झापाको भद्रपुर–धुलावारी देखि इलामको इरौटार जोड्ने सडकको शिलान्यास

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश संस्करण


धुलावारी: गौरवको आयोजनाको रुपमा सूचीकृत झापाको भद्रपुरदेखि इलामको रोङ गाउँपालिका जोड्ने ३५ किलोमिटर सडकको पुनर्निर्माण सुरु भएको छ । यो सडकलाई प्रदेश सरकारले तीन मुख्य गौरवका सडक आयोजनामा राखेर बजेट बिनियोजन गरेको थियो । सडकको शनिवार प्रदेश सरकारका अर्थमन्त्री इन्द्र आङ्वोले शिलान्यास गरेका छन् । भद्रपुरबाट झापाको धुलावारी हुँदै शान्तिनगर भएर यो सडक इलामको रोङ गाउँपालिका जोडिन्छ ।

भद्रपुर–ज्यामिरगढी–धुलावारी–गोजावस्ती–मागुरमाडी–शान्तिनगर–इरौटार सडकको शिलान्यास गर्दै मन्त्री आङ्वोले यो वर्ष शिलान्यासको वर्ष भएको बताए । ‘अघिल्लो वर्ष कानुन निर्माणका काम भए, यो वर्ष शिलान्यासका काम अघि बढ्छन्’, उनले भने, ‘आगामी वर्ष उद्घाटनका काम हुन्छन् ।’ दुई लेनको सडक निर्माण गर्ने गरी २०७६ कात्तिक २० गते ठेक्का सम्झौता भएको थियो । २०७९ असार ३१ गते सडक निर्माण सम्पन्न गरिसक्ने म्याद तोकिएको छ ।

सडक शिलान्यासपछि बोल्दै आङ्वोले बजेटको ४७ प्रतिशतभन्दा बढी हिस्सा पूर्वाधार विकासले ओगटेको बताए । पूर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख राजेशप्रसाद घिमिरेका अनुसार यो सडकलाई दुई खण्डमा ठेक्का लगाइएको छ । मेचीनगर–१० स्थित धुलाबारीदेखि उत्तरको २६ किलोमिटर सडकको ठेक्का विर्तामोडको कनकाई झापाली जेभीले पाएको छ । ४६ करोड २३ लाख ८२ हजार ९८३ रुपैयाँ २५ पैसामा कनकाईले ठेक्का पाएको हो ।

धुलाबारी दक्षिणको नौ किलोमिटर सडकको ठेक्का अर्जुनधाराको हिम्डुङ एण्ड थोकर सरोज जेभीले पाएको छ । उसले २५ करोड ३२ लाख ८४ हजार ८२२ रुपैयाँ ४८ पैसामा ठेक्का हात पारेको हो । सडक निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने र भने बमोजिमको काम नभएको पाइए तत्काल कारवाही अघि बढाइने पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेशकुमार श्रेष्ठले बताए ।

भद्रपुरदेखि इरौंटारसम्मको ३४ किलोमिटर सडक आगामी अढाई बर्षमा कालोपत्रे सम्पन्ने हुने प्रदेश सरकारले जनाएको छ । दुवै खण्डका लागि हाल १० करोड रकम बिनियोजन भएको छ । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य रविन कोइरालाले यो सडक निर्माण भएपछि ताप्लेजुङ, पाँचथर र इलामका उत्पादन मेचीनगरमा ल्याउन सहज हुने विश्वास व्यक्त गरे । प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले यो सडक निर्माणले यस क्षेत्रका नागरिकको सदरमुकामसँगको पहँुचलाई सहज बनाएको बताए । प्रदेश सांसदहरु श्रीप्रसाद मैनाली र राधा थापाले यो सडक समयमा नै निर्माण सम्पन्न गर्न सहयोग गर्ने बताए ।बिवेचनाबाट

Leave a Reply

Your email address will not be published.