प्रदेश १ का सबै मन्त्रालयमा सचिव हेरफेर

Special News Trending प्रदेश नं. १ प्रदेश संस्करण

बिराटनगर: प्रदेश १ मा रहेका सातवटै मन्त्रालयका सचिवहरुलाई संघीय सरकारका मन्त्रालयमा सरुवा गरिएको छ । मित्त सचिवको भरमा चलिरहेको प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा हरिप्रसाद मैनालीलाई जिम्मेवारी दिइएको छ । गोपाल पराजुलीले राजीनामा गरेपछि मन्त्रालयको सचिवको जिम्मेवारी मुख्यमन्त्री कार्यालयका कानुन सचिव भरतमणि रिजालले निर्वाह गर्दै आएका थिए ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवको जिम्मेवारी संघीय सरकारअन्तर्गत सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुखमा कार्यरत दामोदर रेग्मीलाई दिइएको छ । मन्त्रालयका सचिव जीवन सिटौलाको अर्थमै सरुवा भएको छ ।
अनियमितता विवादमा मुछिएका पूर्वाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेको साउन दोस्रो साता सरुवा भएपछि मन्त्रालय कामु सचिव राजेश घिमिरे बनेका थिए । मन्त्रालयको सचिवमा उर्जा मन्त्रालयमा कार्यरत सुशीलचन्द्र तिवारीलाई ल्याइएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका पशुपंक्षी तथा मत्स्य विकास महाशाखा प्रमुख डा।विमलकुमार निर्मललाई सचिवको रुपमा सरुवा गरिएको छ । मन्त्रालयका सचिव हस्तबहादुर विष्टको कृषि मन्त्रालययमै सरुवा भएको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहाल संघीय मन्त्रालयमा तानिएका छन् । मन्त्रालयको सचिवमा महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयका सिनियर सहसचिव वीरबहादुर राईलाई ल्याइएको छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बद्री ढुंगानाको संघीय मन्त्रालयमा सरुवा भएको छ । उनको स्थानमा वनस्पति विभागका महानिर्देशक सन्जिवकुमार राईलाई पठाइएको छ । दुई जना सचिवको दरबन्दी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको रिक्त सचिवमा मुकुन्द घिमिरेलाई तानिएको छ ।
प्रदेशमा सरुवा भएका सबै ५ वर्षभन्दा बढी समयदेखि सहसचिवको रुपमा कार्यरत सिनियर व्यक्तिहरु रहेको प्रमुख सचिव सुरेश अघिकारीले जानकारी दिए । कनिष्ट सहसचिवहरुलाई प्रदेश मन्त्रालयमा पठाउने र छिटोछिटो सरुवा गर्ने गर्दा प्रदेश सरकारको काम नै प्रभावित भइरहेको थियो । अब भने सिनियर सचिवहरु आएको र एक वर्ष हाराहारी उनीहरु प्रदेशमै बस्ने भएकोले काममा सहजता हुने उनको विश्वास छ ।
प्रधानमन्त्री केपी ओली उपचारका लागि सिंगापुर जानुअघि बसेको मन्त्रिपरिषद् बैठकमा वरिष्ठ सहसचिवहरुलाई प्रदेशका मन्त्रालयहरुमा सरुवा गर्ने निर्णय भएको थियो । सोही निर्णयअनुसार संघीय सरकारले सातवटै प्रदेशमा ५६ जना सिनियर सहसचिव सरुवा गरेको हो । संघीय सरकारको महत्त्वपूर्ण निकायमा कार्यरत प्रशासन सेवामा २७, वन, कृषि, इन्जिनियरिङ र कानुनतर्फका ७–७ जना गरी ५६ जना सिनियर सहसचिवलाई प्रदेशका मन्त्रालयमा सचिवको रुपमा पठाइएको हो । ६ महिनाभित्र बढुवा हुने र ६ महिनाभित्रै अवकाश हुनेबाहेकका सिनियर सचिवलाई १ वर्षको लागि संघीय सरकारले प्रदेशमा पठाएको हो ।कान्तिपुर दैनिकबाट

Leave a Reply

Your email address will not be published.