इलाममा रोपाइँको रौनक देखिएन

इलाममा रोपाइँको रौनक देखिएन


हाल सम्म १५ प्रतिशत मात्र रोपाइँ

प्रेम अधिकारी,इलाम:

इलामका अधिकांश खेत बारीमा अहिले किसानको चटारो छ । किसान कोरोनाको डरत्रासकै बिचमा पनि खेतबारीमा रजीरहेका छन् । मानो छरेर मुरी उब्जाउने मुरी उब्जाउने किसान यतिबेला खेतबारीमा मेहनत गरीरहेका छन् । तर, बिगतका बर्ष जस्तो रोपाइँको रौनक इलाममा देखिएन । कोरोनाको डरत्रासका बिच सामाजिक दुरी कायम गरी किसान खेतबारीमा छन् । बिगतका बर्षहरुमा किसानले असार १५ लाई एउटा छुट्टै पर्वका रुपमा मनाउनथे । इलामको खार्क, गोदक माईबेसी, नामसालिङ, दानाबारी लगायतका स्थानमा किसानले बेठी लगाएर सामुही रुपमा धान खेती गर्थे । तर, यस पटक बेठीको रौनक कतै पनि देखिएन । कोरोना कहर पछिको लकडाउनका कारण डरत्रासका बिच किसान खेतबारी पसेका हुँन । कोरोना संगै सलहको त्रासमा किसान मनभरी चिन्ता लिएर रोपाइँ गरीरहेका छन ।

हाल सम्म १५ प्रतिशत मात्र रोपाइँ

समयमै मनग्ये बर्षा भए पनि इलाममा हाल सम्म १५ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लाको तल्लो क्षेत्रमा रोपाइँ भए पनि माथिल्लो क्षेत्रमा ढिलो गरी धान रोप्ने गरीएका कारण रोपाइँ गर्न ढिला भएको हो ।
इलामको बढी धान उत्पादन हुँने माई नगरपालिका र चुलाचुली गाउँपालिकामा रोपाइँ शुरु गरिएको छ । जिल्लाको देउमाई नगरपालिका , इलाम नगरपालिका , सूर्योदय नगरपालिका , रोङ गाउँपालिका र, माईजोगमाई गाउँपालिका , माङसेबुङ गाउँपालिका , फाकफोकथुम गाउँपालिका र सन्दकपुर गाउँपालिकाका धान उत्पादन हुँने क्षेत्रमा भर्खर रोपाइँको शुरसार गरिदै छ । समयमै पर्याप्त बर्षा भए पनि जिल्लमा ढिला गरी धान रोप्ने गरिएकाले रोपाइँ १५ प्रतिशत मात्र सम्पन्न भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख शालीकराम भट्टराईले जानकारी दिनु भयो । गत सालको तुलनामा तीन प्रतिशतले बढी रोपाइँ भएको छ । गत साल असार १५ सम्ममा १२ प्रतिशत मात्र रोपाइँ भएको थियो ।
इलाममा चैते र बर्खे गरी दुई समय धान रोपीने गरिएको छ । जिल्लामा हर्बीनास, राधाकृष्ण, अन्नपूर्ण जातका धान रोपीदै आएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिनु भयो । जिल्लामा चैते र बर्षे गरी १४ हजार सात सय ६३ हेक्टर क्षेत्रफल जमिनमा धान रोपीने गरिएको छ । जस मध्ये १३ हजार ६ सय ९ हेक्टरमा बर्खे र ११ सय ५४ हेक्टरमा चैते धान रोप्ने गरिएको कार्यालयले जनाएको छ । कृषि ज्ञानकेन्द्रको तंत्थ्याङ्क अनुसार जिल्लामा ४१ हजार १ सय ६२ मेट्रीकटन बर्खे र पाँच हजार तीन सय ६६ मेट्रीकटन चैते धान उत्पान हुँदै आएको छ ।
कार्यालय प्रमुख भट्टराईले इलामा जिल्ला खाद्यान्न उत्पादनको हिसावले आफुमा आत्मनिर्भर रहेको जानकारी दिनु भयो । कार्यालय प्रमुख भट्टराईले भन्नु भयो ‘ इलाममा धान मात्र नभए आलु , मकै गहुँ कोदो जस्ता खाद्यबाली प्रसस्त उत्पादन हुँने भएकाले यहिका बालीले खाद्यान्न धान्ने गरेको छ ।’ जिल्लाका किसानले उत्पादन गरेका खाद्यबस्तु एक अर्कामा किनबेच र साटासाट गरी खाने गरेका छन ।