विराटनगरको कोसी अस्पतालले भर्ना लिन नमान्दा गर्भवतीको ज्यान गयो

विराटनगरको कोसी अस्पतालले भर्ना लिन नमान्दा गर्भवतीको ज्यान गयो

विराटनगरको कोसी अस्पतालले भर्ना लिन नमान्दा गर्भवतीको ज्यान गयो
विराटनगर स् विराटनगरका अस्पतालले लिन नमान्दा बिरामीको ज्यान भएको घटना पटक पटक दोहरिन थालेको छ। बिहीबार पनि सरकारी अस्पताल कोसीले एक प्रसूति गराउनुपर्ने एक गर्भवतीलाई भर्ना लिन नमान्दा उनको घरमा नै ज्यान गएको छ। विराटनगर महानगरपालिका–६ सुकुमबासी टोलकी ३० वर्षीया विमला ऋषिदेवको बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको हो। प्रसूति व्यथाले च्यापेपछि उनलाई बिहान १ बजेतिर श्रीमान शिवुले कोसी अस्पताल पुर्‍याएका थिए। तर कोसीले बेड खाली नभएको भन्दै भर्ना नलिएपछि उनलाई घर फर्काइएको थियो। अस्पतालबाट फर्काएर घरमा लगिएकी महिलाले बच्चा जन्माउन नपाउँदै ज्यान गुमाएकी स्थानीय विकेश मुखियाले बताए। आर्थिक अवस्था निकै कमजोर भएकाले अन्यत्र अस्पतालमा लैजान नसक्दा श्रीमान शिवुले उनलाई घर फर्काएका थिए। उनीहरुका दुई सन्तान छन्। ऋषिदेवको परिवार ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएको छ। सुनसरीको दुहवी घर भए पनि कामको सिलसिलामा शिवु केही समयदेखि विराटनगरमा परिवारसहित बस्दै आएका थिए। तर कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले प्रसूतिका लागि ल्याइएका गर्भवती महिलालाई अस्पतालले फिर्ता नपठाउने गरेको दाबी गरेका छन्। यदि फिर्ता पठाइएर गम्भीर लापरबाही भएको भए आवश्यक छानबिन गरेर कारबाही गर्ने दासले बताए। यसअघि विराटनगरको विभिन्न ६ वटा अस्पतालले उपचार गर्न नसक्ने जनाएपछि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ८१ वर्षीय डिगबहादुर राईलाई पनि विराटनगरबाट बुधबार हेलिकोप्टर चार्टर गरेर घर फर्काइएको थियो। त्यसै गरी यसअघि मोरङको कानेपोखरी गाँउपालिकाकी सात महिनाकी गर्भवती २३ वर्षीया सविना थापा दर्जी, पथरीशनिश्चरेकी ६२ वर्षीया सानकुमारी राई, उदयपुर चौदण्डीगढी नगरपालिकाकी ६५ वर्षीया डम्बरकुमारी बस्नेत, उदयपुरकै २३ वर्षीय पदम राई, लगायतको मृत्यु विराटनगरका अस्पतालहरुले उपचार गर्न नमान्दा भइसकेको छ।थाहा खबर बाट