इलामको माईजोगमाई गाउँपालिकाको तुम्लिङमा पार्क निर्माणमा भारतीय अवरोध

Breaking News Hot News Mukya Samachar Special News Trending प्रदेश नं. १ प्रवास

इलाम : इलामको माईजोगमाई गाउँपालिका– २ स्थित पर्यटकियस्थल तुम्लिङमा शुरु गरेको पर्यटकीय पार्क निर्माणमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले अवरोध गरेको छ ।

सीमा पिल्ल्लर भन्दा तीन सय मिटर टाढा पार्क निर्माण शुरु भए पनि अनुमती नलिई काम थालेको भन्दै एसएसबीले अवरोध सृजना गरेको हो । प्रदेश सरकारको १० लाख रुपैया बजेटमा उपभोक्ता समिति मार्फत सन्दकपुर–मानेभञ्ज्याङ्ग पर्यटकीय क्षेत्रमा पर्ने तुम्लिङ्ग क्षेत्रमा पार्क निर्माणको काम बैशाख महिनाको पहिलो साताबाट शुरु भएको थियो ।

तर, एसएसबीले सीमा क्षेत्रमा काम गर्दा नेपाल सरकारबाट आफुलाई पहिलै जानकारी हुनुपर्ने बताउँदै अवरोध गरेको हो । भारतले भने सीमा क्षेत्रको दशगजा मिचेर सुरक्षा पोष्ट नै स्थापना गरेको छ ।
प्रदेश सरकारको शहरी तथा भवन डिभिजन कार्यालय मार्फत कार्यान्वयन हुने निर्माण शुरु भएको दुई दिनमै भारतीय सीमा सुरक्षा बल एसएसबीले दशगजा भन्दै मजदूरलाई काम गर्न अवरोध गरेको थियो । एसएसबीको अवरोध बारे जिल्लास्थित सुरक्षा निकायमा जानकारी गराएपनि समाधानका लागि पहल भएको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

दशगजा छोडेर सीमा क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाइने भएपनि सीमाबाट तीन सय मिटर छोडेर काम गर्दा पनि पार्क निर्माणमा भारतीय एसएसबीले अवरोध गरेको माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए ।

त्यसैगरी एसएसबीकै अवरोधले माईजोगमाई गाउँपालिकाको फाटकमा निर्माण गर्ने भनिएको पर्यटन पार्क समेत अलपत्र परेको छ । फाटकमा निर्माण हुने पर्यटन पार्कका लागि प्रदेश सरकारको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयबाट १५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।
‘टङ्लु पार्क निर्माण शुरु भएपछि भारतीय अवरोध आएको छ ।’ प्रदेश सासंद खिनु लङ्वा लिम्बुले भनिन् –‘फाटकमा बनाइने भनेको पार्क शुरु नै भएको छैन ।’ नेपाली भुमिमा काम गर्दा पनि भारतीय अवरोध भइरहदा प्रदेश सरकारबाट आएको बजेट खर्च नभई फर्कने समस्या रहेको सांसद लिम्बुले बताइन् ।

पर्यटन पूर्वाधार निर्माणको अवरोध बारे जौबारीमा खटिएको शसस्त्र प्रहरीको र नेपाल प्रहरीको टोलीले निरक्षण गरि समस्याका जिल्लाका तालुकदार अड्डालाई जानकारी दिएका थिए । त्यसपछि कुनै पहल नभएको स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । पर्यटन पार्क निर्माणमा अवरोध बारे मौखिक जानकारी आएको सिमा प्रशासन कार्यालय पशुपतिनगर इलामका प्रमुख दयाकृष्ण ढकालले बताए ।
‘एसएसबीको अवरोधबारे लिखित रुपमा जानकारी आएको छैन् ।’ ढकालले भने–‘हामी सीमा सुरक्षा हेर्ने शसस्त्र प्रहरीको पशुपतिनगरको टोलीबाट चाँडै स्थलगत निरिक्षण गर्ने योजनामा छौ ।’ विकास निर्माणको योजना बारे पहिलै जानकारी भएको भए हामी पनि तयारी गथ्यौँ ।ढिलै भएपनि जानकारी आएको छ, स्थलगत निरिक्षण पछि मात्रै यकिन विवरण आउनेछ ।’ पर्यटन पार्क निर्माणको अवरोध बारे स्थानीय जनप्रनिधिहरुले शसस्त्र प्रहरी बल गण हेडक्वाटर इलाममा जानकारी गराएका छन् ।

गणका प्रमुख एसपी रोशन श्रेष्ठका अनुसार पार्क निर्माणको अवरोधबारे जानकारी भएपनि लकडाउनले गर्दा भारतपट्टि समन्वयमा समस्या भएको छ । उनले भने – ‘भारतपट्टि रहेको सीमा सुरक्षा बलको टोलीसँग कुराकानी भइरहेकाले चाँडै समाधान हुनेछ ।’
यता माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादूर राईले रोकिएको काम पुनः सुचारु बारे पहल भइरहेको बताए । सीमा पिल्लरले प्रष्टसँग नेपाल भारत सीमा छुट्टयाएकाले हामी बजेट फ्रिज हुने नदिन स्थानीय प्रशासनलाई जानकारी दिएर काम गर्ने योजनामा रहेको अध्यक्ष राईले बताए ।

Leave a Reply

Your email address will not be published.