भ्रमण वर्षको भव्यता

भ्रमण वर्षको भव्यता


विश्वमा धेरै त्यस्ता कम ठाउँ छन्, जहाँ हिउँदे बिहान धुम्म भए पनि दिउँसो पारिलो घाम लाग्छ । विश्वमा धेरै कम सहर छन्, जहाँको आकाशमा जुनतारा चम्किन्छन् । नेपाल त्यो ठाउँ हो, काठमाडौँ त्यस्तो सहर हो ।
नेपालीलाई अति सामान्य लाग्ने यी कुरा विदेशी पर्यटकका लागि वास्तवमै जीवनभरका लागि स्मरण रहने फरक अनुभव हुन्, हुनसक्छन् । नेपालमा मात्र विशेष रुपले गर्न सकिने त्यस्तै अनुभव पर्यटकलाई गराउने उद्देश्यसहित ‘लाइफटाइम एक्सपेरियन्स’को मूल अवधारणामा आजदेखि भ्रमण वर्ष २०२० को औपचारिक सुरुवात हुँदैछ । नेपालमा अधिक पर्यटक ल्याउने उद्देश्यसहित वर्षभर सञ्चालन गरिने अभियानको यो तेस्रो संस्करण हो । सन् १९९९ र २०११ पछि नेपालले तेस्रोपटक आफ्नो आतिथ्य संस्कारलाई थप भव्य रुपमा प्रस्तुत गर्दैछ ।
त्यसो त २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०१८ मै यस्तो तयारी गरिएको थियो । तयारीका लागि समय कम भएको निष्कर्षसहित दुई वर्षपछि यसलाई धकेलिएको हो । भूकम्पका कारण नेपालले व्यहोरेको विनाशको यथार्थभन्दा बढी नै गलत प्रचार विदेशमा हुनथालेपछि त्यसबारे स्पष्ट जानकारी दिने र नेपाल सुरक्षित गन्तव्य हो भन्ने स्थापित गराउन दुई वर्ष अगाडिको भ्रमण वर्षको उद्देश्य बढी केन्द्रित थियो । दुई वर्षपछि सन् २०२० लाई भ्रमण वर्ष मनाइरहँदा यसको उद्देश्य फराकिलो बनेको छ । विस्तारित त्यस्तो उद्देश्यले नेपाल भित्रिने पर्यटकलाई यहाँ अहिलेसम्म चर्चा नभएका पर्यटकीय गतिविधिको अनुभवसहित नयाँ गन्तव्यसम्म पुर्याउने विषय समेट्छ । अझ भनौं अबको दशकसम्मका लागि नेपालमा पर्यटक भित्र्याउने आधारसमेत यो भ्रमण वर्षले तयार गर्नेछ । त्यसैले पर्यटकका लागि नेपाल विशेष गन्तव्य बनाउने र बारम्बार आइरहने वातावरण बनाउन भ्रमण वर्षले पुलको काम गर्ने अपेक्षा छ ।

भव्य उद्घाटन
भ्रमण वर्षको औपचारिक उद्घाटनमा उपत्यका आसपासका १९ वटै नगरपालिका झाँकीसहित विशेष प्रस्तुति लिएर फरक फरक स्थानबाट उद्घाटनस्थल दशरथ रङ्गशाला प्रवेश गर्नेछन् । नेपालका पर्यटन व्यवसायीसहित हजारौँ सहभागी रहने उक्त कार्यक्रममा चीन र भारतसहित एक दर्जन देशका पर्यटनमन्त्रीको सहभागिता हुँदैछ । यसबाहेक दुई दर्जन देशका सरकारी प्रतिनिधिको उपस्थिति उद्घाटन कार्यक्रममा हुनेछ । हालैमात्र सागको भव्य उद्घाटन भएकोमा त्योभन्दा अझ भव्य भ्रमण वर्षको उद्घाटन बनाउने तयारी छ । तीन घन्टा सञ्चालन हुने उद्घाटन कार्यक्रमबाटै राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष सुरु भएको औपचारिक घोषणा गर्नुहुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सम्बोधनसहित प्रमुख राजनीतिक दलको प्रतिबद्धता पनि आउनेछ । उद्घाटन अवधिभर नेपालका लोकसंंस्कृति, सम्पदा र ऐतिहासिकता झल्काउने विभिन्न प्रस्तुति रहनेछन् ।

सातै प्रदेशमा विशेष
भ्रमण वर्षलाई यसपटक चर्चित तर सीमित पर्यटकीय गन्तव्यबाहेक अन्य गन्तव्यमा पनि आकर्षण बढाउने अवसर छ । पर्यटकीय गतिविधिमा विविधता ल्याउने त्यही उद्देश्यसहित हरेक प्रदेशमा विशेष कार्यक्रमको तयारी पनि राखिएको छ । काठमाडौँमा उद्घाटनकै दिन सातै प्रदेशमा यसको औपचारिक उद्घाटन कार्यक्रम राखिएको छ । त्यसबाहेक प्रदेशको विशेषताअनुसार पनि फरक फरक समयमा पर्यटकलाई नयाँ अनुभव गराउने कार्यक्रम राखिएको छ ।
सगरमाथासहितको प्रदेश एकमा पर्वतारोहणलाई केन्द्रमा राखेर ‘समिटर्स समिट’ आयोजना हुनेछ । पर्वतारोहणमा कहलिएका विश्वकै चर्चित व्यक्तिको उपस्थितिमा दिगो पर्वतारोहणको विषयमा त्यहाँ विशेष छलफल हुनेछ । पर्वतारोहीलाई सम्मानको कार्यक्रम पनि त्यही समिटमा हुनेछ । खासगरी हिमालहरुको स्वच्छताको लागि यो समिट प्रभावकारी हुने अपेक्षा राखिएको छ । प्रदेश दुईमा विवाहपञ्चमीको अवसरमा सातदिने कार्यक्रम आयोजना हुनेछ । जनकपुरको इँट्टा अयोध्यासम्म पद्र¥याउने, विश्व आर्चरी प्रतियोगिता आयोजना गर्ने कार्यक्रम यसमा राखिएको छ । प्रदेश तीनलाई भने शिवशक्ति सर्किटको रुपमा विकास गर्न सातदिने कार्यक्रमको आयोजना गरिएको छ । विश्वका चर्चित धार्मिक व्यक्तित्वको उपस्थिति यसमा हुनेछ । देवघाटमा भव्य महायज्ञ कार्यक्रम पनि यसबीचमै गरिनेछ । गण्डकी प्रदेशमा भने पहिलोपटक फरक काम हुने भएको छ । विश्वकै गहिरो गल्छीको रुपमा रहेको मार्फादेखि मुक्तिनाथसम्म माउन्टेनबाइक प्रतियोगिता हुनेछ । प्रदेश ५ मा बुद्धजयन्तीको अवसरमा सातदिने विशेष कार्यक्रम हुनेछ । शान्तिको प्रतीकका रुपमा लुम्बिनीलाई स्थापित गर्न बुद्धिस्ट मुलुकबाट भिक्षुहरु र सम्बन्धित देशका पर्यटनमन्त्रीलाई उक्त कार्यक्रममा सहभागी गराउने योजना छ । कर्णाली र सूदुर पश्चिम प्रदेशलाई जोडेर विश्वकै लामो ¥याफ्टिङ् कार्यक्रम आयोजना गरिने भएको छ । कर्णालीनदीमा आयोजना हुने उक्त ¥याफ्टिङ् यसअघि अमेजन नदीको १५८ किलोमिटरभन्दा लामो हुनेछ । यसलाई गिनिजबुकमा पनि समावेश गर्ने लक्ष्य राखिएको छ । यसबाहेक हरेक प्रदेशले आफ्नै किसिमबाट भ्रमण वर्ष प्रवद्र्धनको कार्यक्रम गर्ने तयारी गरिरहेका छन् ।

पर्यटकलाई विशेष छुट
भ्रमण वर्षको अवधिभर २० वटा फरक प्याकेज पर्यटकलाई प्रस्तुत गर्ने तयारी भ्रमण वर्ष सचिवालयको छ । यसबाहेक पर्यटकलाई प्रिभिलेज कार्ड उपलब्ध गराउने योजनामा पनि काम भइरहेको छ । उक्त कार्डको सदस्यता लिएपछि पर्यटकले डिपार्टमेन्ट स्टोर, एयरलाइन्स टिकट र होटलहरुमा निश्चितप्रतिशतसम्म छुट पाउनेछन् । यसबाहेक पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सङ्गठनात्मक रुपमै छुटको घोषणा गरेका छन् । होटल व्यवसायी, टे«किङ् व्यवसायी, होम स्टे सञ्चालक, पर्वतारोहण कम्पनीहरुले पनि आफ्नो सेवामा ३० प्रतिशसम्म छुट उपलब्ध गराउने भएका छन् ।

नजर बदल्ने अवसर
विदेशी पर्यटकमाझ नेपाल निकै सस्तो गन्तव्यका रुपमा स्थापित छ । पर्वतारोहण जस्तो साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकबाहेकका लागि नेपाल अझै प्राथमिकताको गन्तव्य होइन । एकातिर सस्तो गन्तव्यको असर अर्कोतिर स्थापित थोरै मात्र गन्तव्यका कारण नेपालप्रतिको आकर्षणमा नयाँपन थपिन सकेको छैन । तर नेपाल योभन्दा धेरै हो । काठमाडौँ, पोखरा, सौराहा, लुम्बिनी र सगरमाथाबाहेक पनि यहाँ उत्तिकै आकर्षक सयौँ गन्तव्य छन् । नेपाल पर्यटकका लागि सस्तो पक्कै छ तर ‘लक्जरी’ अनुभव गर्नेका लागि उत्तिकै खर्चिला अवसर पनि पर्याप्त छन् । लाखौं रकम खर्चेर मात्र प्रवेश पाइने ढोरपाटनको शिकार होस् अथवा हजारौँ खर्चेर सगरमाथाको काखमा एक घन्टामात्र गर्न पाइने ‘बे्रकफास्ट’, जो कोही पर्यटकले आँट गर्न सक्ने काम होइनन् यी । एक दिनका लागि एक हजारमै पाइने होटलदेखि दिनकै ५० हजारमा पनि नपाइने होटल यहीँ छन् ।
तर पर्यटकीय गतिविधि र खर्चका अनेक विकल्प हुँदाहुँदै पनि थोरै र सस्तो गन्तव्यको नजर फेर्न नेपालले सकेको छैन । प्रयत्न भएका छन्, पर्याप्त छैनन् । भ्रमण वर्ष वर्षौंदेखिको नेपालप्रतिको त्यही नजर बदल्ने सबैभन्दा उपयुक्त अवसर हो । भ्रमण वर्षका लागि तयार कतिपय नयाँ प्याकेजको प्रवद्र्धन स्थापित गराउन सके नेपालमा पर्यटकीय गतिविधिका विकल्प बढ्ने मात्र होइन, पर्यटकलाई आकर्षित गर्ने नयाँ माध्यम बन्न सक्छ । यसको प्रत्यक्ष प्रभाव समग्र नेपालप्रतिको विदेशी पर्यटकको दृष्टिकोणमा पर्छ । जसको लाभ दीर्घकालीन हुनेछ ।

अर्थतन्त्रलाई आड
सरकारले सन् २०२५ सम्म पर्यटन क्षेत्रको अर्थतन्त्रमा योगदान १० प्रतिशत पु¥याउने लक्ष्य राखेको छ । हाल तीन प्रतिशतमात्र यो क्षेत्रको योगदान रहेकोमा यसलाई बढाउने आधारको रुपमा भ्रमण वर्षलाई लिइएको छ । भ्रमण वर्षको २०२० लाई प्रस्थानबिन्दु मान्दै अबको दशक नै पर्यटन दशक बनाउने उद्देश्य सरकारको छ । त्यसैले पनि पर्यटन क्षेत्रको योगदान अर्थतन्त्रमा बढाउन भ्रमण वर्षमार्फत पर्यटकीय गतिविधि बढाउने र गन्तव्य विस्तार गर्ने किसिमका कार्यक्रम सार्वजनिक भएका छन् । पर्यटन पूर्वाधार विकास गरेर एक दशकमा अर्थतन्त्रमा योगदान बढाउँदै रोजगारी सिर्जनाको प्रमुख माध्यम यसैलाई बनाउने योजना भ्रमण वर्षको सुरुवातसँगै कार्यान्वयनमा आउनेछ ।
पूर्वाधारकै अड्को
भ्रमण वर्षको सफलताको सन्दर्भमा अहिले पनि उठिरहेको प्रश्न यसका लागि आवश्यक पूर्वाधारकै हो । नेपाल भित्रिने ९० प्रतिशत पर्यटक हवाईमार्ग हुँदै भित्रिन्छन् । यी सबै पर्यटक एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नेपाल प्रवेश गर्छन् । उक्त विमानस्थल अहिले आफ्नो करिब पूरा क्षमतामा सञ्चालनमा छ । पर्यटक विमानस्थल प्रवेश गर्नु अघिदेखि नै आकाशमै ‘होल्ड’ हुनुपर्ने बाध्यतादेखि पर्याप्त सडक पूर्वाधारको अभाव झेल्न बाध्य हुन्छन् । निर्माणाधीन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल भ्रमण वर्षको सुरुवातदेखि नै सञ्चालनमा ल्याउने लक्ष्य राखे पनि निर्माणमा भएको ढिलाइका कारण यसको सञ्चालन केही पर धकेलिएको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल भ्रमण वर्षको अवधिभर सञ्चालनमा आउनेछैन । यसबाहेक प्रमुख पर्यटकीय स्थलसम्म पुग्ने कतिपय सडकको अवस्था नाजुक छ । जसले गर्दा न लगानीकर्ता त्यहाँसम्म जान तयार छन् न त पर्यटक नै पुग्न सक्ने अवस्था छ । गोरखापत्र अनलाईनबाट साभार गरिएको ।