । चिठ्ठा थुतेर लाप्राकीले नमूना वस्तीमा आफ्नो घर छनोट पनि गरिसके तर, पनि उनीहरु गुप्सीपाखामा सर्न इच्छुक छैनन् ।

समुन्द्री सतहबाट दुईहजार ७५० मिटरको उचाइमा रहेको गुप्सीपाखामा बढी हिमपात हुने लाप्राकीहरु बताउँछन् ।

लाप्राकीको जीविकोपार्जनको मुख्य आधार खेतिपाती नै हो । एकाध घरका लाहुरे भएपनि अधिकांश कृषिमा निर्भर छन् । गुप्सीपाखाको बस्तीमा सरे खेतिपाती हराउने उनीहरु बुझाई छ । ‘घर मात्र भएर के गर्ने खानेवाटो पनि हुनुपर्‍यो नि १’ जोखिमयुक्त लाप्राकमै बस्ने मुड बनाएका स्थानीय मनबहादुर गुरुङ भन्छन्, ‘गुप्सीपाखामा न खेती गर्ने ठाउँ छ न व्यापार चल्छ ।’

आशमाया गुरुङले पनि त्यही बताइन्–माथि न वाली लगाउने ठाउँ छैन । तल खेती गरेर लैजाँदा आधा समय उकालो ओरालो गर्दा बाटो मै चार घण्टा सकिन्छ ।’ भूकम्पले घर भत्किएपछि ठूलो रिन्जिलुङमा टहरा बनाएर बसेकी आर्नी गुरुङले भनिन्, ‘फेरि बस्ने भनेको त आफ्नो थातथलोमै हो नि ।’

चोयाको मान्द्रो र त्रिपालको टहरामा चार बर्ष बिताएकी उनले पनि गुप्सीपाखामा नयाँ घर पाएकी छन्, तर माथि सर्ने मन छैन । ‘आफू एक्लो भएकीले यही घर बनाउन सकिन’, उनले भनिन्, ‘नयाँ घर पाउँदा खुशी त लागेको छ, तर त्यहाँ गएर खाने के ?’

कान्छी गुरुङ पनि आर्नी जस्तै एक्लो र अस्थायी टहरामा छिन् । नयाँ घरले उनलाई अवश्यै राहत दिन्छ तर, त्यो बढी हिउँ पर्ने र बारी नभएको ठाउँमा ।

लाप्राकका कुमार सुनारलाई त सम्झीसम्झी रिस उठ्छ । ‘हिउँ थुप्रिने ठाउँमा घर बनाइदिने भनेर हामीले पाउने अुनदान पनि एनआरएनले नै लग्यो’, उनले भने, ‘अहिले हेर्दा घर बलियो पनि छैन, त्यहाँ सरेर पनि के गरेर खानु ।’

एनआरएनएले भूकम्पले घर क्षति पुर्‍याएको लाप्राकका ५७३ परिवारका लागि गुप्सीपाखाको १८।३ हेक्टर क्षेत्रफलमा एकीकृत बस्ती बनाइरहेको छ । बस्ती निर्माणको काम ९० प्रतिशत सकिएको छ ।

लाप्राक गाउँ


घरहरु बनाउन लाप्राकवासीले श्रमदान पनि गरेका छन् । श्रमदानसहित एउटा घर बनाउन १२ लाख रुपैयाँ खर्च भएको एनआरएनएले जनाएको छ । प्रतिघर १२ लाखको दरले कुल ६८ करोड ७६ लाख रुपैंया खर्च हुनेछ । बस्ती निर्माणका लागी १५० नेपाली सैनिक र सय जना मजदुर पनि खटेका छन् ।

नमूना बस्तीमा बनेका त्येक घरमा दुई कोठाका छन्, तर शौचालय छैन । शौचालय नहुँदा पनि लाप्राकीवासीलाई अप्ठ्यारो लागेको हो ।

एक घरधुरीको भागमा करिव तीन आना जग्गा परेको छ । जग्गा कित्ताकाट गरेर लालपुर्जा उपलब्ध गराउने तयारी एनआरएनएले गरिरहेको छ । चौथो भूकम्प स्मृति दिवसको अवसर पारेर वस्ती हस्तान्तरण गर्ने योजना बनाएको एनआरएनएले जेठ ४ गतेका लागि भाका सारेको छ ।

तरुर, ४ जेठमा पनि काम सक्ने अवस्था देखिँदैन । त्यो भन्दा पनि ठूलो समस्याका रुपमा लाप्राकीहरुको अरुची बनेको छ । यसले करोडौं लागतमा बनेको नमुना वस्ती बेकामको तमासा मात्र हुने हो कि भन्ने शंका उठेको छ ।अनलाईन खबरबाट