इलामको जोरकलशबाट भ्रमण बर्षको शुभारम्भ ,पर्यटन मैत्री बन्न आग्रह

इलामको जोरकलशबाट भ्रमण बर्षको शुभारम्भ  ,पर्यटन मैत्री बन्न आग्रह

प्रेम अधिकारी , फिक्कल :

ईश्वी सनको नयाँ बर्ष तथा नेपाल भ्रमण बर्ष २०२० को आज उद्घाटन गरिएको छ । इलाम , पाँचथर र ताप्लेजुङको प्रवेशद्धारको रुपमा रहेको जोरकलशमा भ्रमण बर्ष २०२० को उद्घाटन गरी हासपोखरी देखि सानो पाथीभरा सम्म पदयात्रा गरिएको हो ।
जिल्ला स्तरीय पर्यटन प्रवर्धन समिति, रोङ गाउँपालिका र मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन बिकास समिति इलामको संयुक्त आयोजनामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सांसद धिरेन्द्र शर्माले इलामको एक मात्र समृद्धिको आधार पर्यटन भएको बताउनु भयो । सांसद शर्माले समग्र इलाम जिल्लालाई पर्यटन मैत्री बनाएर अगाडी बढनका लागि सबै एकजुट बन्नु पर्ने बताउनु भयो । उहाले भन्नु भयो ‘ भ्रमण बर्षको शुरुवात सगै हामी सबै पर्यटन मैत्री बन्नु पर्छ, जसमा हाम्रो समृद्धि गासिएको छ ।’ सांसद शर्माले पर्यकका लागि आवश्यक पूर्वधार निर्माण गर्न तीनै तहका सरकारले पहल गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा अर्का प्रदेश सांसद काजीमान कागतेले स्थानीयको आर्थिक उर्पाजनको मुख्य स्रोत नै पर्यटक भएकाले सुगम ठाउँमा मात्र नभएर जिल्लाका दुर्गम क्षेत्रमा पनि पर्यटक लैजान वातावरण बनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले इलाम आउने पर्यटकको बसाई लम्ब्याउने गरिका योजना अघि सानु पर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति इलामकी उप प्रमुख चित्रकला बराईली , सूर्योदय नगरपालिकाकी उप प्रमुख दुर्गादेवी भट्टराई , रोङ गाउँपालिका अध्यक्ष शमसेर राई , सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय बहादुर राई , इलामका प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसकी बिष्णु दाहाल सुब्बा लगायतले शुभकामना दिदै तीनै तहका सरकारले समन्वय गरी भ्रमण बर्ष सफल पार्न लाग्नु पर्ने बताउनु भएको थियो । उद्घाटन कार्यक्रममा नेपाल भ्रमण बर्षको चिन्ह अंकित पर्यटन भ्रमण लोगो वितरण गरिएको थियो । कार्यक्रममा लोपउन्मुख लाप्चा सहित दर्जन बढी जातजातीको झाकी पदर्शन गरिएको थियो ।

हासपोखरी देखि पाथीभरामा पदयात्रा

भ्रमण वर्षको उद्घाटनको अवसरमा कुट्टीडाँडा देखि सानो पाथीभरा सम्म पदयात्रा गरिएको छ ।
पूर्वी पहाडी इलाम पाँचथर र ताप्लेजुङ्ग जिल्लाको प्रवेशद्धार रोङ गाउँपालिकाको हासपोखरीबाट धार्मिकस्थल सानो पाथीभरासम्म पदयात्रा गरिएको हो । पदयात्रामा प्रदेश सांसद धिरेन्द्र शर्मा , जिल्ला समन्वय समितिका प्रमुख गणेश बराल , स्थानीय सरकारका प्रमुख , कर्मचारी, संघ संस्थाका प्रतिनिधि , पर्यटक लगायतको सहभागीता रहेको थियो ।

इलामका दशै स्थानीय तहमा भ्रमण बर्षका कार्यक्रम

इलाम जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा बुधबार भ्रमण बर्ष उद्घाटनका कार्यक्रम गरिएको छ । इलाम नगरपालिका , सूर्योदयन गरपालिका , माई नगरपालिका , देउमाई नगरपालिकामा बिभिन्न कार्यक्रम आयोजना गरियो । यस्तै इलामको माईजोगमाई गाउँपालिका , सन्दकपुर गाउँपालिका , माङसेबुङ गाउँपालिका , चुलाचुली गाउँपालिका , रोङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा बिभिन्न ¥याली सहितका कार्यक्रम गरिएको छ । भ्रमण बर्षको अवसरमा इलाम नगरपालिकाको इलाम बजारमा प्रभातफेरी निकालीएको थियो । यस्तै नेपाल भारत सिमा क्षेत्र गुफापातालमा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । इलाममा भ्रमण बर्षमा पाँचलाख पर्यटक भित्रयाउने लक्ष्य राखीएको छ । इलामको कन्याम , अन्तु , सन्दकपुर लगायतका क्षेत्र भारतीय पर्यटकले भरीभराउ भएका छन ।