इलाममा संचालनमा आएको एपोलो हस्पिटलको सेवाले जिल्लाबासीलाई सहजता

Breaking News Hot News Mukya Samachar Special News Trending जीवन शैली प्रदेश नं. १ प्रमोसन स्वास्थ्य/शिक्षा


छ महिना भित्रमा आइसियु र एनआइसियु सेवा सञ्चालन गर्ने लक्ष्य

इलाम: जिल्लामा सुविधा सम्पन्न अस्पताल इलाम एपोलो एण्ड ट्रमा सेन्टरको शुभारम्भ गरिएको छ । मंगलबार एक कार्यक्रमबिच अस्पतालका सञ्चालक तथा डाक्टर सञ्जय शाहले बिरामीको उपचार गर्दै अस्पतालको शुभारम्भ गर्नु भएको हो ।

हाल अस्पतालमा हार्डजोनी, स्त्री तथा प्रसुती, रेडियोलोजी एवम् जेनेरल फिजिसियनको सेवा सुरु भएको छ । निजी क्षेत्रबाट सुरु भएको अस्पतालमा अब आइसियु सहितको सेवा सञ्चालन गरिने बताइएको छ । डाक्टर सञ्जय शाह, डाक्टर बिबेक अधिकारी र युवा ब्यवसायी प्रकाश चापाईले सम्युक्त रुपमा अस्पताल सञ्चालन सुरु गर्नु भएको हो ।
एक मात्र सरकारी अस्पताल भएको इलाममा निजि क्षेत्रबाट सुविधासम्पन्न अस्पताल सञ्चालन भएपछि स्थानिय हर्षित भएका छन् । स्थानिय कमल लिंदेनले तराईका जिल्लामा उपचारमा जानु पर्ने भाडासम्म बचत भए पनि धेरै सहज हुने बताउनुभयो । इलाम नगरपालिका छ स्थित पुराना मेघबहादुर सामुदायिक अस्पताल भएको स्थानमा एपोलो अस्पताल सञ्चालन भएको छ ।


इलाम सदरमुकाममा सञ्चालित एक मात्र सामाुदायिक अस्पताल केहि वर्ष अगाडी बन्द भएपछि जिल्लावासीले उपचारका लागि तराईका जिल्लामा जानु पर्ने समस्या रहँदै आएको छ । सामान्य ज्वरो आउँदा समेत जिल्लाबासीले थप उपचार गर्न झापा, मोरंग, सुनसरी लगायतका जिल्लामा जानु पर्ने समस्याको अन्त्य गर्न हस्पिटल सञ्चालन गरिएको सञ्चालक प्रकाश चापागाइँले बताउनुभयो ।
पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर ताप्लेजुंग र तेह्थुमबासीलाई लक्षित गरेर अस्पताल सञ्चालनको तयारी गरिएको सञ्चालक चापागाइँले बताउनुभयो । करिब चार करोडको लगानीमा सञ्चालन भएको अस्पतालमा ४ जना बिशेषज्ञ सहित ३३ जना चिकिस्क र कर्मचारी राखिएको छ ।

छ महिना भित्रमा आइसियु र एनआइसियु सहितको सेवा सञ्चालन गर्ने डाक्टर तथा सञ्चालक बिबेक अधिकारीले बताउनुभयो ।सोहि भवनमा डा. मेघबहादुर सामुदायिक अस्पताल सञ्चालन भएपनि बिचमा बन्द भएको हो । हिमालय हेल्थ केयरले मेघ बहादुर सामुदायिक अस्पताल सञ्चालन गरेको थियो । हाल हेल्थ केयरले इलाम एपोलो एण्ड ट्रमा सेन्टरलाई सो भवन भाडामा दिएको हो ।

नागरिक अगुवा एवम् बरिष्ठ पत्रकार धर्म गौतमले हिमालय हेल्थ केयरको प्रतिनिधिको रुपमा भवन भाडामा दिएको बताउनुभयो । उहाँले मासिक एक लाख भाडा तिर्ने शर्तमा एपोलोलाई भवन दिएको बताउनुभयो । उहाँका अनुसार मासिक एक लाख रकमबाट इलाम नगरपालिकालाई १० प्रतिशत र बाँकी रहेको ९० प्रतिशतबाट ५० प्रतिशत हिमालय हेल्थ केयरले लिने सम्झौता रहेको बताउनुभयो । साथै ५० प्रतिशत जिल्लामा नै सशाहाय र गरिवहरुका लागि उपचारमा खर्च गर्ने गरि कोर्ष निर्माण गरेर जम्मा गर्ने सम्झौता भएको बताउनुभयो ।


अस्पताल सञ्चालन भएपछि इलामबाट एम्बुलेन्स खर्च र समयको बचत भए मात्र पनि धेरै ठुलो राहत मिल्ने इलाम नगरपालिकाका बालकुमार पोख्रेलले बताउनुभयो । उहाँले ठुलो र गम्भिर रोग लाग्दा पनि कति मान्छेको तराईका जिल्लामा बस्नु पर्दा समस्या हुने गरेको बताउनुभयो । कहिलेकाहिँ त अस्पताल पुयाउन नपाइ बाटोमा नै ज्यान समेत जाने गरेको छ । सामान्य सल्यक्रिया बाहेक इलाममा हालसम्म आइसियु, एनआइसियु सहितका सेवा नहुँदा समस्या भइरहेको छ । इलामबाट तराईका जिल्लामा जान एम्बुलेन्समा अढाइ देखी तीन घण्टासम्म लाग्ने गरेको छ । पहाडको साँगुरो र घुमाउरो सडक भएका कारण पनि कहिलकाहिँ वढि समय लाग्ने गरेको छ ।
सुविधा सम्पन्न अस्पताल निर्माण भए जिल्लामा बाहिरबाट समेत आउने भएकाले जिल्लाको ब्यापार ब्यवसाय समेत बृद्धि हुने स्थानियको भनाई छ ।अस्पताल उद्घाटन कार्यक्रममा बोल्नुहुँदै इलाम नगरपालिका ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नम्वर चारका अध्यक्ष नुतनदेव दुलाल, नेपाल रेडक्रस सोसाइटी इलामका अध्यक्ष शिव गौतम, समाजसेवी धर्म गौतम, इलाम उद्योग वाणिज्य संघका उपाध्यक्ष मदन श्रेष्ठ (दुर्गा)ले अस्पतालको निरन्तरताको शुभकामना दिनु भएको थियो ।

उहाँहरुले सुरुमा अस्पताल सञ्चालन गर्न केही चुनौतीहरु आए पनि चुनौतीलाई अवसरका रुपमा लिएर जिल्लावासीको सेवामा लाग्न आग्रह गर्नुभयो । साथै अस्पताललाई ब्यापारका रुपमा भन्दा पनि सेवाका रुपमा अगाडी बढाउन उपस्थितहरुले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published.