कन्याममा जातिय पोशाकमा रमाउदै पर्यटक

Breaking News Mukya Samachar Special News Trending पर्यटन प्रदेश संस्करण प्रमोसन


टिका खतिवडा,इलाम : वरिपरि हरियाली चियाबारी, बीचमा मेची राजमार्ग । मेची राजमार्गकै एक किनारामा नेपालको दाङबाट आएको बस रोकिन्छ । बसको ढोका खुलेसँगै अनिता थारु उत्साहित अनि हौसिएर ‘आहा चियाबारी’ भन्दै बाहिर निस्किएपछि अन्य करिब ३० जनाको संख्यामा रहेका एक विद्यालयको केही शिक्षकसहितको टोली कन्याममा ओर्लिन्छ ।

कन्याममा झरेपछि पर्यटक मोबाइल झिक्दै सेल्फी खिच्न व्यस्त हुन्छन् । त्यतिकैमा कन्यामका एक व्यवसायीले ‘जातीय पोशाकमा फोटो खिच्नु हुने हो रु’ भनेर सोधेपछि विद्यार्थीको समूहले मूल्यको विषयमा कुरा गर्छन् अनि एकैछिनमा विभिन्न जातीय पोशाक लगाएर कन्यामका हरियाली डाँडामा निस्कन्छन् । त्यस अघिदेखि नै कन्याममा जातीय पोशाक लगाएर तस्वीर खिच्नेहरु पनि प्रसस्तै हुन्छन् । हरेक मानिसलाई फरक अनि नौलो काम गर्न, खान र लगाउन मन पर्ने गर्दछ । टाढाबाट आएका पर्यटकलाई आफ्नो जातजातिको भन्दा फरक पोशाक लगाउन मन परेको हुनुपर्दछ त्यस दिन कन्याममा ।

कन्याममा त्यसैगरी दैनिक हजारौँ पर्यटकले जातीय पोशाकमा सजिएर तस्वीर खिच्ने गरेको स्थानीयवासी पहलमान तामाङले बताए । कन्याम चियाबारीमा घुम्न आउने पर्यटक यिनै जातीय पहिरन लगाएर तस्वीर खिच्दै रमाउने गर्दछन् । चिया बगान घुम्न आएका उनीहरु प्राकृतिक सुन्दरतामा रमाउँदै जातीय पहिरन लगाएर फोटो खिचाउन पाउँदा हर्षित हुने गरेका छन् ।एउटा पसलमा राई, लिम्बू, शेर्पा, सुनुवार, नेवारी पोशाकसहित नेपाली पहिरन राखिएको छ । पसलेहरुले कुनै एउटा पोशाक लगाएको प्रतिव्यक्ति १०० रुपैयाँ लिने गर्दछन् ।

विभिन्न जातजातिका वेषभूषा र गरगहना लगाएर तस्वीर खिच्दा अनौठो अनि राम्रो सुहाउने भएकाले पनि पर्यटकलाई कन्याम पुगेर फोटो खिच्ने असाध्यै रहर लागेर यहाँ आएको बताउने गर्दछन् । यहाँ बालबालिका र युवायुवतीको लागि विभिन्न साइजमा पहिरन तयार पारेर राखिएको हुन्छ । विशेष गरेर युवायुवती यस्ता पोशाक लगाउन मन पराउने गर्दछन् । झापाकी राधिका गिरी पनि कन्यामको जातीय पोशाकले तानेर यहाँ आएको बताइन् । उनले साथीले नै कन्याममा आएर तस्वीर खिच्ने अनि सामाजिक सञ्जालमा फोटो राखेको देखेर यहाँ आउने रहर जागेको बताए । नेपाली पहिरन विश्वकै लागि आकर्षक मानिन्छ ।

नेपालका जातजातिले लगाउने जातीय पहिरन अझ सुन्दर छन् । अनेकौँ भााषा र जातजातिका मानिसको बसोबास रहेर पनि यहाँ धेरै जातजातिका पोशाक प्रसस्तै पाइन्छन् । यिनै पहिरन लगाएर कैद भएका तस्वीरले धेरैको मन खिच्छ । अझ अगाडिपछाडि र छेउमा आउने चियाबारी कन्यामको हरियाली दृष्यले तस्वीरमा अझ शोभा थप्छ । कन्याममा व्यावसायिकरुपमा नै जातीय पोशाक लगाएर फोटो खिचाउने व्यवसायी छन् ।

जातीय पोशाक र गरगहना हेरेर यहाँबाट ५० रुपैयाँ देखि २०० सम्म लिइने गरिन्छ । यहाँ दैनिक सयौँ पर्यटक आएर तस्वीर खिचाउने गर्दछन् । पर्यटकले आफैँ र आफ्नै क्यामेराले पनि फोटो खिच्न सक्छन् भने फोटो खिच्नकै लागि पनि व्यवस्था गरिएको छ । कन्याममा फोटो खिचे तत्कालै फोटो तयार गरेर दिने व्यवस्था छ । शुरु शुरुमा कमैमात्र जातीय पोशाक पाउने कन्याममा हाल २० वटाभन्दा बढी पसलमा जातीय पोशाक राखिएका छन् ।

पर्यटक बढी आउने समयमा एउटा पसलले दैनिक दुई हजार रुपैयादेखि १० हजारसम्म कमाउने एक महिला व्यवसायीले बताइन् । ‘कहिले कहिले त राम्रै आम्दानी हुन्छ, १०० जना आएर कपडा लगाए मात्र १० हजार आउँछ ।’ व्यापार बढाउन यसबारेमा प्रचारप्रसार र बजारीकरणको आवश्यकता रहेको उनको भनाइ छ । विभिन्न जातीय पोशाकको पसल राख्न रु दुई लाखदेखि तीन लाखसम्म लगानी हुने व्यवसायीको भनाइ छ ।

यहाँबाट विभिन्न प्रतियोगितामा नृत्य गर्नसमेत विद्यार्थीले पोशाक लैजाने गरेका छन् । कन्यामको चिया, थुम्काथुम्कामा मौलाएको गलैँचाजस्तो देखिने हरियाली दृष्य हेर्नकै लागि यहाँ धेरै पर्यटक आउने गरेका छन् । कन्यामबाट नजिकै पर्ने भारतको दार्जिलिङ, सिलिगुडीलगायतका स्थानमा भने निकै पहिलादेखि जातीय पहिरनमा तस्वीर खिच्ने र खिचाउने गरिन्थे । त्यसकै सिको नेपालमा पनि गर्न थालिएको बताइएको छ । पर्यटक तान्ने यो नौलो उपाय भएको पर्यटनविद्को भनाइ छ । धेरै पर्यटकले जातीय पोशाकमा फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने गर्दा कन्यामको विज्ञापन पनि भइरहेको छ ।

थुम्का थुम्कामा मौलाएको चिया बगानमा उभिएर सेल्फी खिच्ने सयौँ पर्यटक कन्याममा देख्न सकिन्छ । यिनै पर्यटकले सामाजिक सञ्जालमा राखेको तस्वीर हेरेर यहाँ देश विदेशबाट पनि पर्यटक भित्रिरहेका छन् । मौलिक पहिरन लगाएर फोटो खिच्नेको कन्याममा ओहिरो लाग्ने गरेको स्थानीयले बताएका छन् । परम्परागत पहिरन पर्यटकको रोजाइमा पर्न थालेपछि पर्यटकको संख्या पनि बढेको छ ।

कन्याममा घोडा चढेर घुम्न रुचाउने पर्यटकका लागि पनि घोडाको सुविधा उपलब्ध छ । जातीय पहिरन लगाई घोडामा चढेर फोटो खिचाउनेको सङ्ख्या प्रसस्त भेटिन्छ । प्रदेश नं १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको कन्याम पूर्वी नेपालको सुन्दरस्थलका रुपमा परिचित छ ।

Leave a Reply

Your email address will not be published.