जडीबुटीको जड

Breaking News Hot News Mukya Samachar Special News Trending घुमफीर जीवन शैली प्रदेश नं. १ प्रमोसन स्वास्थ्य/शिक्षा

पुष्पराज भट्टराई:

हाम्रा पुर्खाले अनिकालमा होस् या महामारीमा, बाँदरले चिथोर्दा या सर्पले डस्दा, बाघले झम्टिँदा होस् या भीरबाट लडेर चोट लाग्दा होस्, शरीरभरि आएका घाउखटिरा हुन् या दीर्घरोग नै किन नहुन्– सबै समस्याबाट छुटकारा पाउन जडीबुटीको प्रयोग गरेका थिए ।
जन्डिस ठीक पार्ने आकाशेबेली, चिसोबाट जोगाउने र अरूचि हटाउने अलैँची, भिटामिन सी को सर्वोत्तम प्राकृतिक स्रोत अमला, रक्तशुद्धिका लागि अशोक, अनिद्रा कम गर्ने अश्वगन्धा, ज्वरो, खोकी र दम ठीक पार्ने असुरो, आउँ, हैजा र वायुगोला ठीक पार्ने ऐँसेलुजस्ता हजारौँ जडीबुटी हाम्रै पाखापखेरामा भेटिन्छन् । जसलाई जाँतोमा पिसेर, हाँडीमा उसिनेर, अगेनुमा पोलेर, चनौटोमा घोटेर, हत्केलामा माडेर, ढिकीमा कुटेर खान ख्वाउन सकिन्छ । कति सरल छ उपचार पद्धति पनि ।
कोभिड–१९ जस्तो महामारी पैmलिएका बेला प्रतिरोधात्मक क्षमता बढाउने जेठीमधु, सितोपलाती, भुइँअमला र गुर्जोजस्ता जडीबुटी हाम्रै खेतखोल्सामा भेटिन्छन् । हाम्रै भान्सामा पकाइने, पड्काइने, पिसिने, उसिनिने, भुटिने मसलाजन्य मेथी, बेसार, मरिच, धनियाँ आदि मिलाएर खाने हो भने पनि हामीमा रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ । त्यति मात्रै होइन, हाम्रा पूवर्जले खाद्यबालीमा लागेका कीरा मार्न टिम्मुर, नीम, बोझो, तीतेपातीजस्ता जडीबुटी प्रयोग गर्ने गरेका थिए ।
जडीबुटीको उपयोगिता अनेकौँ छन् । प्रयोगका विधि विविध छन् तर दुर्भाग्य, यस्ता हजारौँ अमूल्य जडीबुटी अझै पनि वनपाखामा अपरिचित बनेर त्यसै खेर गइरहेका छन् । थाहा नपाउँदा कतिपय यी दुर्लभ जडीबुटीको विनाश भइरहेको छ । सबैले मनन गर्नुपर्ने कुरो त के छ भने लाखौँ जनता यही वनपाखाका जडीबुटी खाएर उपचार गरिरहेका छन् तर यिनै जनताका नेता तथा ठूलाठालु भने सामान्य रुघाखोकी लाग्दा पनि विदेश पुगेर उपचार गराउँछन् । आफ्नै देशको प्रविधि र प्राविधिकलाई विश्वास गर्दैनन् ।
यसरी अर्काको प्रविधिमा आँखा चिम्लेर पछि लाग्ने हो भने हाम्रा प्राकृतिक जडीबुटीमा गौरव गर्न र बाँच्न कहिल्यै सकिँदैन । हाम्रा स्रोतको परिचालन कहिले हुने ? हाम्रा जडीबुटीले कहिले विश्वबजार पाउने ? त्यसैले डलरका हरिया गड्डी आउने भए मात्र जडीबुटीको लामो सूची बनाउन तम्सिने नत्र चुप लागेर बस्ने कतिपय एनजीओ, आईएनजीओ तथा भावनात्मक कुरा मात्रै गरेर बस्ने नियामक निकायले अब आफ्नो बानी सुधार्नुपर्छ ।
आज हामी बज्रदन्तीलाई कुल्चेर कोलगेटले दाँत मोलिरहेका छौँ । ज्यानको बाजी लगाएर टिपिएको बहुमूल्य यार्सा कौडीको भाउमा बेचिरहेका छौँ । पारिला पाखाभरि करोडौँका जडीबुटी सुकाएर लाखौँ मूल्यमा रोग खरिद गर्दैछौँ । अर्कोतिर जडीबुटीका जानकार पुस्ता हराउँदै जाँदा यिनको महत्व घट्दै गएको छ । आजका पुस्ताले भोलिका सन्ततिलाई यी जडीबुटीको ज्ञान छोडेर नगए पछुताउनु सिवाय केही बाँकी रहँदैन । नेपाली भूमिमा हुर्केर यहाँकै ओखर, काफल, अमला, ऐंसेलु, बयर, मुला, गहतको झोल खाई हुर्केका हामीले पनि यिनको संरक्षण र सदुपयोग नगर्ने हो भने हाम्रा सन्ततिले यसको महत्व बुझ्ने प्रश्नै उठ्दैन ।
प्रकृतिको आफ्नै पारिस्थितिक प्राणाली हुन्छ । कहिले प्रकृतिले सिर्जना गरेका हरेक वस्तुले प्रकृतिको दोहन गर्छ त कहिले प्रकृतिले आफ्ना सिर्जनाको दोहन गर्छ । आज विश्व डेंगु, एड्स, कोभिड–१९ जस्ता महामारीसँग लडिरहेको छ । यसको समाधान पनि जडीबुटीमा छ । वनस्पतिले निको नपार्ने कुनै रोग उत्पन्न हुँदैन । हाम्रा गाउँबस्तीमा जुन रोग देखिन्छ, त्यसको उपचार त्यही ठाउँमा उम्रिएका जराबुटामा हुन्छ भन्ने लोक मान्यता छ ।
जडीबुटी पूर्णरूपमा वानस्पतिक सङ्ग्रह हो । उम्रिएपछि एकवर्षे, दुईवर्षे वा बहुवर्षीय जीवनचक्र पूरा गरेका वनस्पतिको एकल वा मिश्रित रूपमा प्रयोग गरेर जडीबुटी तयार पारिन्छ । जमिनमुनिको जरादेखि जमिनमाथिको बोक्रा पातसम्म औषधिका लागि प्रयोगमा ल्याई स्वास्थ्यलाभ गरिन्छ । नेपालमा पाइने वनस्पतिमध्ये झण्डै एक हजार पाँच सयमा औषधीय गुण पाइन्छ । प्राणीको जीवनमा कुनै स्वास्थ्य समस्या परेमा उपचार गर्न वनस्पतिकै फूल, फल, रस, जरा, बोक्रा, गानो आदिको प्रयोग हुँदै आएको छ । वनस्पतिको यिनै अङ्गप्रत्यङ्गलाई जडीबुटी, जराबुटा, ओखतिमुलो, औषधि, दबाइमुलो आदि भन्ने गरिएको छ । निरोगिताका लागि यी जडीबुटीको प्रयोग प्राचीनकालदेखि नै भएको पाइन्छ ।
जडीबुटीको विधिसम्मत प्रयोग भारतीय उपमहाद्वीपबाट भएको हो । यसको वैज्ञानिक प्रयोगको परम्परा बसाल्ने काम ऋषिमुनिहरूले गरे । सबैभन्दा पुरानोे ग्रन्थ वेदमा जडीबुटीको प्रयोगसम्बन्धी विधि उल्लेख भएको पाइन्छ । झण्डै पाँच हजार वर्षअघिदेखि जडीबुटीको प्रतिपादन भइसकेको प्रमाण वेदले नै दिएको छ । त्यसैबेला के खान हुन्छ, के हुँदैन ? के लगाउन हुन्छ, के हुँदैन ? कुन वनस्पतिको प्रयोग कसरी, किन, कहिले र कसले गर्ने भन्ने विधिविधान आयुर्वेद अन्तर्गत बनाइयो । त्यसैले आयुर्वेदिक शिक्षा आज पनि मानव कल्याणका लागि वरदान सावित भएको छ । आयुर्वेदिक उपचारविधि सस्तो र सजिलो त छँदैछ । नकारात्मक असर नगर्ने, सर्वहितकारी र सर्वसुलभ पनि छ । जन्मैदेखि छोएका, सुँगेका र विभिन्न संस्कारमा प्रयोग पनि हुँदै आएका छन् ।
हिमाली राज्य नेपालमा पनि यस विद्याको विकास अधिक मात्रामा भएको छ । जडीबुटी हाम्रो ठूलो सम्पत्ति हो । यसको उपयोगिता, पहिचान र प्रयोग पुख्र्यौली पद्धतिमै गरिरहेका छाँै । यस विद्याको प्रसारण मुख्य गरी बाउबाजेबाट छोरानातिमा हस्तान्तरण हँुदै आएको छ । गाउँघरमा अझै पनि वैद्य, लामा, धामीझाँक्री र झारफुक गर्नेहरूले स्थानीय वनजङ्गल, पाखा, पखेराबाट जडीबुटी खोजी गरी थिचेर, पिसेर, पकाएर, घोटेर रोगको उपचार गर्ने परम्परा अझै छ ।
नेपालमा जनबोलीमा मात्रै सीमित जडीबुटी ज्ञानको पहिलो हातेपुस्तक ‘सुश्रुतसंहिता तारा’ काठमाडौँका एक वैद्यले सन् १८७९ मा तयार पारेका थिए । यो नै जडीबुटीसम्बन्धी पहिलो पुस्तक हो । लामो समयदेखि बेवारिसे अवस्थामा रहेको यस पुस्तकलाई पछिल्लो समयमा चन्द्र शमशेरले
‘चन्द्रनिघण्टु’ नाम राखी प्रकाशित गरे । यसै पुस्तकका आधारमा सिंहदरबार वैद्यखानाले औषधि उत्पादन गर्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मातहत यस वैद्यखानाले देशभरिका जडीबुटी सङ्कलन गरी केही मात्रामा औषधि उत्पादन गरिरहेको छ ।
नेपाली माटोमा उम्रिने जडीबुटी प्रयोग गरेर भारतीय आयुर्वेदिक औषधि कम्पनीहरूले औषधि उत्पादन गरी धमाधम नेपालमै बेच्न थालेपछि बल्ल नेपालका तत्कालीन शासकहरूको आँखा खुल्यो । अनि मात्र सन् १९३७ मा जडीबुटीजन्य वनस्पतिको खेती गर्ने र तिनका बारेमा अध्ययन अनुसन्धान गर्ने नीति बन्यो । अहिले नेपालमा ४२ वटा उद्योगबाट जडीबुटीजन्य आयुर्वेदिक औषधि उत्पादन हुन्छन् । वार्षिक दुई अर्ब रुपियाँ बराबरको औषधि नेपालमा उत्पादन हुन्छ भने तीन अर्ब रुपियाँ बराबरको अभैm पनि भारतबाट आयात गरिन्छ । जडीबुटी खेती गर्ने, सङ्कलन गर्ने, प्रशोधन गर्ने र औषधि उत्पादन गरी बेचबिखन गर्ने सन्तुलित र समानुपातिक नीति बन्न नसक्दा जडीबुटीजन्य औषधि उत्पादनमा अभैm भारतमाथि निर्भर हुनुपरेको छ ।
जडीबुटीसम्बन्धी सोधखोज र अनुसन्धान गर्ने काम भने नेपालमा सन् १८०२ बाट सुरु भयो । यो बेला बेलायतस्थित ब्रिटिस म्युजियमसँग आबद्ध वनस्पतिविज्ञहरू अनुसन्धानमा सहभागी थिए । यो अनुसन्धानले नेपालमा पाँच हजार ६७ किसिमका मौसमी जडीबुटीलाई सूचीकृत ग¥यो भने नेपाली जडीबुटीबारे विदेशमा पनि चर्चा गर्न लायक बनायो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको एक प्रतिवेदनअनुसार नेपालमा ११८ प्रकारका पारिस्थितिकीय प्रणालीभित्र ३५ थरीका वन छन् । करिब १० हजार प्रजातिका वनस्पतिको साझा घर रहेको अनुमान पनि गरिएको छ । तीमध्ये पाँच हजार आठ सय प्रजातिको पहिचान भइसकेको छ । त्यसमा पनि सात सय थरीका जडीबुटी औषधिजन्य रूपमा प्रयोगमा आएका छन् । यी जडीबुटी नेपालका पाँचवटै जलवायु क्षेत्रमा पाइन्छन् । खासगरी संरक्षित क्षेत्र, सिमसार क्षेत्र, निकुञ्ज क्षेत्र, सामुदायिक वन क्षेत्रमा जडीबुटी र वनस्पतिका प्रजातिको सङ्ख्या अधिक पाइन्छ । वन सर्वेक्षणको तथ्याङ्कअनुसार नेपालमा वनक्षेत्र ४४ दशमलव ७४ प्रतिशत पुगेको छ । जुन पर्यावरणीय हिसाब, जैविक विविधता र जडीबुटीका लागि सन्तुलित मानिन्छ ।
बहुमुल्य जडीबुटीको उपयोग गर्न अब ढिलो भइसक्यो । हामीसँग भएका थोरै मात्र जडीबुटीको संरक्षण गरी त्यसमा व्यावसायिकता प्रदान गर्नसके यसले देशको अर्थतन्त्रलाई नै टेवा दिनेमा कुनै शङ््का छैन । वनपाखाभरि हिमाली जडीबुटीको सौन्दर्य छरिएको छ । पौरख गरी जडीबुटीको सुगन्ध खोजौँ । जुन हजारौँ वर्ष पहिलेदेखि हाम्रा विवेकवान् पुर्खाले खोज्दै आएका थिए ।

गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published.